BIZMANDU
www.bizmandu.com

गभर्नर नियुक्तिमा उमेर हद हटाउने विषय सर्वोच्च अदालत पुग्यो, मंगलबार पेसी

२०८१ चैत्र ३१

गभर्नर नियुक्तिमा उमेर हद हटाउने विषय सर्वोच्च अदालत पुग्यो, मंगलबार पेसी
गभर्नर नियुक्तिमा उमेर हद हटाउने विषय सर्वोच्च अदालत पुग्यो, मंगलबार पेसी


काठमाडौं। गभर्नर नियुक्तिमा उमेर हद हटाएर मापदण्डमा गरेको संशोधनलाई चुनौती दिंदै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

Tata
GBIME
NLIC

अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले आइतबार रिट निवेदन दायर गराएका हुन्। रिट निवेदनमा सरकारको निर्णय बदर गरी गभर्नरमा उमेरजन्य योग्यता तोक्न परमादेश माग गरिएको छ।

मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले उमेरजन्य योग्यता नराखी गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउन नदिन अन्तरिम आदेश समेत माग गरिएको छ।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशदेखि संवैधानिक अंगका पदाधिकारीको नियुक्तिमा समेत उमेर हदको व्यवस्था रहेकोले गभर्नरमा उमेर हदको प्रावधान हटाइनु शंकास्पद भएको रिट निवेदनमा उल्लेख गरिएको छ। रिटमा उमेर हद हटाउने निर्णय झिकाइ बदर गर्न माग गरिएको छ।

रिटमा मंगलबारका लागि पेसी तोकिएको छ।

अर्थ मन्त्रालयले केही समयअघि आफू सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ३९ (ग) हटाएर गभर्नर नियुक्तिमा उमेर हद हटाएको थियो।

मापदण्डमा यसअघि कार्यकारी प्रमुखका हकमा तीस वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यको हकमा पैतिस वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था थियो।

सरकारले मुख्यसचिवबाट अवकाश पाएका राजेन्द्रकिशोर क्षत्रीलाई गभर्नर बनाउने तयारीस्वरुप उमेर हदको व्यवस्था हटाएको थियो। साढे ७ वर्षअघि मुख्यसचिवबाट अवकाश पाएका क्षत्री ६५ वर्ष नाघिसकेका छन्।

उनलाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोडबल गर्दै आएका थिए। यस्तै ६५ वर्ष नाघिसकेका राष्ट्र बैंकका सञ्चालक रवीन्द्र पाण्डे पनि गभर्नरको रेसमा लागेर कांग्रेसका नेताहरुलाई रिझाउनतिर लागेका थिए।

चौतर्फी विरोधपछि देउवाले क्षत्री र पाण्डे दुवैलाई केही समय रोकेको जस्तो देखिए पनि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत क्षत्रीलाई गभर्नर बनाउन सहमत गराइसकेको स्रोतको दाबि छ।

केही समयअघिसम्म ओली र देउवाबीच गभर्नर सिफारिसमा सहमति बन्न सकेको थिएन। ओलीले नीलम ढुंगानाको नाममा अडान लिएका थिए भने देउवाले क्षत्री र पाण्डेमध्ये एक जनालाई गभर्नर बनाउनुपर्ने बताएका थिए। जसका कारण नियुक्ति रोकिन पुगेको थियो।

दुई जनाबीच गभर्नरमा असहमतिसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बने समर्थन गर्न सकिने धारणा सार्वजनिक गरे। उनले आइतबार नै नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।

यसपछि गभर्नर नियुक्तिमा नयाँ ट्विस्ट आएको स्रोतले बतायो। स्रोतका अनुसार क्षत्रीलाई गभर्नर बनाउने विषयमा देउवा र ओली फेरि एकै ठाउँमा आइपुगेका छन्। ‘क्षत्री अब साझा उम्मेदवार हुन्। केही दिनभित्रै नयाँ गभर्नर नियुक्त हुने सम्भावना छ,’ स्रोतले भन्यो।

गभर्नर पद चैत २४ देखि खाली छ।