काठमाडौं। व्यवसायमा संकुचन र बढ्दो लागतले प्रतिफल घट्दा वाणिज्य बैंकहरूको सेयरमा आकर्षण घट्दै गएको छ। लगानीकर्ताको रोजाइमा नपरेकाले बजार बढ्दा समेत बैंकिङ इन्डेक्स घटेको छ।
सेयर बजारमा वाणिज्य बैंकहरू कारोबारको शीर्ष सूचीमै अटाउन छोडेका छन्। सेयर बजारमा कुनै बेला ब्लुचिप मानिएका स्ट्यान्डर्ड चाटर्ड, एभरेष्ट र नबिल बैंकको सेयर अहिले प्रति कित्ता ४००/६०० रुपैयाँमा कारोबार भइरहेको छ।
‘लोक्याप कम्पनीले बजार चलाइरहेका छन्। थोरै सेयर भएका अरु ननफण्डामेन्टल कम्पनीको मूल्य जसरी बढ्ने गरेको छ, बैंकहरूमा त्यो कसैले गर्न सक्दैन,’ मर्चेन्ट बैंकर सौगात पन्तले भने, ‘अर्को भनेको बैंकहरूको पफर्मेन्स अहिले डाउन छ। उनीहरूले ऋण लगानी बढाउन सकिरहेका छैनन्, तरलता थुप्रिएको छ। बैंकहरूमा पैसा थुप्रिंदा अर्थतन्त्रको साइकलमै असर परेको छ।’
बैंकहरूको व्यवसाय ३ वर्षदेखि सुस्त छ। कर्जाको माग नहुँदा उनीहरूले आक्रामकरुपमा व्यवसाय बढाउन सकेका छैनन्। अर्कातिर ऋण लगानी गरेको रकम समेत समयमै असुली गर्न सकस छ।
नयाँ ऋण विस्तार नहुने र लगानी गरेको कर्जा बिग्रिंदै गएपछि बैंकहरू दोहोरो स्ट्रेसमा छन्। व्यवसाय खस्किएका कारण मुनाफा साँघुरिएको अवस्था छ। चालु आर्थिक वर्ष ८ महिनामा बैंकहरूको मुनाफा २.८१ प्रतिशतले मात्र बढेको छ। यो वृद्धि पनि कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण सम्भव भएको हो।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्रराज रेग्मीले देशको आर्थिक अवस्थामा सुधार नहुँदा त्यसको असर बैंकहरूको ब्यालेन्स सिटमा परेको बताए।
‘बैंकहरूको खराब कर्जा बढेको छ। एनपीएल बढेपछि नियामकीय प्रावधान अनुसार प्रोभिजनिङ बढाउनुपर्छ। यसले बैंकको नाफा बढ्न सकेको छैन,’ उनले भने, ‘रिटर्न अन इक्विटी घटिरहेको छ। बैंकको पुँजी बढ्यो तर आम्दानी त्यस अनुसार बढ्न सकेन। अहिले पनि इन्डष्ट्रिले सोचेजस्तो ग्रोथ गर्न सकेको छैन। व्यवसाय घटेपछि प्रतिफल बढाउन सक्ने कुरा भएन।’
यो वर्ष ८ महिनामा २० मध्ये ९ वटा बैंकको नाफा खुम्चिएको छ।
स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाट बैंकहरूको पुँजी वृद्धिले बजारमा सप्लाई बढेको र प्रतिफल घट्दै गएका कारण लगानीकर्ताको आकर्षण नदेखिएको बताए।
वाणिज्य बैंकको सेयर मूल्य
बैंक | २०८१ चैत २७ | एक वर्षको उच्च मूल्य | एक वर्षको न्युन मूल्य |
नबिल | ४८६ | ७०० | ४१९ |
स्ट्यान्डर्ड चार्टर्ड | ६३४ | ७९० | ५११ |
हिमालयन | २३५ | ३१२.१ | १६७.१ |
नेपाल एसबिआई | ४१४ | ५४९ | २६८.६ |
एभरेष्ट | ६०९ | ७९० | ४९२.१ |
एनआईसी एसिया | ३७६ | ५७३ | ३४१.६ |
माछापुच्छ्रे | २२६ | २९५ | १५७.८ |
कुमारी | २०८ | २७२.९ | १२९.६ |
सिद्धार्थ | २८४ | ३८० | २१४ |
