BIZMANDU
www.bizmandu.com

यू-१९ विश्वकपमा पुग्ने नेपालको योजनामा अफगानिस्तान ठूलो चुनौती, कस्तो बनाउँदैछ रणनीति?

२०८१ चैत्र २९

यू-१९ विश्वकपमा पुग्ने नेपालको योजनामा अफगानिस्तान ठूलो चुनौती, कस्तो बनाउँदैछ रणनीति?
यू-१९ विश्वकपमा पुग्ने नेपालको योजनामा अफगानिस्तान ठूलो चुनौती, कस्तो बनाउँदैछ रणनीति?


काठमाडौं। यू-१९ विश्वकप छनोटका खेल आइतबार काठमाडौंमा सुरु हुँदैछन्। छनोट खेलमा नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमनले प्रतिस्पर्धा गर्नेछन्। पाँच मध्येबाट विश्वकपका लागि एक देश छनोट हुनेछ। घरेलु टोली नेपाल विश्वकपमा छनोट हुने लक्ष्य बनाएर बसेको छ।

Tata
GBIME
NLIC

नेपाली टोलीको प्रशिक्षण सुरु भएको लामो समय भइसकेको छ। टोलीले पछिल्लो पटक भारतको स्टेट टोली दिल्लीसँग सिरिज खेलेको थियो भने केही दिनअघि दाबेदारमध्येको अफगानिस्तानसँग तीन खेलको सिरिज खेलेको थियो। सिरिज अफगानिस्तानले २-१ ले जित्यो।

प्रशिक्षक शक्तिको योजना

नेपालका लागि विश्वकप पुग्ने बाटोमा सबैभन्दा बलियो चुनौती देखिन्छ अफगानिस्तान। टेस्ट राष्ट्र अफगानिस्तानविरुद्ध नेपालले सिरिज खेलिसकेको छ। यसअघि नेपालले अफगानिस्तानलाई पटक पटक हराएको पनि छ।

‘अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदा मोरल हाइ भएको छ। यसैलाई क्वालिफायर्समा निरन्तरता दिने योजनामा छौँ, ‘ नेपाली टोलीका प्रशिक्षक शक्ति गौचनले भने।

नेपाली टोलीले सिरिज खेल्दा शीर्ष क्रमका ब्याटर र बलरहरूले राम्रो गर्दा मध्य क्रमका खेलाडीले केही संघर्ष गरे। गौचन यसलाई क्वालिफायर अघि समाधान गर्ने बताउँछन्।

‘मिडल अर्डर जहिले पनि महत्त्वपूर्ण हुन्छ। धैर्य राख्नु पर्ने हुन्छ। टिम मिटिङ एनालाइज गरेर प्यानिक नहुन भनिरहेका छौँ। अहिले देखिएको गल्ती कमजोरीलाई सुधार्नेछौँ,’ गौचनले भने, ‘नेपाल लगायत सबै टोलीलाई दबाब छ। हामीले अफगानिस्तानसँग खेलिरहेका छौँ। कुनै पनि टिमले अर्को टिमलाई हराउन सक्ने अवस्था छ।’  

विश्वकप पुग्ने विश्वास

नेपाली सिनियर राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले पनि हङकङ जानुअघि यू-१९ टोलीलाई धैर्य भएर खेल्न सुझाए।

‘दबाबलाई साइडमा राखेर त्यो मोमेन्टमा बस्नु महत्त्वपूर्ण हुन्छ। दबाबको स्थितिमा शान्त बस्ने र आफ्नो लक्ष्य के हो र टिमलाई के योगदान दिन सकिन्छ भन्नेमा केन्द्रित हुन आवश्यक छ,’ पौडेलले भने।  

नेपाली टोली बलिङ अट्याकमा स्पिनरमा बढी निर्भर हुने देखिन्छ। गौचन मैदान पनि स्पिनरलाई साथ दिने खालको भएकाले यस्तो भएको बताउँछन्।

‘हामीसँग दुई जना फास्ट बलर छन् र चार जना स्पिनर छन्। मैदान स्पिन फ्रेन्डली छ। उनीहरूले राम्रो प्रदर्शन गरिरहेका छन्। युवराज खत्रीलाई अफगानिस्तानसँग खेलाएनौँ। त्यो योजना बमोजिम नै हो। मिस्ट्री हिसाबले राखेका हौँ। क्वालिफायर्समा उ हुनेछ,’ गौचनले भने।

नेपाली टोलीका कप्तान नरेन भट्टलाई कमजोरी सुधार्दै आएकाले विश्वकपमा छनोट हुने विश्वास छ।

‘गल्तीहरू कम गर्दै लगेका छौँ। विश्वकप छनोटका तयार छौँ। टोली सन्तुलित छ। हामी विश्वकपमा छनोट हुने भरोसामा छौँ। सिम्पल क्रिकेट खेल्ने हो, त्यो दिन जसले राम्रो खेल्छ उसैले जित्छ। टिम अफगानिस्तान भनेर ठूलो रूपमा लिंदैनौँ। आफ्नो खेल खेल्छौँ,’ भट्टले भने।

नेपालको खेल तालिका

विश्वकप छनोटका खेलहरू माथिल्लो मुलपानी र तल्लो मुलपानी मैदानमा हुँदैछन्। नेपालले पहिलो खेल युएईविरुद्ध तल्लो मुलपानीमा आइतबार खेल्नेछ। त्यस्तै सोमबार माथिल्लो मुलपानीमा ओमनविरुद्ध खेल्नेछ। बुधबार हङकङविरुद्ध तल्लो मैदानमा र शनिबार अफगानिस्तानविरुद्ध पनि तल्लो मैदानमा खेल्ने तालिका छ।

नेपाली टोली

नरेन भट्ट (कप्तान), अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिन शर्मा।