BIZMANDU
www.bizmandu.com

‘ब्याट्री फाइनान्सिङ’ को अवराधणाबारे छलफलमा व्यवसायी, बैंकले ऋण दिन सक्छ ?

२०८२ बैशाख ४

‘ब्याट्री फाइनान्सिङ’ को अवराधणाबारे छलफलमा व्यवसायी, बैंकले ऋण दिन सक्छ ?
‘ब्याट्री फाइनान्सिङ’ को अवराधणाबारे छलफलमा व्यवसायी, बैंकले ऋण दिन सक्छ ?


काठमाडौं । विद्युतीय सवारीसाधन (इभी) को ब्याट्री वारेन्टी सकिएपछि प्रतिस्थापन गर्नुपर्ने अवस्थामा एकै पटक ठूलो रकम आवश्यक पर्ने हुन्छ। यस समस्यालाई सम्बोधन गर्न ‘ब्याट्री फाइनान्सिङ’ को अवधारणा ल्याउन सकिन्छ।

Tata
GBIME
NLIC

पछिल्लो समय बैंकहरूले व्यावसायिक इभीमा ऋण लगानी गर्न जोखिम महसुस गरिरहेका छन्। यसै कारण नेपाल राष्ट्र बैंकले पनि इभीको ‘लोन टु भ्यालु रेसियो’ ८० प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरेको छ। बैंकहरू यसलाई आफ्नो सुरक्षित रणनीति मान्छन्।

यस्तो अवस्थामा इभी प्रयोगकर्ताहरूलाई ब्याट्री प्रतिस्थापनका लागि आवश्यक रकम जुटाउन कठिनाइ हुन सक्छ। ‘ब्याट्री फाइनान्सिङ’ सुविधाले बैंकहरुलाई ब्याट्री किन्नकै लागि विशेष ऋण प्रदान गर्ने अवसर दिन्छ। यसले इभी प्रयोगकर्ताहरूलाई ब्याट्री प्रतिस्थापनको आर्थिक बोझ कम गर्न र तनावमुक्त हुन मद्दत गर्नेछ। विशेषगरि यसलाई कमर्सियल इभीमा खरिदकर्ता र कम्पनीलाई सहयोग पुर्‍याउने छ।

अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले केही दिन अगाडि आयोजना गरेको ‘नाडा अटो डाइलग २०८१’ मा यो विषयले प्रवेश पाएको थियो। सो कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले उल्लेखित व्यवस्था गर्न सकिने बताएका हुन्।

‘इभीको ब्याट्री फेर्नु परेको अवस्थामा ब्याट्रीको लागि मात्रै फाइनान्सिङको सुविधा दिन सकिन्छ। तर, ग्राहकहरुको क्रेडिट स्कोरहरु हेरेर मात्रै ऋण प्रवाह गर्ने वातावरण बन्न सक्छ,’ उनले भने।

कोइरालाका अनुसार आजको दिनमा इभी प्यासेन्जर सवारीको मामलामा केही समस्या नहुन सक्छ। साथै कमर्सियल इभीमा पनि अहिले तत्काललाई कमाई राम्रै भएकाले समस्या नहुन सक्छ। तर, लामो रुटमा चल्ने कमर्सियल इभीको हकमा ब्याट्री कतिको टिक्छ र कहिले फेर्नु पर्छ अन्योलको विषय छ। यदि ब्याट्री फेर्नु परेको खण्डमा ग्राहकसँग अतिरिक्त ‘फन्ड’ आवश्यकता पर्छ। त्यो लागत नभएको अवस्था समस्या हुने देखिन्छ। त्यस्ता ग्राहकहरुको समस्या समाधान गर्न ब्याट्री फाइनान्सिङको सुविधा काम लाग्न सक्ने कोइरालाको भनाइ छ।

‘ऋण प्राप्त गर्नको लागि राम्रो क्रेडिट स्कोर आवश्यक हुन सक्छ। केही ऋणहरूको लागि धितो आवश्यक पर्न सक्छ। वारेन्टी सकिएको ब्याट्रीको मूल्य र नयाँ ब्याट्रीको आयुलाई विचार गर्नुपर्छ। फाइनान्सिङको लागत ब्याट्रीको आयुभन्दा बढी हुन सक्छ,’ उनले भनेका छन्।

टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता तथा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ब्याट्री फाइनान्सिङको अवधारणामा आफुहरुले पनि काम गरिरहेको बताए।

‘यो कन्सेप्टमा काम गर्न खोजिरहेका छौं। तर यसका लागि बैंक तथा वित्तिय संस्थाहरुको साथ चाहिन्छ। उनीहरु पनि यसमा जोखिम भारहरु सबै मूल्यांकन गरेपछि मात्रै भायबल छ भन्ने लागेपछि ब्याट्रीको लागि ऋण प्रवाह गर्न सक्ने हुन्छन,’ उनले भने।

गाडी कै ऋण भइरहेको बेला फेरि ब्याट्रीको लागि ऋण दिन सकिन्छ?

