BIZMANDU
www.bizmandu.com

गभर्नर नियुक्तिमा बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो : गगन थापा

२०८२ बैशाख २

गभर्नर नियुक्तिमा बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो : गगन थापा
बौद्धिक पेशाकर्मी अभियान परिषदद्वारा काठमाडौँमा मङ्गलबारआयोजित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान, चियापान एवं भेटघाट कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर : गोपाल दाहाल/रासस


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर नियुक्तिमा ढिलाइका कारण बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै हुने देखिएको बताएका छन्।

Vigo
GBIME
Tata

बौद्धिक पेशाकर्मी अभियानले नयाँ वर्षको शुभकामना आदनप्रदानका लागि मंगलबार काठमाडौंमा राखेको कार्यक्रममा थापाले बिचौलियाले अगाडि सारेकै उम्मेद्वार गभर्नर हुने डर आफूमा रहेको बताए।

‘अहिले राष्ट्र बैंकको गभर्नर बिचौलियाको क्यान्डिडेट बन्ला कि भन्ने भयो। नेपाली कांग्रेस डिफेन्सिभ भयो,’ उनले भने।

राष्ट्र बैंकको गभर्नर पद चैत २४ देखि खाली छ। बिचौलिया समूहले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई आफ्नो उम्मेदवारका रुपमा अगाडि सारेको छ।

क्षत्रीलाई कांग्रेस सभापति शेरबहादुर देउवा र ढुंगानालाई प्रधानमन्त्री केपी ओलीले बोकेका छन्। ओली र देउवाबीच कुरा नमिलेका कारण नियुक्ति हुन सकेको छैन।

कांग्रेस महामन्त्री थापाले बिचौलियाकै कारण देशको आर्थिक अवस्था बिग्रेको तर कांग्रेस भने मुकदर्शक भएको बताए। ‘हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेकै बिचौलियाका कारणले हो। म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ। बिचौलियाहरूको पहुँच चाहिं प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो,’ थापाले भने।