काठमाडौं । इनभिजन एजुकेशन र विशाल ग्रुप फाउन्डेसनको संयुक्त पहलमा दुई विद्यालयमा डिजिटल ल्याब स्थापना गरिएको छ।
दुकुछापमा रहेको चण्डीदेवी स्कुल र बुढानीलकण्ठको एयुएम स्कुलमा डिजिटल ल्याब संचालनमा ल्याइएको हो। दुवै संस्थाका अनुसार संचालित ‘डिजिटल डिभाइड ब्रिजिङ प्रोजेक्ट’ कार्यक्रमका कारण विद्यार्थीहरुमा प्रविधि प्रतिको रुची बढ्दै गएको छ।
डिजिटल साक्षरता अभिवृद्धी गर्ने उद्देश्यले यो योजना संचालन गरिएको हो। विद्यार्थीहरुमा पारेको सकारात्मक प्रभावका कारण ‘डिजिटल डिभाइड ब्रिजिङ प्रोजेक्ट’ कार्यक्रमको प्रभावकारिता बढ्दै गएको जनाइएको छ।
परियोजना अन्तर्गत सन् २०२४ मा कोसेली स्कुल र लाइफ भिजन एकेडेमीमा डिजिटल ल्याब स्थापना गरिएको थियो। सन् २०२५ मा एयुएम स्कुल र चण्डीदेवी स्कुलमा पनि डिजिटल ल्याब खोलिएको हो।
दुवै संस्थाले यो विस्तारलाई ‘क्रान्ति’को संज्ञा दिएका छन्। र, यस प्रकारका ल्याबले ‘डिजिटल डिभाइड’ को अन्त्य हुने जनाएका छन्।
एयुएम स्कुल व्यवस्थापन समितिका अध्यक्ष नारद प्रसाद भण्डारीले प्रविधि बिना शिक्षा अधुरो रहेको बताउँदै डिजिटल ल्याबले विद्यार्थीहरुलाई फाइदा पुग्ने बताए। उनले वर्तमान परिदृश्यमा कम्पयुटर शिक्षा आवश्यक रहेको बताए।
आयोजक संस्था इनभिजनका सह-संस्थापक श्रेयस शर्माले डिजिटल ल्याबले विद्यार्थीहरुमा प्रविधिप्रति रुची जगाएको र उनीहरुको बुझाइमा परिवर्तन आएको बताए।
इनभिजन प्रमुख एमी वाङले डिजिटल ल्याबमा कम्पयुटरको प्रयोगबाट विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको बताइन्। उनले ल्याबमा राखिएका प्रत्येक कम्पयुटरको प्रयोगसँगै विद्यार्थीहरुको लक्ष्य प्राप्तीमा सहयोग बन्न पाइएको बताइन्।
डिजिटल ल्याबमा विद्यार्थीहरुले कम्पयुटरमार्फत बनाएका कार्यहरु प्रस्तुत पनि गरेका छन्। ल्याबले उनीहरुको सिकाइ यात्रामा प्राविधिक साक्षरता महत्वपूर्ण रहेको प्रमाणित गरेको जनाइएको छ।