ब्याट्री फाइनान्सिङको अवधारणा प्राय: सबै प्रकारका गाडी खरिदकर्तालाई काम लाग्न सक्ने जानकार बताउँछन्। ८ वर्ष वारेन्टी हुनेलाई पनि यो सहयोगी हुन सक्छ भने भने ५ वर्ष मात्रै वारेन्टी हुनेलाई पनि काम लाग्न सक्छ। तर, गाडी कै ऋणको भार भइरहेको बेला ब्याट्री फेर्नु पर्‍यो भने कसरी ऋण दिने भन्नेमा बैंकहरु पनि छलफलमा छन्।

हाल कुनै पनि इभी खरिद गर्दा अहिले ५ वर्षदेखि ७ वर्षसम्मको ऋण तिर्ने समयावधि हुन्छ। तर, यदि उक्त ऋण तिर्ने समय नसकिँदै ब्याट्री फेर्नुपर्ने अवस्था आएमा यो फाइनान्सिङ काम आउन गाह्रो हुन्छ। किनभने ब्याट्रीमा दुई किसिमको वारेन्टी प्रदान गरिएको हुन्छ। जसमा किलोमिटर पहिला वा वर्ष पहिले भन्ने हुन्छ।

त्यसैले यो अवधारणा लामो रुटमा चल्ने माइक्रो इभीहरुलाई ‘फिजिबल’ नहुने बैंकरहरु बताउँछन्। दैनिक रुपमा १५० देखि २०० किलोमिटर चल्ने कमर्सियल इभीको हकमा ब्याट्री ५ वर्षसम्म चल्छ। उनीहरुले ५ वर्षसम्म बैंकको ऋणमा गाडी लिएका हुन्छन्। साधारणतय: यो अवधिसम्म लिइएको ऋण तिरिसकिएको हुन्छ। त्यसपछि गाडी ग्राहकहरुको नाममा आउँछ। त्यसपछि बैंक तथा वित्तिय संस्थाहरुले ‘ब्याट्रीमा फाइनान्सिङ’ गर्न सक्छन्।

यसो गर्दा बैंकलाई पनि कुनै जोखिम हुँदैन। किनभने नयाँ ब्याट्री फेरेपछि ५ वर्षसम्म फेरि गाडीसहित धितोका रुपमा पनि राख्न पाइने जानकार बताउँछन्। तर, बैंकहरु लामो रुटमा संचालन हुने इभी माइक्रोलाई लिएर यो अवधारणामा काम गर्न इच्छुक छैनन। किनभने तीनचार वर्षमा ब्याट्री फेर्नपर्ने भयो भने त्यो बेलामा के को आधारमा फाइनान्सिङ गर्ने भन्ने बहस छ। एकातिर गाडीको ऋण अर्कोतिर फेरि ब्याट्रीको लागि पनि ऋण। यस्तो अवस्थामा किस्ता तिर्न समस्या हुने र जोखिम बढ्ने उनीहरु बताउँछन्।

के हो ब्याट्री फाइनान्सिङ?

ब्याट्री फाइनान्सिङ भनेको इभीको ब्याट्री खरिद गर्ने लागतलाई कम गर्ने विभिन्न वित्तीय मोडेल मध्ये एक हो। अहिले बजारमा उपलब्ध इभीको ब्याट्रीको आयु सीमित हुन्छ र यसलाई प्रतिस्थापन गर्न चालकलाई केही हदसम्म महँगो पर्न सक्छ, जसले सवारी साधनको संचालन लागत बढाउँछ।

विशेष गरि यो समस्या कमर्सियल इभीमा आउन सक्ने अनुमान बैंकिङ क्षेत्र गरिरहेका छन्। किनभने अहिले प्राय: सडकमा कुदिरहेका इभीमा बैंकहरुले ऋण लगानी गरेका छन्।

वारेन्टी सकिएपछि ब्याट्री प्रतिस्थापनको लागि फाइनान्सिङ सुविधा उपलब्ध हुन सक्छ, तर यो सेवा प्रदायक र वित्तीय संस्थाहरूको नीतिमा निर्भर गर्दछ। यो सुविधा नयाँ ब्याट्री किन्न नसक्ने वा एकैपटक ठूलो रकम खर्च गर्न नचाहने सवारी साधन मालिकहरूका लागि उपयोगी हुन सक्छ।

बैंकहरूले व्यक्तिगत ऋण प्रदान गर्न सक्छन् जुन वारेन्टी सकिएपछि ब्याट्री किन्न प्रयोग गर्न सकिन्छ। गैर बैंकिङ वित्तीय संस्था (एनबीएफआई)हरूले पनि ब्याट्री प्रतिस्थापनको लागि ऋण प्रदान गर्न सक्छन्।

केही कम्पनीहरूले वारेन्टी सकिएपछि नयाँ ब्याट्री लिजमा दिने वा सदस्यता योजनामा अपग्रेड गर्ने विकल्प दिन सक्छन्। यसमा मासिक वा वार्षिक शुल्क तिर्नुपर्छ। केही सवारी साधन निर्माता वा डिलरहरूले वारेन्टी सकिएका सवारी साधनहरूको लागि ब्याट्री प्रतिस्थापनको लागि विशेष फाइनान्सिङ योजनाहरू ल्याउन सक्छन्। ब्याट्री बिक्रेताहरूले सिधै किस्ताबन्दीमा ब्याट्री किन्न सक्ने सुविधा दिन सक्छन्।