BIZMANDU
www.bizmandu.com

भूमिगत लाइन परीक्षणमा मातातीर्थ सवस्टेसनमा आगलागी, वैकल्पिक व्यवस्थाबाट काठमाडौंमा बिजुली

२०८२ बैशाख १

भूमिगत लाइन परीक्षणमा मातातीर्थ सवस्टेसनमा आगलागी, वैकल्पिक व्यवस्थाबाट काठमाडौंमा बिजुली
भूमिगत लाइन परीक्षणमा मातातीर्थ सवस्टेसनमा आगलागी, वैकल्पिक व्यवस्थाबाट काठमाडौंमा बिजुली


काठमाडौं। भूमिगत लाइन परीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणका ८ फीडरमा आगलागी भएको छ। घटनापछि प्राधिकरणको मातातीर्थ सवस्टेसनको ११ केभीए फीडर बन्द भएको छ। आइतबार दिउँसो भएको घटनामा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।

Tata
GBIME
NLIC

२०८० माघ अन्तिम साता निर्माण सम्पन्न मातातीर्थ सवस्टेसन प्राधिकरणको उपत्यकाका लागि विद्युत आपूर्ति व्यस्थापनमा सर्वाधिक लगानीको पूर्वाधार हो। प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले निर्माण कम्पनीले गरेको परीक्षणका क्रममा दुर्घटना भएको बताए।

‘करिब डेढदेखि दुई करोड बराबरको क्षति भएको अनुमान छ। हामी छानबिन गर्दैछौं, समिति बनाएर पनि छानबिन गर्छौं, आजै समिति बनाउँछौं,’ उनले भने, ‘स्युचाटार फीडरले कभर गर्दा क्षति पुगेका फीडरहरुको क्षेत्रमा लाइन बन्द भएको छैन। वैकल्पिक व्यवस्था गरेर पनि ग्राहकलाई लाइन दिएका छौं।’

ठेक्का सम्झौताअनुसार काम भइरहेकाले क्षतिको जिम्मेवार एल एण्ड टी निर्माण सेवा हुने उनले बताए। ‘क्षति कति भएको छ भन्ने यकिन विवरण तयार भइसकेको छैन। समितिले छानबिन गर्छ,’ उनले भने, ‘आयोजना ठेकेदार कम्पनीले हामीलाई हस्तान्तरण गरिसकेको छैन। त्यसैले सम्पूर्ण जिम्मेवारी उसैले लिनुपर्छ।’ बुढानिलकण्ठ, चपलीबाट स्वीचगियर ल्याएर बदली गरिने र तत्कालका लागि स्युचाटार सबस्टेसनबाट रिरोटिङ गरी आपूर्ति व्यवस्था मिलाइएको उनले बताए।

काठमाडौं ग्रीडका इन्चार्ज सबिन मैनालीका अनुसार यूजी प्रोजेक्टका केबलहरू परीक्षण गर्न ११ केभी सर्किट ब्रेकरलाई चार्ज गर्दा घटना भएको हो। ‘सर्किट ब्रेकरलाई लोडबिनै चार्ज गर्ने प्रयास गर्दा तुरुन्तै सर्टसर्किट भयो र भित्रबाट नियन्त्रण गर्न नसकिने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि ट्रान्सफर्मर साइडबाट स्विच अफ गर्नुपर्‍यो। आठ वटा फिडरहरू क्षतिग्रस्त भएका छन्।’

यो घटनाले प्राधिकरणको अण्डरग्राउण्ड केबलिङमा सुरक्षा अवस्था चुनौतीपूर्ण देखाएको छ। प्राधिकरणको पावर सिस्टमको गहिरो अध्ययन आवश्यक देखिन्छ। अण्डरग्राउण्ड वायरिङमा हुने दुर्घटनाले धनजनमा गम्भीर क्षति पुर्‍याउने सम्भावनाप्रति चिन्तित बनाएको भन्दै विज्ञ टोलीहरूले पनि यस विषयमा ध्यानाकर्षण गराएका छन्।

घटनापछि चन्द्रागिरिका विभिन्न क्षेत्रमा बढी लाइन खपत गर्ने उद्योगको विद्युत आपूर्ति प्रभावित भएको छ। बढी लाइन खपत गर्ने चन्द्रागिरि केबलकारलाई प्राधिकरणका प्राविधिकले केही दिन फीडरले नधान्ने भएकाले बिहान-बेलुकी नचलाउन भनेका छन्।