काठमाडौं। हङकङमा आजबाट सुरु भएको चार देशीय टी-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। मङककस्थित मिसन रोड ग्राउण्डमा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाउँदा शाहजैब जमिलले ३१ बनाए। त्यस्तै, मुजिव-उर-रहमान २० र मोहम्मद इर्साद १८ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललितनारायण राजवंशीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ ओभरबाँकी छँदा २ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाउँदा आशिफ शेखले ३३ रन बनाए। त्यस्तै, कप्तान रोहित पौडेल ३७ र बसीर अहमद ३० रनमा अविजित रहे। कतारका मुजिब-उर-रहमानले दुई विकेट लिए।
नेपालले दोस्रो खेलमा भोली कुवेतसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित कतार, कुवेत र हङकङको सहभागिता छ।