इङ्ग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ। मड्रिडको घरेलु मैदान सान्टिआगो बर्नेबेउमा गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगको खेलमा आर्सनलले २-१ गोलअन्तरले जित निकाल्यो। यसअघि पहिलो लेगको खेलमा ३-० को रवाफिलो जित निकालेको आर्सनल समग्रमा ५-१ गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
दोस्रो लेगको खेल पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ६५ औँ मिनेटमा आर्सनलका बुकायो साकाले गोल गर्दै खेलमा अग्रता दिलाए। त्यसको दुई मिनेटमै मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याए। यता आर्सनलमा गाब्रियल मार्टिनेलीले इन्ज्युरी समयमा गोल गर्दै दोस्रो लेगमा पनि टोलीको जित सुनिश्चित गरे।
त्यस्तै, गएराति नै सम्पन्न अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब इन्टर मिलान २-२ गोलको बराबरीमा रोकिए। पहिलो खेलमा २-१ गोलअन्तरले जितेको इन्टर मिलान समग्रमा ४-३ गोलको जित निकाल्दै सेमिफाइनल पुग्यो।
योसँगै च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पनि पूरा भएको छ। सेमिफाइनलमा इङ्ग्लिस क्लब आर्सनलको प्रतिस्पर्धी फ्रेन्च क्लब पीएसजी हुनेछ भने इटालियन क्लब इन्टर मिलानको प्रतिस्पर्धी स्पेनिस क्लब बार्सिलोना हुनेछ।
सेमिफाइनलको पहिलो लेगका खेल अप्रिल ३० र मे १ मा र दोस्रो लेगका खेल मे ७ र ८ मा हुनेछ।