BIZMANDU
www.bizmandu.com

सेयर बजारमा खराब वित्तीय अवस्थाका कम्पनीको मूल्य उचाल्न हकप्रद सेयर ‘ट्रिगर’

२०८१ चैत्र २७

सेयर बजारमा खराब वित्तीय अवस्थाका कम्पनीको मूल्य उचाल्न हकप्रद सेयर ‘ट्रिगर’
सेयर बजारमा खराब वित्तीय अवस्थाका कम्पनीको मूल्य उचाल्न हकप्रद सेयर ‘ट्रिगर’


काठमाडौं । सेयर बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीहरुका लागि मूल्य उचाल्न हकप्रद सेयर निष्कासन ‘ट्रिगर’ बनेको छ। व्यापार बढाउन नसकेर नाजुक सूचक भएका कम्पनीहरुको मूल्य हकप्रद निष्कासनको प्रस्ताव अघि उचालिएको छ।

Tata
GBIME
NLIC

खराब कर्जा ४३.६९ प्रतिशत पुगेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य माघ दोस्रो सातादेखि लगातार बढेर प्रति कित्ता २०६० रुपैयाँसम्म पुग्यो। बैंकले पुँजी कोष कामय गर्न सकेको छैन। यो वर्ष पुससम्म ५२ लाख रुपैयाँ नोक्सानीमा छ।

सबै सूचक नाजूक अवस्थामा पुगेपछि नारायणी डेभलपमेन्ट नेपाल राष्ट्र बैंकको सिघ्र सुधारात्मक कारबाहीमा छ। तैपनि कम्पनीको हकप्रद सेयरलाई लिएर बैंकको सेयर मूल्य दोब्बर बढीले उचालियो।

सोमबार सेयर बजारमा ३३.३३ अंकको ओरालो आउँदा मूल्य बढ्ने कम्पनीको शीर्ष सूचीमा बराही हाइड्रोपावर,बुटवल पावर र सिन्धु विकास बैंक रहे। बजारमा सबै सूचक घट्दा मूल्य बढ्नेमा हकप्रद सेयर निष्कासनको तयारीमा रहेका कम्पनीहरु हुन।

बाराही हाइड्रोको सेयर मूल्य सर्वाधिक ७.४६ प्रतिशतले बढेर प्रति कित्ता १११२ रुपैयाँ पुग्यो। कम्पनी हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमतिको पर्खाइमा छ।

बुटवल पावर कम्पनीले शुक्रबार एफपीओको प्रक्रिया रद्ध गरेर हकप्रद सेयर निष्कासनको निर्णय गरेपछि मूल्य बढ्न सुरु भयो। कम्पनीको मूल्य ६.७५ प्रतिशतले बढेर प्रति कित्ता ४२४ रुपैयाँ पुगेको छ।

हकप्रद सेयर निष्कासन अघि दोस्रो बजारमा मूल्य उचालिने सूचीमा अरु कम्पनी पनि छन्।

सेयर बजारका जानकारहरु हकप्रद सेयरमा भइरहेको अहिलेको प्रावधानलाई कम्पनीको मूल्य बढाउने गलत अभ्यासको रुपमा लिन्छन्।

‘नेपालमा राइट सेयर भनेर कानूनकै गलत व्याख्या गरियो। नियामक निकायले नै अकुसल बजारमा त्यसको लागि बाटो तयार गरिदियो। कानूनमा सुधार नगर्दा कम्पनीको दोस्रो बजारमा मूल्य बढाउने प्रवृत्ति बन्यो,’ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टले भने, ‘राइट एउटा डेरिभेटिभ उपकरण हो। नयाँ मान्छे आए कम्पनीका विद्यमान सेयरधनीको स्वामित्व नसकियोस भनेर उनीहरुलाई सेयर संख्या अनुसार दिइएको अधिकार हो। उसले त्यो सेयर किन्ने वा नकिन्ने कुरा बजार भ्यालु हेरेर तय गर्छ। तर, यहाँ सिधै मूल्य समायोजन गरेर दोस्रो बजारमा साधारण सेयर जतिकै १०० रुपैयाँमा किनेको हकप्रदको मूल्य पुग्ने भएपछि चलखेल गर्ने काम मात्रै भयो।’