सानिमा | २९९ | ३८२ | २२८ |
एनएमबि | २५१ | ३०० | १६२ |
प्रभु | २०९ | २९७ | १३२ |
ग्लोबल आइएमई | २२० | ३०२ | १७० |
सिटिजन्स | २११ | २९६ | १५२.५ |
प्राइम कमर्सियल | २५३ | ३२९ | १८६.९ |
कृषि विकास | २९२ | ४२८.४ | २२०.५ |
नेपाल | २४७ | ३३७.५ | १९५.१ |
लक्ष्मी सनराइज | २१७ | ३०० | १४३.६ |
नेपाल इन्भेष्टमेन्ट | २१३ | २९५ | १४७.४ |
‘बैंकको पुँजी बढी भएपछि सेयर सप्लाई बढ्यो। लाभांश वितरण क्षमता घट्दै गएकाले सर्टटर्म लगानी गर्नेहरू जता बढिरहेको छ त्यतै जाने नै भए। लङटर्म इन्भेष्टमेन्ट गर्नेहरू समेत अन्यत्र गए,’ उनले भने, ‘बजारमा सेक्टर मुभको ट्रेन्ड छ। जुन स्टक चलेको छ, लगानीकर्ता त्यतैतिर गएको देखिन्छ। बैंकिङमा कुनै एउटा स्टक चलेको भए समग्र इन्डक्स माथि आउँथ्यो। तर, त्यो देखिएको छैन।’
अहिले आधा दर्जन बैंकहरू पुँजीकोष दबाबमा छन्। पुँजी कोष दबाबमा रहेकाहरूले थप लगानी बढाउन ऋणपत्र निष्कासन गरिरहेका छन्।
चालु वर्ष दोस्रो त्रैमाससम्म बैंकहरूको खराब कर्जा औसतमा ४.७३ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा बैंकको प्रोभिजनिङ बढेर नाफामा असर परेको छ।
‘फण्डामेन्टल्ली नेगेटिभ मात्रै भइरहेको छ। रिटर्न अर्निङ, पीइ रेसियो घटिरहेको छ। क्यापिटल एडुकेसी टाइट छ। बैंकको एनपीएल कम भए पनि पहिले जस्तो प्रतिफल दिन सक्ने देखिंदैन। अहिले अपरेटिङ कस्ट धेरै छ,’ पन्तले भने, ‘यस्तो अवस्थामा लगानीकर्ताले बैंकको सेयर नरोज्नु अस्वाभाविक होइन।’
वाणिज्य बैंकको लाभांशको अवस्था
व्यावसाय बिग्रिएका कारण वाणिज्य बैंकहरूले २ वर्षदेखि लगानीकर्तालाई चित्त बुझाउन सकिरहेका छैनन्। दुवै वर्ष १० वटा बैंकले मात्र लाभांश वितरण गरे। गत वर्षको नाफाबाट लाभांश दिएका १० मध्ये ५ बैंकले एकल अंकमा भन्दा धेरै दिन सकेनन्।
चालु वर्षको नाफाबाट त लगानीकर्ताले झनै आशा गरेका छैनन्। बैंकको रिटर्न घट्दै गएका कारण सेयर मूल्यमा असर देखिएको जानकारहरू बताउँछन्।
‘केही वर्ष पहिले र अहिले बैंकको फण्डामेन्टल सूचक हेर्दा धेरै फरक छ। खासगरी रिटर्न धेरै खस्किएको छ। त्यही भएर सूचक अनुसार बैंकको अहिलेको सेयर अन्डर प्राइस छ भन्ने होइन,’ पन्तले भने, ‘बैंकले खराब कर्जा घटाए पनि वितरणयोग्य नाफा ऋणात्मक छ। त्यसैले अहिले नै बैंकको सेयर मूल्यमा सुधार आउँछ भन्ने होइन।’
कतिपय जानकारहरू अर्थतन्त्रको अहिलेको चक्र नफेरिए बैंकको वित्तीय अवस्थामा सुधार आउने सम्भवना देख्दैनन्।
‘चौथो त्रैमासमा सरकारले खर्च बढाएपछि बजारमा तरलता आउँछ। त्यसले आर्थिक गतिविधि चलायमान बनाउँछ। अर्को कुरा सेबोनले सार्वजनिक निष्कासनलाई फटाफट स्वीकृति दियो भने अर्थतन्त्रको चक्र फेरिन्छ। त्यसपछि केही सकारात्मक हुन्छ कि भन्ने आशा गर्न सकिन्छ,’ एक विश्लेषकले भने।