काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज पोखरा थण्डर्स र धनगढी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ।
२ संस्करणको उपविजेता धनगढीको नजर शीर्षस्थानमा छ। दुई खेल खेल्दा एउटामा जित र अर्कोमा बराबरी खेल्दै धनगढीले ४ अंक बनाएको छ।
आजको खेलमा जित निकाल्न सके शीर्षस्थानको एफसी चितवनसँग अंक बराबरी हुनेछ। चितवनले ३ खेलबाट ७ अंक बनाएको छ।
अर्कोतर्फ लगातार २ खेलमा पराजय ब्यहोरेको पोखराले तेस्रो खेलमा काठमाडौं रेजर्सलाई हराउँदै पहिलो जित निकालेको थियो। आजको खेलमा जित निकाल्न सके पोखरा दोस्रो स्थानमा उक्लनेछ।
धनगढीसँग कृतिश रत्न छुन्जु, देवेन्द्र तामाङजस्ता प्रभावशाली नेपाली खेलाडी तथा ओलावाले अफीज र अहमद हिजाजीजस्ता प्रभावशाली विदेशी खेलाडी छन्। अर्कोतर्फ पोखरासँग आयुष घलान, सुदिल राई जस्ता नेपाली र जोए ऐडो, स्टेफेन बिनोङजस्ता विदेशी प्रभावशाली खेलाडी छन्।
खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ। रंगशालामा टिकट आइएमई पे र खल्ती एपबाट लिन सकिनेछ।
टिकट शुल्क साधारणतर्फ ३ सय र भीआइपीतर्फ ६ सय रुपैयाँ तोकिएको छ। विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ।