BIZMANDU
www.bizmandu.com

नेपाली कम्पनी विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन पाउने कानुनी व्यवस्था गर्न सुझाव

२०८१ चैत्र २९

नेपाली कम्पनी विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन पाउने कानुनी व्यवस्था गर्न सुझाव
नेपाली कम्पनी विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन पाउने कानुनी व्यवस्था गर्न सुझाव


काठमाडौं। नेपालका कम्पनी विदेशी स्टक एक्सचेन्जमा सूचीकृत हुन पाउने कानुनी व्यवस्था गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ।

Tata
GBIME
NLIC

आयोगले विदेशी पुँजी बजारमा पहुँच विस्तार हुन सके नेपाली कम्पनीहरूलाई ठूलो लगानी परियोजना बनाउन सजिलो हुने भन्दै आयोगले यस्तो व्यवस्था गर्न सुझाव दिएको हो।

विदेशी स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर जारी गर्नका लागि कम्पनी ऐन संशोधन गर्नुपर्छ। आयोगले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने कार्यविधि बनाएर लागू गर्न सुुझाव दिएको छ।

‘पब्लिक कम्पनीको रूपमा स्थापना भई नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच विस्तार गर्न कम्पनी ऐनमा संशोधन गरी नेपालको धितोपत्र बजारमा सूचीकृत भएका कम्पनीहरूले तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था गर्ने,’ आयोगले भनेको छ, ‘नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्ने कार्यविधी तर्जुमा गरी लागू गर्ने।’

भारत, पाकिस्तान र बंगलादेशको उदाहरण पेस गर्दै आयोगले मुलुकको सार्वभौम साख मूल्यांकन हुन थालेकोले विदेशी पुँजी बजारमा नेपाली कम्पनीलाई प्रवेश गर्न दिनुपर्ने बताएको हो।

‘नेपाली उद्यमीले नवीकरणीय ऊर्जा उत्पादन, सूचना प्रविधि, निर्यातमूलक अत्याधुनिक उद्योगहरूमा लगानी बढाउँदै लागेकाले पुँजी विस्तार आवश्यक छ, जसका लागि स्वदेशी पुँजी बजार पर्याप्त छैन। साथै कतिपय नवीकरणीय ऊर्जा परियोजनाका लागि विदेशी मुद्रा आवश्यक पर्ने हुन्छ। जसका लागि विदेशी पूँजी बजारमा पहुँच विस्तार गर्न आवश्यक देखिएको छ। विद्यमान कानूनले विदेशी पुँजी बजारको प्रयोग गर्ने गरी इक्विटी जारी गर्न खुला छैन,’ पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले पेस गरेको प्रतिवेदनमा उल्लेख छ।

नेपाली कम्पनीहरूले अहिले विकसित पुँजी बजारमा सेयरको प्राथमिक निष्कासन गर्न पाउँदैनन्। कम्पनीहरुले विदेशी धितोपत्र बजारमा सूचीकृत हुँदा व्यापार विस्तारका लागि समेत अन्तर्राष्ट्रिय संजालसँग सम्बन्ध स्थापित हुने आयोगको विश्लेषण छ।

सेवा वा वस्तु निर्यात गर्ने ठूला कम्पनीहरू विदेशी पुँजी बजारमा स्थापित हुँदा आफ्नो व्यापार विस्तार गर्न कम्पनीलाई सहज भएर यसले मुलुकको निर्यात आधार समेत विस्तार गर्न सक्ने आयोगको निष्कर्ष छ।

विदेशी स्टक एक्सचेन्जमा सूचीकृत खुला गर्दा आन्तरिक पुँजी बजार पनि सबल हुने र विदेशमा सूचीकृत हुने नेपाली कम्पनीहरू स्थानीय धितोपत्र बजारमा पनि सूचीकृत हुने भएकाले यहाँको बजारमा समेत स्थायित्व आउने आयोगको भनाइ छ।