नारायणीले नेपाल धितोपत्र बोर्ड(सेबोन) बाट गत वर्ष चुक्ता पुँजीको शतप्रतिशत २६ करोड २४ लाख रुपैयाँको हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको थियो। तर, बैंकका आधारभूत सेयरधनीले समयमै रकम हाल्न नसक्दा सर्वसाधारणमा जारी गर्न सकेको छैन।

सेबोनले सर्त तोकेर स्वीकृति दिएकामा बैंकले समयमै पूरा गर्न नसकेपछि रोकिएको हकप्रद सेयर निष्कासनको प्रक्रिया पुन:अघि बढाएको छ। बैंकले हकप्रद निष्कासन अघि बढाएपछि बजार ‘बियरिस’ हुँदा पनि लगातार मूल्य बढ्यो।

पुस १६ गते प्रति कित्ता मूल्य ९३६ रुपैयाँ रहेकामा केही महिनामै दोब्बरभन्दा बढीले उचालिएको सेयर भाउ अहिले प्रति कित्ता १८१५ रुपैयाँ छ।

हकप्रद सेयर निष्कासनको प्रस्ताव अघि नै सेयर बजारमा मूल्य उचालिएका कम्पनी

कम्पनीसोमबार सेयर मूल्यएक वर्षयताको उच्च सेयर मूल्यएक वर्षयताको उच्च सेयर मूल्य न्यून
नारायणी डेभलपमेन्ट बैंक१८१५२०६०४००
ग्रीन डेभलपमेन्ट बैक१२८२२१०१३५८
सिन्धु विकास बैंक१०९६१४८२३३६
हिमालयन रि-इन्स्योरेन्स१०४०११५६५१२
नेपाल रि-इन्स्योरेन्स१३४७१३८९६३०
सिटी होटल८३४११६८५६२
कालिञ्चोक दर्शन१०८४१३८१७५२
नेपाल वेयर हाउजिङ९५११२६४६७८
बाराही हाइड्रोपावर१०८५१२७५४४९
बुटवल पावर कम्पनी४२४५३६२८४
स्रोत: नेप्से

हकप्रद सेयरको प्रस्ताव सहित चैत मसान्तमा साधारण सभा बोलाएको ग्रीन डेभलपमेन्ट बैंकको मूल्य प्रति कित्ता १२८२ रुपैयाँ छ। बजारमा बैंकको मूल्य हकप्रद प्रस्ताव आउनु अघि नै उचालिएर घट्न सुरु भएको छ।

१:१.१० अनुपातमा ६३ करोड ७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको ग्रीन डेभलपमेन्टको सेयर मूल्य प्रति कित्ता ३५८ रुपैयाँबाट उचालिएर माघमा २ हजार १ रुपैयाँ पुग्यो।

हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरेको सिन्धु विकास बैंकको सेयर मूल्य प्रति कित्ता ३३६ बाट १ हजार ४८२ रुपैयाँसम्म पुग्यो। अहिले १ हजार ९६ रुपैयाँमा कारोबार भइरहेको छ। बैंकले चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको छ। बैंकको अहिले ५५ करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी छ।

सिन्धु विकास बैंकको खराब कर्जा ९.०६ प्रतिशत छ। पुँजी कोष अनुपात ८.२२ प्रतिशत छ। वितरणयोग्‍य नाफा  ३१ करोड ८९ लाख रुपैयाँ ऋणात्मक भएकाले सेयरधनीलाई प्रतिफल दिन सक्ने अवस्थामा बैंक छैन। तैपनि हकप्रद निष्कासनको हल्लाले बैंकको सेयर मूल्य वित्तीय सूचकसँग तालमेलै नहुने गरि उकालो लागिरहेको छ।

