काठमाडौं। गर्मीका कपडाको मूल्य व्यापारीहरुले डलरको भाउ बढेको कारण देखाएर बढाएका छन्। डलरको भाउ वृद्धिले लागत धेरै परेको भन्दै व्यापारीहरुले कपडाको भाउ बढाएका हुन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले विदेशबाट आयात गरिएका सबैजसो कडाको भाउ पोहोरको तुलनामा बढेको बताए।
‘नेपालमा खपत हुने अधिकांश कपडा चीनबाट आयात हुन्छ। आयात गर्ने डलरमा हो। डलरको भाउ बढेका कारण अहिले हाम्रो लागत नै धेरै परेकाले मूल्य १५ प्रतिशतसम्म बढेको छ,’ उनले भने, ‘चीनमा कालीगढमा हुने खर्च महँगिएका कारण पनि लागत बढेको हो।’
कपडाको मूल्य गुणस्तर र पसल अनुसार फरक फरक छ। व्यापारीहरुका अनुसार बजारमा सस्ता कपडाको माग धेरै छ। व्यापारी कुमार कार्की महँगाभन्दा फरक फरक डिजाइनका सस्ता कपडाको माग धेरै रहेको बताउँछन्।
‘हामीले ग्राहकको माग अनुसारकै कपडा ल्याइरहेका छौं। धेरै सस्तो खोज्नेलाई स्वदेशी उत्पादन दिने गरेका छौं,’ उनले भने। व्यापारीहरुले पछिल्लो समय बजारमा सस्ता कपडाको माग बढ्नुलाई ग्राहकको क्रय शक्ति घटेको रुपमा बुझेका छन्।
ग्राहकले खोजे जस्तो सस्तो मूल्यमा पाइने कपडा करिब ४० प्रतिशत स्वदेशी गार्मेन्टले उत्पादन गर्ने गरेका छन्।
गार्मेन्ट संघका अध्यक्ष किशोर नेपालले गर्मीका कपडाको मूल्य धेरै मूल्य नबढेको बताए। ‘बजारमा सस्तो सामानको खोजी धेरै हुने गरेको छ। हामीले पोहोरको तुलनामा मूल्य खासै बढाएका छैनौं,’ उनले भने।
गर्मीका कपडाको माग बढेपनि व्यवसायीहरु उत्साही छैनन्। उनीहरुका अनुसार अपेक्षाकृत रुपमा व्यापार हुन सकेको छैन।
‘अहिले सामान आयात गर्न समस्या छैन। तर आयात गरिएका कपडा बिक्री नहुने समस्या बढ्दै गएको छ,’ व्यापारी केदार न्यौपानेले भने, ‘कपडाको मूल्य खासै धेरै बढेको छैन। तर किन्ने ग्राहक खासै छैनन्। व्यापारमा कमीका कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था छ।’
व्यापारीहरुले कपडाको आयात नै घटाएका छन्। विगतका २ वर्षलाई अपवाद मान्ने हो भने गर्मीका ३ गाडी कपडा आयात गर्ने व्यापारीले अहिले एक गाडी भन्दा धेरै ल्याउने हिम्मत गरेका छैनन्।
‘धेरै ल्याएर के गर्नु? किन्ने ग्राहक नै कम छन्। अहिले ल्याएर अर्को वर्षसम्मका लागि राख्ने कुरा भएन्। त्यही कारण हामीले आयात नै कम गरेका छौं,’ महासंघका अध्यक्ष श्रेष्ठले भने।
त्यसो त व्यापारीहरुले अपेक्षा गरे अनुसार पसलमा भिड नहुनुको कारण युवाहरु विदेशिनु मात्र होइन, बढ्दो अनलाइन व्यापार पनि हो। पछिल्लो समय अनलाइनबाट किनमेल गर्नेको जमात बढ्दै गएको छ। अनलाइनबाट व्यापार गर्नेहरुले राम्रै आर्जन गरिरहेका छन्।