BIZMANDU
www.bizmandu.com

सपना असिमको, साथ सिप्रदीको : स्वदेशमा यसरी बनिरहेको छ यात्री स्कुटर

२०८१ चैत्र २९

सपना असिमको, साथ सिप्रदीको : स्वदेशमा यसरी बनिरहेको छ यात्री स्कुटर
सपना असिमको, साथ सिप्रदीको : स्वदेशमा यसरी बनिरहेको छ यात्री स्कुटर


काठमाडौं। काठमाडौं लगायत नेपालका सहरी इलाकामा अलि फरक किसिमको बाइक याद गर्नु भएको छ? यो बाइकको डिजाइन र लुक सामान्य बाइकहरूभन्दा अलि भिन्न छ। त्यसैले यसमा धेरैको आँखा जान्छ। बाइक हो – यात्री। नेपालमै काम गर्न सकिन्छ भन्ने हुटहुटी भएका युवाहरुले सुरु गरेको यात्रीको यात्रा बाइकबाट अब प्रोजेक्ट २ अर्थात स्कुटर निर्माणमा लम्किएको छ।

Tata
GBIME
NLIC

दशकौंदेखि विदेशी सवारी साधनमा निर्भर रहेको बजारमा यात्री मोटरसाइकलले स्वदेशी उत्पादनको झिनो आशालाई ठूलो सम्भावनाको रूपमा स्थापित गर्दै नेपाली मोटरसाइकल ब्रान्डलाई परिचित बनाउने प्रयासमा छ यात्री।

यात्रीले आफ्नो विकासक्रममा अहिलेसम्म तीनवटा महत्त्वपूर्ण डिजाइन सार्वजनिक गरिसकेको छ : भर्सन वान, भर्सन टु, र भर्सन २.१। ‘प्रोजेक्ट जेरो’, कम्पनीको पहिलो प्रोटोटाइप थियो, जसले भविष्यका सबै डिजाइनहरूको लागि बलियो आधार खडा गर्‍यो।

त्यसपछि आएको ‘प्रोजेक्ट वान’ यात्रीको पहिलो व्यावसायिक रूपमा उपलब्ध मोटरसाइकल हो, जसले नेपाली बजारमा नयाँ तरंग ल्याएको छ। हालसम्म ८० वटा यात्री बाइक नेपाली सडकमा गुडिरहेका छन्। यात्री नेपालमा उत्पादन भई दर्ता हुने पहिलो मोटरसाइकल हो।

सानैदेखि अटो मोबिलिटीमा रुची राखेका असिम पाण्डे नेपालमा नै मोटरसाइकल बनाउन सकिन्छ भन्ने सोच राख्ने। त्यही सपनालाई अहिले युवाहरुको टिम बनाएर नेपालको अटोमोबाइल उद्योगमा यात्रीलाई एउटा उत्साहजनक परिवर्तनको प्रतिक बनाउने प्रयासमा छन् उनी।

काठमाडौंको बुढानीलकण्ठमा छ यात्रीको प्लान्ट। युवा इन्जिनियरहरुले आआफ्नो क्षेत्र अनुसार काम गरिरहेका छन्। कोही पार्ट्समा, कोही डिजाइनमा त कोही ब्याट्रीमा। केही भने नेपालको कुन कुन सडकमा यात्रीको प्रोटेक्ज २ कुद्‍न सक्छ भनेर टेस्ट गरिरहेका छन्। असिमले यी सबै काम नियालिरहेका छन्।   

उनले भने, ‘एउटा कुनै क्षेत्रको इन्जिनियर भएरमात्रै यो सफल हुने होइन। धेरै क्षेत्रमा दख्खल राख्ने इन्जिनियरहरुको टिम मिलेर काम अघि बढेको छ। यात्री प्लान्टमा मात्रै नभएर स्थानीयरुपमा अन्य संस्थाहरुसँग पनि सहकार्य गरेर अघि बढिरहेका छौं। प्रोजेक्ट २ ले राम्रै सुरुवात पाएको छ।’

सिप्रदीको साथले अघि बढ्दै

पाँच दशकभन्दा बढी समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको सिप्रदी ट्रेडिङको साथ पाएपछि यात्रीको यात्राले थप गति लिएको पाण्डे बताउँछन्।

सिप्रदीसँग व्यावसायिक अनुभवसँगै राष्ट्रव्यापी संजाल छ, जसलाई यात्रीले प्रयोग गरेर अब ठूलो बजारमा यात्रा गर्ने जमर्को गरिरहेको छ।

‘इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने सपनालाई अझ मजबुत् बनाउन र सर्वसाधारणसम्म पुर्‍याउन सिप्रदीले साथ दिएको छ। त्यसले हाम्रो विश्वास बढाएको छ,’ उनले भने।

यही विश्वासका साथ अहिले बुढानीलकण्ठको प्लान्टमा करिब ६० जना दक्ष इन्जिनियर र डिजाइनर प्रोजेक्ट २ को तयारीमा तल्लिन छन्। त्यसैले त असिमको सपना अब नेपालमा मात्रै सीमित रहेन।

‘अब हामी ढुक्क भएर आफ्नो उत्पादनलाई नेपाली बजारमा मात्र नभई विश्व बजारमा पनि पुर्‍याउने सपना देख्न सक्छौं,’ उनी भन्छन्।

‘यात्री’ लाई नेपालमा ब्रान्डका रुपमा स्थापित गराइसकेका उनी अबको प्रोजेक्टमा डिजाइनदेखि प्राविधिक पक्षसम्म सुधार गरिरहेको बताउँछन्। बजारीकरणमा सिप्रदीको साथ पाएको यात्री अब गुणस्तरीय उत्पादन बनाएर प्रयोगकर्ता सामु सन् २०२६ सम्म आउने बताउँछन्।

सरकार कै कारण झन्डै ‘डेड’!

असिमका अनुसार कुनै समय यात्री ‘डेड प्रोजेक्ट’ भइसकेको थियो। नेपालमा विद्युतीय सवारी उत्पादन गर्ने सपना बुनिरहँदा न सरकारको साथ थियो न कुनै निजी कम्पनी नै। समाजले हेर्ने दृष्टिकोण पनि शंकालु थियो।

त्यसैले आफ्नो सपनालाई थाँती राख्ने अन्य यात्रीलाई विश्राम दिने सोच समेत पलायो असिमको मनमा। चारै तिर निराशा नै निराशा फैलिएको अवस्थामा उनको लागि नयाँ बाटो खुल्यो – बल्लतल्ल यात्री दर्ता प्रक्रिया सफल भयो।

‘हामीले आफ्नै पसिना र लगानीमा यात्रीलाई साकार पारेका थियौं। यो हाम्रा लागि भर्खर जन्मिएको बच्चा जस्तै थियो,’ असिमले भने, ‘तर जब यसलाई आधिकारिक मान्यता दिलाउन सरकारी कार्यालय धाउन थाल्यौं। तब थाहा भयो कि प्रक्रिया कति जटिल र समय खाने रहेछ। महिनौं सम्म एउटै काम अड्किरह्यो, कतैबाट पनि सहयोग मिलेन। यस्तो लाग्थ्यो कि हाम्रो सबै प्रयास खेर गइरहेको छ।’

असिमको यो भनाइले नेपालमा नयाँ आविष्कार वा उत्पादनलाई अगाडि बढाउन कति चुनौतीपूर्ण छ भन्ने यथार्थ चित्रण गर्छ। नेपालमै इलेक्ट्रिक बाइक उत्पादन गर्ने प्रोजेक्टलाई ‘मेड इन नेपाल’का रुपमा स्वीकार्न लामो समयसम्म कठिन भएको उनको भोगाइ छ।

त्यसैले आफ्नो सपनालाई थाँती राख्ने अन्य यात्रीलाई विश्राम दिने सोच समेत पलायो असिमको मनमा। चारै तिर निराशा नै निराशा फैलिएको अवस्थामा उनको लागि नयाँ बाटो खुल्यो – बल्लतल्ल यात्री दर्ता प्रक्रिया सफल भयो।

यात्री दर्ता पछि निराशाका बादलहरु चिर्दै नयाँ ऊर्जाका साथ युवा इन्जिनियर र डिजाइनरको टोली जुट्यो उत्पादनमा। असिम सुनाउँछन्, ‘सुरुमा एउटा बनाउने थियो। अहिले नेपालका सडकमा ८० वटा गडुिरहेका छन्।’

