काठमाडौं। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार कारोबार मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य एकै दिन तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो। बुधबार कारोबार मूल्य प्रति तोला १ लाख ७५ हजार ४ सय रुपैयाँ थियो। अघिल्लो दिनका तुलनामा बुधबार तोलामा २ हजार रुपैयाँ बढेर उक्त कारोबार मूल्य कायम भएको थियो।
गत साता सुनको मूल्य बढ्दा १ लाख ८० हजार ३ सय रुपैयाँमा पुगेको थियो। त्यसयता भाउ घट्दै प्रति तोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा आइपुगेको थियो।
बिहीबार चाँदीको भाउ पनि बढेको छ। ६५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय रुपैयाँ भएको छ। ५ रुपैयाँ बढेर बुधबार प्रति तोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ३१२९.८६ डलर पुगेको छ। चाँदी प्रति औंस ३१.२३ डलर छ। बुधबार सुन प्रति औंस ३०१८.६७ डलर र चाँदी प्रति औंस २९.९२ डलर थियो।