BIZMANDU
www.bizmandu.com

आजदेखि नगरकोट भ्रमण वर्ष सुरु, राष्ट्रपति रामचन्द्र पौडेलले गरे शुभारम्भ

२०८२ बैशाख १

आजदेखि नगरकोट भ्रमण वर्ष सुरु, राष्ट्रपति रामचन्द्र पौडेलले गरे शुभारम्भ
नगरकोटमा पर्यटक काठमाडौँ, १ वैशाखः काठमाडौँ, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरेको प्रसिद्ध पर्यटकीयस्थल ‘नगरकोट भ्रमण वर्ष’का अवसरमा आज नगरकोट अवलोकनमा आएका पर्यटक । तस्बिरः प्रदीपराज वन्त÷रासस


काठमाडौं । ‘नगरकोट भ्रमण वर्ष-२०८२’ आजदेखि सुरु भएको छ। नपाली नयाँ वर्षको अवसर पारेर आजदेखि नगरकोटमा उक्त भ्रमण वर्ष आरम्भ भएको हो।

Tata
GBIME
NLIC

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायणका साथै  मण्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष’ को शुभारम्भमा सहभागी भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार नगरकोटमा आयोजित ‘नगरकोट भ्रमण वर्ष’का अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै। तस्बिरः प्रदीपराज वन्त/रासस

आज पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्‍याली प्रदर्शन गरिएको छ। विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन्। नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न  हजारौँ पर्यटक आइतबार नगरकोट पुगेका थिए।

‘नगरकोटमा लाखौँ पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौं,’ नगर प्रमुख खत्रीले भने।

घरेलु उत्पादनका ६० कक्ष यहाँ राखिएका छन्। भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने उनको भनाइ छ।

भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रित संयुक्त कार्यक्रम संचालन हुने तथा वडास्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिने छन्। 

‘नगरकोट भ्रमण वर्ष’का अवसरमा आज नगरकोट अवलोकन आएका पर्यटक। तस्बिरः प्रदीपराज वन्त/ रासस

भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभे्रपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौंको शंखरापुर नगरपालिकाका होटल तथा घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ।

नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौँ–नगरकोट सिधा बस सेवा संचालन गरिएको छ। रासस