BIZMANDU
www.bizmandu.com

नयाँ वर्षको पूर्वसन्ध्यामा होटल गुल्जार, उपत्यका बाहिरका गन्तव्यमा ८० प्रतिशत अकुपेन्सी

२०८१ चैत्र ३१

नयाँ वर्षको पूर्वसन्ध्यामा होटल गुल्जार, उपत्यका बाहिरका गन्तव्यमा ८० प्रतिशत अकुपेन्सी
नयाँ वर्षको पूर्वसन्ध्यामा होटल गुल्जार, उपत्यका बाहिरका गन्तव्यमा ८० प्रतिशत अकुपेन्सी


काठमाडौं। नयाँ वर्षको पूर्वसन्ध्यामा मुलुकका विभिन्न पर्यटकीय गन्तव्यका होटल तथा रिसोर्ट भरिभराउ भएका छन्। नगरकोट, सौराहा, पोखरा, मुस्ताङ, बर्दिया, रारा लगायत गन्तव्यमा आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल रहेको होटल व्यवसायीले जनाएका छन्।

Tata
GBIME
NLIC

नगरकोटका अधिकांश होटल तथा रिसोर्टका कोठाहरु सोमबारसम्मका लागि बिक्री भइसकेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले बताए।

‘दुई दिनयता अधिकांश होटलका कोठा बिक्री भइसकेका छन्,’ उनले भने, ‘नयाँ वर्ष मनाउन आउने पाहुना धेरै हुनुहुन्छ। पाहुनाहरु शुक्रबारदेखि आउने क्रम बढेको हो।’

नगरकोटमा पर्यटकको स्वागत गरिंदै

नगरकोटका होटल तथा रिसोर्टले १५ प्रतिशत छुटको व्यवस्था गरेका छन्। सोमबार नगरकोट भ्रमण वर्ष सुरु हुँदैछ। भ्रमण वर्ष अवधिभर पाहुनाले सबै होटल/रिसोर्टमा १० प्रतिशत छुट लिन पाउनेछन्।

नगरकोटस्थित क्लब हिमालय होटलकी बिक्री प्रबन्धक आशा महर्जनले आइतबारसम्मका लागि सबै कोठा बिक्री भइसकेको जानकारी दिइन्।

‘हामीकहाँ ६८ मध्ये ६० वटा कोठा सञ्चालनमा छन्। तीमध्ये ५० प्रतिशत विदेशी र ५० प्रतिशत आन्तरिक पर्यटकले बुकिङ गरेका छन्। अब हामीसँग थप पर्यटक राख्न सक्ने अवस्था छैन,’ महर्जनले भनिन्। होटलका बाँकी ८ वटा कोठा मर्मतको क्रममा छन्।

शुक्रबारदेखि पोखरामा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटकका कारण अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेको दाबी गरे।

‘एक साता अगाडिसम्म मौसमी प्रतिकूलताका कारण बुकिङ नै नआएर निराश भएका थियौं। तर, पानी परेर आकाश खुलेपछि नयाँ वर्ष मनाउनका लागि शुक्रबारदेखि नै धमाधम पर्यटक आइरहेका छन्,’ उनले भने, ‘आज र भोलि यहाँका होटल रिसोर्ट खचाखच हुने देखिएको छ।’

पोखराका होटल व्यवसायीहरुले आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न २० प्रतिशत छुटको व्यवस्था गरेका छन्।

नयाँ वर्ष मनाउन सौराहामा पनि आन्तरिक पर्यटकको ओइरो लागेको छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष एवं चितवन फरेस्ट रिसोर्टका सञ्चालक दीपक भट्टराईले होटलको अकुपेन्सी एक्कासी बढेको बताए।

‘वायु प्रदूषणका कारण पर्यटक नपाउँदा एक साताअघिसम्म अकुपेन्सी २५ प्रतिशतमा खुम्चिएको थियो। नयाँ वर्षका लागि विभिन्न प्याकेज ल्याउँदा पनि बुकिङ खासै आएको थिएन। तर अहिले हामीले नसोचेको भयो,’ उनले भने, ‘मौसमले साथ दिएकाले अहिले भ्याइ नभ्याइको अवस्था छ। आन्तरिक पर्यटकहरु शुक्रबारदेखि नै आउने क्रम बढेको छ। बुकिङ ७० प्रतिशतभन्दा माथि पुगेको छ।’

सौाराहामा २८० वटा वोटल तथा रिसोर्ट छन्। ती होटल तथा रिसोर्टसँग प्रति दिन ८,००० भन्दा बढीलाई सेवा दिने क्षमता छ।  

तनहुँको बन्दीपुरमा पर्यटक

रारा क्षेत्र आन्तरिक पर्यटकले भरिएको छ। रारा एड्भेन्चरका सञ्चालक देवीकृष्ण रोकायाका अनुसार ३ दिनयता दैनिक ३०० भन्दा बढीका दरले आन्तरिक तथा वाह्य पर्यटक रारा पुगिरहेका छन्।

‘नयाँ वर्ष मनाउन ३ दिनयता रारामा पर्यटकको संख्या निक्कै बाक्लिएको छ। विदेशीको तुलनामा आन्तरिक पर्यटक धेरै छन्,’ उनले भने।

रारा क्षेत्रमा हाल ७ वटा रिसोर्ट सञ्चालनमा छन्।

रारा क्षेत्रमा पर्यटक

पर्यटन व्यवसायीले रारामा रमाउन चाहनेका लागि काठमाडौंबाट दुईतर्फी उडानसहित दुई दिनको ३८ हजार ५०० रुपैयाँ तथा नेपालगञ्जबाट २५ हजार ५०० रुपैयाँको प्याकेज ल्याएका छन्।

काठमाडौंबाट स्कोरपियोमार्फत रारा जानेले ७ दिनको प्याकेजलाई २५ हजार ५०० तथा बसमा जानेले १८ हजार ५०० रुपैयाँ तिरेका छन्।

मुस्ताङ पनि यतिखेर आन्तरिक पर्यटकमय भएको छ। होटल मुस्ताङ ताजकी सञ्चालिका तृष्णा शेरचनले सबैजसो होटल आन्तरिक पर्यटकले खचाखच रहेको बताएन्।

मुस्ताङमा स्याउ लगायत स्थानीय उत्पादन किन्दै आन्तरिक पर्यटक

‘अहिले विद्यालय बन्दको अवस्था छ। घुमघामका लागि मौसम पनि राम्रो छ। त्यहीकारण आन्तरिक पर्यटकहरु परिवारसहित नै आइरहनुभएको छ,’ उनले भनिन्, ‘नयाँ वर्ष मनाउनका लागि भनेर हाम्रो होटलमा पर्यटकहरु आएको४ दिन भयो।’

खु्म्बु क्षेत्रमा पर्यटक