स्थानीय उत्पादनकै बल

नेपालमा अहिले विभिन्न विदेशी ब्रान्डका बाइक र गाडीहरु एसेम्बल हुन्छन्। ती एसेम्बल हुने प्लान्टहरुमा आउने पाटपूर्जीहरु विदेशी नै हुन्छन्। यात्री भने यो प्रणाली तोड्न चाहन्छ। त्यसैले नेपालमै उत्पादनको चरणमा रहेको स्कुटरमा स्थानीय उत्पादनकै बल खोजिरहेको छ यात्री। बाइकको मुख्य प्लेटफर्म मानिने ‘च्यासिस’ समेत अहिले बुढानीलकण्ठकै प्लान्टमा बनिरहेको छ। यात्री बाइकमा समेत नेपालमै उत्पादित केही पार्ट्सहरु प्रयोग भएका थिए। स्कुटरमा त्यो संख्या ८० प्रतिशत पुगेको छ।

‘हाम्रो सबै उत्पादन इनहाउस छन्। ८० प्रतिशत पार्ट्स यहीँ हाम्रै इन्जिनियर र प्राविधिकहरूले बनाएका हुन्। कतिपय यहीँ प्लान्टमा बनिरहेका छन्। रबरका पार्ट्सहरु नेपालकै स्थानीय उत्पादक कम्पनीहरुसँग सहकार्य गरेर बनाइरहेका छौं। अरु केही पार्टसहरु पनि नेपालभित्रै आउटसोर्सिङ गरेका बनाइरहेका छौं,’ उनले बुढानीलकण्ठको प्लान्टमा भइरहेको उत्पादन देखाउँदै भने।

पार्टस नेपालमै बनाउन केही सहज होला। तर विद्युतीय सवारीमा चाहिने ब्याट्री भने नेपालमै उत्पादन सम्भव भइसकेको छैन। यद्यपि, यात्रीले चीनबाट ब्याट्री सेल ल्याएर नेपालको भूबनावटमा चल्ने अवस्थाबारे अध्ययन गरिरहेको छ।

आउने सालको असारसम्म प्रोजेक्ट २ को डेमो तयार हुन्छ। त्यसपछि ‘स्टेकहोल्डर’ हरुलाई प्रिजेन्टेसन गरेर उत्पादनमा जाने तयारी हुनेछ।

‘ब्याट्रीको सेल यहाँ ल्याएर मोड्युल बनाउँछौं। अनि गाडीको पावर आवश्यकता अनुसार मिलाएर प्याक तयार गर्छौं। यो हाम्रै जनशक्तिले हुने काम हो,’ असिमले आफ्नो टिम चिनाउँदै भने।

यही वर्ष आउने तयारीमा स्कुटर

यात्री बाइक सडकमा गुडिरहँदा प्लान्टमा धमाधम स्कुटरको डिजाइन र प्लेटफर्ममा काम भइरहेको छ। असिम २०८२ भित्रै स्कुटर सर्वसाधारणका लागि उपलब्ध गराउने गरि काम गरिरहेको बताउँछन्।

असिमको भनाइ अनुसार अहिले निर्माणको फेजमा रहेको स्कुटर यही वर्षको मध्यतिर आउने तयारीमा छ। अहिले ६० जना इन्जिनियरहरुको ग्रुपले उक्त काम गरिरहेको छ। ‘हामीले बनाएको डिजाइन बैशाखतिर प्रिजेन्टेसन हुनेछ। जसलाई स्टेक होल्डरहरुसँग बसेर छलफल हुनेछ,’ असिमल भने।

आउने सालको असारसम्म प्रोजेक्ट २ को डेमो तयार हुन्छ। त्यसपछि ‘स्टेकहोल्डर’ हरुलाई प्रिजेन्टेसन गरेर उत्पादनमा जाने तयारी हुनेछ।

यात्रीको स्कुटर नेपालको ‘टेरेन्ट’ सुहाउँदो हुने असिम बताउँछन्। ‘यो लन्च गर्नुअघि हामीले यसलाई नेपालको सडकमैत्री बनाउने प्रयास गरिरहेका छन्। यहाँ बनाएपछि यहाँको बाटोमा एड्जस्ट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने।

यात्रीको यात्राले नेपालको अटोमोबाइल उद्योगका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ। आयातमा निर्भर अटो क्षेत्रलाई उत्पादनमुखी बनाउन सकिन्छ भनेर नेपाली इन्जिनियर र डिजाइनर पनि सक्षम छन् भन्ने यो प्रोजेक्टले देखाउने असिमको विश्वास छ। प्लान्टमा देखिएको सक्रियता र काम गर्ने शैलीले पनि ‘यात्री’ साँच्चै नै ‘मेड इन नेपाल’ को बलियो उदाहरण बन्न सक्छ भन्ने देखाउँछ।