काठमाडौं। चैत १५ गते दुर्गा प्रसाईं तीनकुनेबाट भागेर इमाडोलस्थित पुष्कर खतिवडाको घरमा पुगे। त्यहाँबाट केही समयमा नै उनी निस्किए। तीनकुनेमा उनी चढेको गाडी भने प्रहरीले नियन्त्रणमा लिइसकेको थियो।
त्यसपछि उनी बीएबी ४२०८ नम्बरको कार चढेर निस्किएका थिए। इमाडोलबाट निस्किएपछि उनको मोबाइल अफ थियो।
गाडीमा उनीसँगै अन्य ५ जना पनि थिए। जसमा एक जनाले उनको बाटो गाइड गरिरहेका थिए। तीनकुनेमा २ जनाको ज्यान जानेगरी भएको घटनामा प्रहरीले प्रसाईंलाई खोजी गर्न थालेको थियो। त्यसको जानकारी प्रसाईं समूहले पाइसकेको थियो।
त्यसैले उनीहरू सुरक्षित तरिकाले भाग्न चाहेका थिए। इमाडोल क्षेत्रबाट निस्किएका उनीहरू ७ बजेसम्म त्यहीँ विभिन्न ठाउँमा घुमिरहेका थिए। सुरुमा उनीहरू चापागाउँको बाटो हुँदै हेटौँडा निस्किएर झापा जाने तयारी गरेका थिए। त्यसै क्रममा उनीसँग रहेका दुरेन राईले फोन गरे। त्यसपछि उनीहरूको बाटो मोडिएको थियो।
‘दुरेनले फोन गरेको देखिन्छ। त्यसपछि उनीहरूले धुलिखेल हुँदै सिन्धुलीको बाटो तय गरेका थिए,’ एक अनुसन्धान अधिकृतले भने।
प्रहरीले त्यस दिनको त्यस क्षेत्रका सीसीटीभी क्यामराहरुको फुटेज पनि हेरेको थियो।
झापा घर भएका दुरेन राई प्रसाईंका सहयोगी हुन्। प्रसाईंको नागरिक प्रतिरक्षा बल (पीडीएफ) का संयोजक समेत हुन्। गाडीको अगाडिपट्टि कारधनी, पछाडि प्रसाईं, दुरेन राई, प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का र अर्का एक युवक बसेका थिए।
त्यसपछि साढे ७ बजेपछि उनीहरू धुलिखेलको बाटो हुँदै सिन्धुलीतिर निस्किए। प्रहरीलाई धुलिखेलको एक रेस्टुरेन्टमा प्रसाईं समूह बसेको देखेर खबर समेत आएको थियो। तर प्रहरीले त्यसलाई प्रमाणले पुष्टि गर्न खोजिरहेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई फलो गरेको थियो।
घटना भएको भोलिपल्ट (चैत १६) गते बिहानै प्रसाईंसहित ६ जना बोकेको कार झापा बीएन्डसी अस्पताल पुगेको थियो। जुन अस्पतालका संचालक उनै प्रसाईं हुन्।
प्रहरीले खोजी गरिरहेको खबरबाट उनी जानकार नहुने कुरै भएन। सुरक्षित नहुने देखेपछि उनलेे भारत जाने तय गरेका थिए। काँकडभिट्टा हुँदै उनी सिलगुडी पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ।
काठमाडौंबाट लगेको कार भने झापाबाट फर्काइएको थियो। प्रहरीले त्यतिखेर नै कार र चालक समेत नियन्त्रणमा लिएको थियो। कार र चालकलाई काठमाडौं ल्याएर अनुसन्धान थालियो। कारधनी मुकुन्द दाहाल र चालक ईश्वर विकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रसाईं र दीपक खड्का भने त्यहाँबाट भारत छिरेका थिए। गाडी नियन्त्रणमा लिइसकेपछि प्रहरी महानिरीक्षक दीपक थापाले भने गाडीमा प्रसाईं नभएको दाबी गरेका थिए। तर उनलाई त्यस गाडीमा प्रसाईं भएको जानकारी भने थियो।
‘उहाँले सुरक्षा संवेदनशीलता वा प्रहरीमाथि प्रश्न उठ्ने भएर होला त्यतिखेर थिएन भन्नु भएको होला,’ एक प्रहरी अधिकृतले सुनाए।
प्रसाईं र खड्का त्यहाँबाट सिलीगुडी हुँदै असम पुगे। भारतको दिल्ली, प्रयागराज र लखनउ पनि पुगेका थिए। तर अन्तिम पटक प्रसाईंलाई प्रहरीले असममा नै लोकेट गरेको थियो।
तीनकुनेबाट भागेपछि उनले पहिलोपटक फेसबुकमा हालेको भिडियो पनि असममा रहेको मन्दिरकै भएको खुलेको छ। प्रहरी त्यस मन्दिरमा पुगेर हेरिसकेको छ। प्रहरीले शुक्रबार भारतबाट प्रसाईं र खड्कालाई काठमाडौं ल्याएर अनुसन्धान थालेको छ। तर, दुरेन राई र अर्का युवक भने फरार छन्।