काठमाडौं। जलविद्युत आयोजनामा ग्रीन फाइनान्सिङका माध्यमबाट पुँजी जुटाउने विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले अध्ययन गर्ने भएको छ। इप्पानले अध्ययनका लागि पायोनियर ल एसोसिएट्स (पीएलए)सँग शुक्रबार सम्झौता गरेको छ।
सम्झौतामा इप्पानका अध्यक्ष गणेश कार्की र पीएलएका सञ्चालक अनुपराज उप्रेतीले हस्ताक्षर गरे। कार्कीले ग्रीन फाइनान्सिङ सम्बन्धी नीति निर्माणका लागि सरकारलाई सहयोग पुगोस् भनेर अध्ययनको सम्झौता गरेको बताए।
पीएलएका सञ्चालक अनुपराज उप्रेतीले ग्रीन ट्याक्सोनोमीसम्बन्धी अध्ययनको जिम्मा पाउँदा आफूहरु उत्साहित भएको बताए।
सरकारले विद्युत उत्पादन २८ हजार ५०० मेगावाट पुर्याउने मार्गचित्र अघि सारेपछि त्यसका लागि आवश्यक पुँजी ग्रीन फाइनान्सिङका माध्यमबाट ल्याउने विषयमा इप्पानले अध्ययन गर्न लागेको हो।
अध्ययनमार्फत पीएलएले नेपालका जलविद्युत आयोजनाहरुलाई कस्तो मोडलको ग्रीन ट्याक्सोनोमी आवश्यक छ भन्ने विषयमा विश्वका उत्कृष्ट मोडलहरुको अध्ययन गरी सिफारिस गर्ने छ।
अध्ययन सफल बनाउन पीएलएबाट ४ र इप्पानबाट ३ सदस्य रहने संयुक्त कार्यसमिति गठन गरिने छ। यसले २०८२ भदौभित्र अध्ययन प्रतिवेदन तयार पार्नेछ।