काठमाडौं। काठमाडौं उपत्यकाको बिजुली आपूर्तिमा सबैभन्दा धेरै लगानी भएको मातातीर्थ सवस्टेनमा भएको आगलागी प्रकरणमा नेपाल विद्युत प्राधिकरणले ठेकेदार कम्पनीमाथि निगरानी बढाएको छ।
आइतबार दिउँसो साढे दुई बजेतिर भूमिगत लाइन परीक्षणका क्रममा सवस्टेसनमा आगलागी हुँदा ११ केभीएको ८ वटा फिडरमा क्षति पुगेको थियो। आगलागीबाट २ देखि ३ करोड बराबरको क्षति भएको प्राधिकरणको अनुमान छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार आगलागीस्थल पुगेर सीसीटीभी फुटेज हेर्नेदेखि कर्मचारीसँग सोधपुछ गरेका थिए।

‘घटनालाई एमडी सरले गम्भीररुपमा लिनु भएको छ,’ प्राधिकरणका एक अधिकृतले भने, ‘सीसीटीभी फुटेज हेर्दा घटना अन्जानमा भएको भन्दा पनि नियतवश भएको जस्तो देखिन्छ। अब छानबिन भएपछि विस्तृतमा आउला।’
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार आगलागी कसरी भयो भन्ने पत्ता लगाउन छानबिन समिति बनाइँदैछ। ‘के कति कारण घटना भएको हो? त्यस विषयमा छानबिन हुन्छ। प्राधिकरणले छानबिन गर्न समिति बनाउँछ,’ शिल्पकारले भने, ‘सवस्टेसनलाई कसरी छिटो सञ्चालनमा ल्याउन सकिन्छ भनेर हामीले काम गरिरहेका छौं।’
सवस्टेसनमा ‘एल एण्ड टी’ कम्पनीले काम गरिरहेको छ। कम्पनीले प्राधिकरणलाई सवस्टेसन हस्तान्तरण गरिसकेको छैन।
कार्यकारी निर्देशक शाक्यले हस्तान्तरण नभएका कारण आगलागीबाट भएको क्षति कम्पनीले नै बेहोर्ने बताए। ‘त्यो परियोजना अहिलेसम्म हामीलाई हस्तान्तरण भएको छैन। त्यसैले सम्पुर्ण क्षति कम्पनीले नै बेहोर्छ,’ उनले भने।
मातातीर्थ फिडरबाट प्राधिकरणले मातातीर्थका केही क्षेत्रका साथै कीर्तिपुर र कुलेश्वर क्षेत्रमा बिजुली आपूर्तिमा गर्दै आएकामा आगलागीले सेवा बन्द भएपछि स्युचाटार र अन्य सवस्टेसनबाट उपलब्ध गराउँदै आएको छ।