गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरात शीर्षमा उक्लिएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रन बनायो। गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ८२ रन बनाउँदा शाहरुख खान र जोस बट्लरले समान ३६ तथा राहुल तेवातियाले अविजित २४ रन बनाए।
बलिङतर्फ राजस्थानका तुषारदेश पाण्डे र महीश थिकशनाले समान २ विकेट लिँदा जोफ्रा आर्चर र सन्दीप शर्माले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थान १९.२ ओभरमा १५९ रनमा समेटियो। राजस्थानका लागि शिमरन हिटमायरले ५२, सञ्जु सामसनले ४१ तथा रियन परागले २६ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रननै जोडेनन्।
बलिङमा गुजरातका प्रसिद कृष्णाले ३ विकेट लिँदा राशिद खान र साइ किशोरले समान २ तथा मोहम्मद सिराज, अश्रद खान तथा कुलवन्त खेज्रोलियाले समान १ विकेट लिए। जितसँगै ५ खेलबाट ८ अंक बनाएको गुजरात तालिकाको शीर्षमा छ। अर्कोतर्फ समान खेलबाट ४ अंक बनाएको राजस्थान तालिकाको सातौँ स्थानमा छ।
आज रोयल च्यालेन्जर्स बेङ्ग्लुरु र दिल्ली क्यापिटल्स बेङ्ग्लुरुमा भिड्नेछन्।