काठमाडौं। बिहिबार बिहान परेको वर्षाका कारण काठमाडौं उपत्यकामा वायु प्रदूषण निक्कै कम भयो। जसले गर्दा हवाई उडानमा अघिल्ला दिनमा जस्तो समस्या भएन।
बिहीबार बुद्ध एयरले १४६ वटा उडान अवतरण र ४ वटा माउन्टेन फ्लाइट, यतिले ५६ वटा उडान अवतरण र एउटा माउन्टेन फ्लाइट तथा श्री एयरलाइन्सले ४४ वटा उडान अवतरण र एउटा माउन्टेन गरे। अरु कम्पनीले पनि आफ्नो क्षमता र तालिका अनुसार उडान गरे।
तर, वायु प्रदूषणका कारण अघिल्ला दिनहरुमा भने वायुसेवा प्रदायक कम्पनीहरुले ठूलो नोक्सानी सहनुपर्यो। वायु प्रदूषणले हवाई उडान सञ्चालनमा बाधा पुग्दा वायु सेवा प्रदायक कम्पनीहरुले एक सातामै करोडौं रुपैयाँ आम्दानी गुमाउनु परेको छ। आन्तरिकतर्फ एक सातामा ५०० भन्दा बढी उडान अवतरण रद्द भएको छ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चैत २० देखि २६ गतेसम्म आन्तरिकतर्फ १४ सय ३२ वटा उडान अवतरण भएको छ। यो सामान्य अवस्थाको तुलनामा २७ प्रतिशत कम हो।
सामान्य अवस्थामा त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ दैनिक २८० वटा उडान अवतरण हुने गरेकामा वायु प्रदूषणले गर्दा ३६ प्रतिशतसम्म उडान रद्द भएको तथ्यांक छ। चैत २५ गते जम्मा १७९ उडान अवतरण हुन सक्यो।
चैत २० देखि २६ गतेसम्म त्रिभुवन विमानस्थलमा भएको आन्तरिकतर्फको उडान विवरण
गते | डिपार्चर | अराइभल | कुल उडान अवतरण | कुल यात्रु संख्या |
चैत २० | १०१ | ९७ | १९८ | १२०४८ |
चैत २१ | १०८ | १०२ | २१० | १२५१२ |
चैत २२ | १११ | १०८ | २१९ | १३३५६ |
चैत २३ | १११ | ८५ | १९६ | ११५२० |
चैत २४ | ११६ | ११८ | २३४ | १३३८६ |
चैत २५ | ९२ | ८७ | १७९ | १०७६७ |
चैत २६ | १०३ | ९३ | १९६ | ११३०८ |
जम्मा | ७४२ | ६९० | १४३२ | ८४८९७ |
वायु सेवा प्रदायक कम्पनीहरुले एकातिर उडान रद्दका कारण आम्दानी गुमाए भने अर्कातिर जहाज आकाशमा होल्ड गर्नुपर्दा ठूलो क्षति बेहोर्नुपर्यो।
बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले वायु प्रदुषणका कारण जहाज होल्ड गर्नुपर्दा इन्धन अनावश्यक खर्च भएको बताए। ‘यसपालिको वायु प्रदूषणले हामीलाई ठूलो क्षति पुर्यायो। एकातिर उडान रद्द गर्नुपरेकाले आम्दानी नै भएन। अर्कातिर उडान भएका जहाज भिजिबिलिटीको समस्याले आकाशमा होल्ड गर्नुपर्दा इन्धनमा धेरै खर्च भयो,’ जोशीले भने।
उनका अनुसार जहाज औसतमा आधा घण्टा होल्ड गर्नुपरेको थियो। केही दिन अगाडि पोखराबाट काठमाडौं आएको जहाज त्रिभुवन विमानस्थलमा १ घण्टा १७ मिनेटमा अवतरण भएको थियो। जबकि यो रुटको हवाई दुरी जम्मा २५ मिनेटको हो।
वायु प्रदूषणले त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित भएको चैत २० भन्दा अगाडि देखि नै हो। वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले वायु प्रदूषणका कारण दुई साताभन्दा बढी समय हवाई यातायात प्रभावित भएकाले आफूहरुले ठूलो क्षति बेहोर्नुपरेको बताए।
‘वायु प्रदूषणका कारण टीआइ मात्र होइन, पोखरा, लुक्ला, रामेछाप लगायत धेरै गन्तव्यमा दुई साता तालिका अनुसार उडान हुन सकेन। कतिपय गन्तव्यमा त एउटै उडान भएन। जसले गर्दा हामीले ठूलो आम्दानी गुमाउनुपर्यो,’ कार्कीले भने, ‘आम्दानी कति गुम्यो भन्ने चाहिं कुन गन्तव्यमा कति उडान रद्द भयो र कति यात्रुले टिकट काटेका थिए भन्नेमा भर पर्छ। हामीले त्यो सबै हिसाब निकालेका छैनौं।’
त्रिभुवन विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) र इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली अन्तर्गत उडान अवतरण हुँदै आएकामा वायु प्रदूषणले भिजिबिलिटी कम भएका दिनमा आइएफआर प्रणाली बढी लागू गरियो। मौसम सफा रहँदा भीएफआर प्रणाली लागू गरिन्छ।
भीएफआर प्रणालीमा प्रति घण्टा ३३ वटा उडान अवतरण हुन्छ। आइएफआर प्रणालीमा प्रति घण्टा १२ वटाभन्दा उडान हुँदैन। दुवै प्रणाली लागू गरेको अवस्थामा प्रति घण्टा २८ वटा उडान अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ।
भीएफआर प्रणालीमा उडान गर्दा आइरहेका र उडानको तयारीमा रहेका जहाज सहजै देख्न सकिन्छ। आइएफआर प्रणालीमा जहाज सहजै देख्नै मुस्किल हुन्छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले वायु प्रदूषणका कारण कुनै दिन ४० प्रतिशतसम्म उडान रद्द भएको बताए। ‘चैत २५ गते हाम्रो १८ वटा उडान रद्द भयो। जसले गर्दा एकातिर आम्दानी त गुम्यो नै, यात्रुहरु पनि रिसाए। उडान रद्द हाम्रो कारण भएको थिएन,’ उनले भने।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार तुवाँलोले आकाश ढाक्दा खासगरी पोखरा र भरतपुरमा धेरै उडान प्रभावित भएको थियो। ‘तुँवालो लाग्दा भिजिबिलिटी कम भएपछि आइएफआरमा उडान गर्नुपर्यो। भिजिबिलिटी कम हुँदा उडानमा जबर्जस्ती गर्ने कुरा पनि भएन। त्यसैले यसपालि लामो समय उडान रद्द गर्नुपर्ने अवस्था आयो,’ शेर्पाले भने।
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक करिब १०० उडान अवतरण हुँदै आएकामा तुवाँलोका कारण एउटा पनि उडान रद्द नभएको कार्यालयले जनाएको छ।