BIZMANDU
www.bizmandu.com

चीनको भरमा अमेरिकी टेक कम्पनी, स्मार्टफोनसहित उपकरणमा कर हटाउन ट्रम्प भए बाध्य

२०८१ चैत्र ३१

चीनको भरमा अमेरिकी टेक कम्पनी, स्मार्टफोनसहित उपकरणमा कर हटाउन ट्रम्प भए बाध्य
Falling down red financial chart background. 3D Rendering

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिमा फेरि परिवर्तन गरिएको छ। यसअघि अधिकांश देशमा १० प्रतिशत कर लगाएका उनले स्मार्टफोन, कम्प्युटर र केही विद्युतीय उपकरणमा कर नलगाने निर्णय गरेका छन्।

Tata
GBIME

ट्रम्पले चीनमाथि १४५ प्रतिशत कर लगाएका छन्। चीनले पनि जवाफमा अमेरिकामाथि कर लगाएको छ। ट्रम्प ट्यारिफले आजित बनेको विश्व व्यापार अमेरिकाको खेमाबाट बाहिर जाने देखे पछि नयाँ नीति ल्याइएको हो। ट्रम्पले केही दिन अघि चीनबाहेकका देशलाई लगाएको कर ९० दिनका लागि रोक्का गर्ने बताएका थिए।

अब अमेरिकामा आयात हुने स्मार्टफोन, कम्प्युटर र केही विद्युतीय उपकरणमा कर नलगाने बनाइएको हो। यसमा चीनबाट आयातित स्मार्टफोन, कम्प्युटर र केही विद्युतीय उपकरण पनि पर्छ।

यसलाई केही विश्लेषकले ‘गेम चेन्जिङ सिनारियो’ समेत भनेका छन्। ट्रम्पले कुन कुन सामानमा कर लाग्ने-नलाग्ने भन्ने बारेमा स्पष्ट नीति नै बनाउने बताएका छन्।

ट्रम्पले चीनमाथि कर लगाउँदा अमेरिकाका टेक कम्पनीहरुले आफ्ना सामानको मूल्य ह्वात्तै बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। किनभने अधिकांश सामान चीनमा नै उत्पादन हुने गर्छ।

हाल अमेरिकामा बिक्रीका लागि उत्पादन हुने एप्पल ८० प्रतिशत चीनमा बन्छ। २० प्रतिशत भारतमा उत्पादन हुन्छ। यसकारण ट्रम्पको करका कारण आइफोनको मूल्य ह्वात्तै बढ्ने देखिएको थियो।

ट्रम्पले कर नलाग्ने सामानको सूचीमा सेमिकन्डक्टर, सोलार सेल र मेमोरी कार्डलाई पनि समावेश गरेका छन्। यी सामानमा कर हटाउँदा चिनिया उत्पादनको भरमा रहेका अमेरिकी टेक कम्पनीलाई राहत मिल्ने विश्वास लिइएको छ।

ह्वाइट हाउसले भने अमेरिकी कम्पनीहरुलाई उत्पादन बढाउन समय दिनका लागि हाल यो छुट दिएको जनाएको छ। ह्वाइट हाउसले अमेरिका सधैं चिनियाँ उपकरणको भरमा चल्न नसक्ने भन्दै अमेरिकामै उत्पादनमा निर्भरता बढाउन जोड दिनेसमेत जनाएको छ।

फेनटानिलसँग सम्बन्धित चिनियाँ उपकरणमा भने अझै २० प्रतिशत कर लागू नै छ।