काठमाडौं । २०८१ सालमा कमर्सियल सवारीसाधनको बिक्रीले गति लियो। २०८० सालको तुलनामा २०८१ सालमा कमर्सियल सवारीसाधनको आयात ५२ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
कमर्सियल सवारी साधनको आयातमा भएको उल्लेख्य वृद्धिले नेपालको आर्थिक गतिविधिमा सकारात्मक संकेत देखाएको छ। भन्सार विभागका अनुसार २०८० फागुनसम्म २ हजार ९०८ युनिट कमर्सियल सवारीसाधन आयात भएको थियो। २०८१ सालको सोही अवधिमा ६ हजार १७६ युनिट कमर्सियल सवारीसाधन आयात भएको देखिएको हो।
आयात बढ्नुमा सबैभन्दा बढी योगदान बसहरूको संख्यामा भएको वृद्धि हो। बसको आयात बढ्दा त्यसबाट सार्वजनिक यातायातको विस्तार वा व्यवसायीहरूले आफ्नो ‘फ्लीट’ बढाउन सहयोगी देखिएको छ। पछिल्लो समय विद्यालयहरुले नयाँ बसहरुको प्रयोग गर्न थालेका छन्। यस्तै, कयौं विद्यालयहरुले माइक्रो बसको समेत प्रयोग गरिरहेका छन्। यसले बस र माइक्रोको बिक्रीमा वृद्धि भएको हो।
२०८० सालमा निर्माण व्यवसायीहरूले समयमा भुक्तानी नपाएका कारण नयाँ काम गर्न नसक्दा पूँजीगत खर्च अपेक्षाकृत कम भएको थियो। यसको प्रत्यक्ष असर ठूला कमर्सियल सवारी साधनको आयातमा परेको थियो। तर, २०८१ सालमा आयातमा भएको वृद्धिले निर्माण क्षेत्रमा सुधार आएको वा अन्य आर्थिक गतिविधि बढेको अनुमान गर्न सकिन्छ।
टाटा गाडी बिक्री गरिरहेका सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठले बसहरुको बिक्री बढेको बताए।
‘अहिले बसहरुको बिक्री बढेको छ। त्यसमा पनि स्कुल बसहरुको बिक्री राम्रो छ। तर, टिपर जस्ता ठुला सवारी साधनको बिक्रीमा भने त्यति वृद्धि भएको छैन,’ उनले भने, ‘ट्रक तथा टिपरहरुमा नयाँ ग्राहकहरु थपिने भन्ने छैन। पुरानै ग्राहकहरुले नयाँ सवारी खरिद गर्ने हो। निर्माणको काममा लगभग ३५ प्रतिशत ट्रकहरुको काम हुन्छ।’
बसहरुको बिक्री बढ्नुमा विद्यालयहरुले नयाँ बस खरिद गर्नु एउटा कारण हो। अर्को कारण पहिाल भाडामा बस हाल्ने विद्यालयहरुले पनि अहिले आफ्नै नयाँ बसहरु खरिद गर्न थालेको श्रेष्ठ बताउँछन्।
‘अहिले सिजनले गर्दा पनि बसहरु धेरै बिक्री भइरहेका हुन्। त्यसमा पनि स्कुलहरुले सार्वजनिक बसहरु भाडामा लगाउन पाउँदैनन्। त्यसैले पनि धेरै स्कुलहरुले आफ्नै लागि बसहरु खरिद गरेका हुन,’ उनले भने।
नियममा उल्लेख भए पनि अझै पनि स्कुलहरुले सार्वजनिक बसहरु भाडामा चलाइरहेका छन्। यसलाई सरकारले नियन्त्रण गर्न थाले पछि केही विद्यालयहरुले आफ्नै बसहरु किन्न थालेका हुन्।
श्रेष्ठका अनुसार अर्को मूख्य कारण भनेको बस खरिद गर्दा लाग्ने ऋणको ब्याजदर अहिले इतिहासकै कम छ। जसले गर्दा स्कुल तथा अन्य व्यवसायीलाई नयाँ गाडी खरिद गर्न सहज भएको छ।
नाडाका कोषाध्यक्ष तथा जेसीबीको ह्याभी इक्वीपमेन्ट बिक्री गर्ने मिलन बाबु मल्ल गत वर्षहरुको तुलनामा २०८१ सालमा कमर्सियल सवारीसाधनको कारोबार केही बढेको बताउँछन्।
