BIZMANDU
www.bizmandu.com

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु, लेकसाइडका होटलमा पाहुनालाई २०% छुट

२०८१ चैत्र ३०

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु, लेकसाइडका होटलमा पाहुनालाई २०% छुट
पोखरामा फेवा नव वर्ष महोत्सव सुरु, लेकसाइडका होटलमा पाहुनालाई २०% छुट


पोखरा। पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु शनिबार भएको छ। पर्यटक आकर्षित गर्न होटल संघ पोखराको अगुवाइमा बर्सेनि हुँदै आएको तीन दिने महोत्सवको यो २० औं संस्करण हो।

Tata
GBIME
NLIC

महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अम्बोटमा आयोजित सभामा उद्घाटन गरे। त्यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका विभिन्न झाँकीसहितको र्‍याली सभास्थलमा पुगेको थियो। महोत्सव सडकमा सञ्चालन भइरहेको छ। पञ्चेबाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण छन्। महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा पनि छ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण छन्। महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन्। अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

उनका अनुसार महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने ठानिएको छ। आन्तरिक पर्यटन प्रवर्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए ।

महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसाबले पोखरा उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको भनाइ राखे। पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए।

पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे। पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए। उनले पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्राण्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं आयोजक संघको सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवातालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जलगतिविधि संचालन गर्न सकिने सुझाव राखे। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला संजाल वडा ६ कि अध्यक्ष बबिता मल्लले पनि भनाई राखेका थिए।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षणका रुपमा छन्।