नेपाल राष्ट्र बैंकले न्यूनतम पुँजी नपुगेकाहरुलाई ‘स्पेसल रिक्वेयरमेन्ट’ तोकेर हकप्रद सेयर निष्कासनको अनुमति दिइरहेको छ। पँजी बढाउने तयारीमा रहेका तिनै डेभलपमेन्ट बैंकको सेयर मूल्य हकप्रद सेयर निष्कासनको विषयलाई लिएर दोस्रो बजारमा अस्वाभाविक रुपमा उचालिएको छ।

सेयर बजारमा नारायणी, ग्रीन र सिन्धु विकास बैंक मात्रै होइन हकप्रद सेयर निष्कासनकै हल्लाले केही अघि हिमालयन रि-इन्स्योरेन्स र नेपाल-रिको उचालिए।

नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी कम्पनीको सूचकभन्दा बजार हल्लामा चल्ने गरेकाले हकप्रद निष्कासन भनेपछि मूल्य उचालिने गरेको बताउँछन्।

‘नम्बर अफ सेयर बढेपछि लगानीकर्तालाई प्रतिफल दिन कम्पनीले राम्रो पर्फर्म गर्नुपर्छ। विश्वभरीको अभ्यास हेर्दा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने तयारी गर्दा बजारमा त्यसको मूल्य घट्छ तर हाम्रोमा उल्टो हुन्छ,’ उनले भने, ‘हाम्रो बजार अस्थिर छ। स्पेकुलेटिभ मार्केटको ट्रेन्ड नै यही हो। हल्लाको भरमा चलेपछि कम्पनीको नाफाघाटा र प्रतिफलसित सरोकार हुँदैन जसरी हुन्छ चलखेल गरेर मूल्य बढाउने काम मात्रै भएको देखिन्छ।’

आइपीओ निष्कासनबाट नोक्सानी थेग्न नसकेर हकप्रद सेयर बिक्रीको प्रक्रिया अघि बढाएका सिटी होटल, कालीन्चोक दर्शन र नेपाल वेयरहाउजिङको मूल्य उच्च छ।

हकप्रद सेयर निष्कासन गर्दा कम्पनीको पुँजी थपिन्छ। त्यसपछि कम्पनीले पुँजीको आकार अनुसार व्यापार बढाउनुपर्ने हुन्छ। पुँजी बढ्दा व्यापार बढाउन नसकेपछि लगानीकर्तालाई दिने प्रतिफल घट्छ। सिद्दान्तत् जसको असर बजारमा देखिनुपर्ने जानकारहरु बताउँछन्। तर, सार्वजनिक निष्कासन गरेदेखि लगानीकर्तालाई लाभांश वितरण नगरेका कम्पनीकै मूल्य बढ्ने कम्पनीहरुको लामो सूची छ।

समायोजनपछि दोस्रो बजारमा कारोबार भइरहेको मूल्यकै हाराहारिमा मूल्य पुग्ने भएकाले त्यसैलाई हेरेर हकप्रद सेयर निष्कासनअघि नै मूल्य उचालिने गरेको जानकारहरु बताउँछन्। ‘१०० रुपैयाँमा किनेको कुनै कम्पनीको हकप्रद सेयर बजारमा कारोबारमा आएपछि समायोजनका कारण केही घट्छ। तर त्यसपछि पुन:हकप्रदको मूल्य त्यति नै पुग्ने गरेकाले लगानीकर्तामा बढ्छ भन्ने छ,’ एक विश्लेषकले भने,’त्यसैले कम्पनीको हकप्रद सेयर निष्कासन अगाडि नै बजारमा कम्पनीको मूल्य उचाल्ने काम हुने गरेको हो।’