केही मात्रामा विकास पूर्वाधारका कामहरुले लय लिन थालेको कारण कमर्सियल सवारीसाधनको बिक्री बढेको उनको भनाइ छ। पछिल्लो समय रिटेलमा व्यक्तिगत भन्दा संस्थागत र आयोजनाहरुले धेरै सवारीसाधन खरिद गर्न थालेका मल्लले जानकारी दिए।
‘पछिल्लो समय मानिसहरु बाहिर जाने ट्रेन्ड बढेकाले अर्गनाइजेसन र आयोजनाहरुको काम पाउने निर्माण कम्पनीले खरिद गर्न थालेका छन्। नत्र भने उनीहरुले आयोजना संचालन हुने समयको लागि मात्रै कुनै व्यक्ति वा कम्पनीबाट हेभी इक्वीपमेन्टहरु भाडामा लिने गर्थे,’ उनले भने, ‘तर अहिले व्यक्तिगत खरिद गर्ने ग्राहकहरु छैनन्। नत्र जेसीबीले मात्रै वार्षिक २ हजार युनिट ह्याभी इक्वीपमेन्ट बिक्री गर्थ्यो। अहिले वार्षिक सेल्स २०० युनिट पनि छैन। यो वर्ष अलि बढ्ने संकेत गरेको छ। हाम्रो भन्दा बसहरुको बिक्री बढेको देखिन्छ।’
मल्लका अनुसार सरकारले कमर्सियल सवारी साधनको बिक्री बढाउनका लागि मुख्य रूपमा विकास निर्माणका कामहरूलाई तीव्रता दिनुपर्छ र निर्माण व्यवसायीहरूलाई उनीहरूको बाँकी रहेको भुक्तानी समयमै गर्नुपर्छ।
‘विकास निर्माणका कामले कमर्सियल सवारीहरूको माग सिर्जना गर्दछन् किनकि ती परियोजनाहरूमा ढुवानी र अन्य कामका लागि यस्ता सवारी साधनहरूको आवश्यकता पर्दछ,’ उनले भने, ‘यदि निर्माण व्यवसायीहरूले समयमै भुक्तानी पाउँछन् भने उनीहरू नयाँ सवारी साधन किन्न वा आफ्नो फ्लीट विस्तार गर्न सक्षम हुन्छन्। जसले समग्रमा कमर्सियल सवारी साधनको बिक्री बढाउछ। हाम्रो हेभी इक्वीपमेन्ट यस्तै स्थानमा प्रयोग हुन्छन्।’
अशोक लेल्यान्ड गाडी बिक्री गर्ने आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले पुरानो बस भएका यातायात व्यवसायीहरु नयाँ र आधुनिक लक्जरी बसहरूमा आकर्षित भइरहेका बताए। ‘पछिल्लो समय पुरानो बसहरुबाट लक्जरी र नयाँ बसहरुमा सिफ्ट हुने जमात बढेको छ। हाम्रो भाइकिङ बसहरु धेरै बिक्री हुन्छन्,’ उनले भने।
ढकालले लामो दूरीमा चल्ने बसहरूको बिक्रीमा पनि उल्लेखनीय वृद्धि भएको बताए। ‘यसले यात्रुहरूको आरामदायी यात्राप्रतिको बढ्दो चाहना र यातायात व्यवसायीहरूको लगानी क्षमतामा सुधार आएको संकेत गर्दछ,’ उनले भने, ‘यो वर्ष हालसम्म लगभग ७०० युनिट त्यस्ता बसहरु बिक्री भइसकेका छन्।’
कुन कति आए?
२०८० को फागुनसम्म २ अर्ब ८८ करोड बराबरको १ हजार ७३४ युनिट बस तथा माइक्रो र मिनिबसहरु आयात भएका थिए। २०८१ फागुनसम्म कूल ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको ४ हजार ९८ युनिट माइक्रो, मिनिबस र ठुला बसहरु आयात भएका छन्।
ट्रक तथा टिपर र क्रेन लोरीहरु २०८० फागुनसम्म २ अर्ब १५ करोड रुपैयाँ बराबरको ८०४ युनिट आयात भएका थिए। २०८१ मा ट्रक र ह्याभी इक्वीपमेन्टहरु कूल २ अर्ब ५१ करोड रुपैयाँ बराबरको ६९४ युनिट आयात भएका छन्।
यस्तै, विद्युतीय माइक्रो तथा मिनिबसहरु २०८० फागुनसम्म १ अर्ब १९ करोड रुपैयाँ बराबरको ३७० युनिट आयात भएका थिए। २०८१ को सोही अवधिमा इलेक्ट्रिक कमर्सियल माइक्रो तथा बसहरु कूल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको १ हजार ३८५ युनिट आयात भएका छन्।