काठमाडौं। हङकङ, नेपाल, कतार र कुवेत सम्मिलित चार देशीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको सोमबार बिदाइ भएको छ। सिरिज जित्ने नेपाली टोलीको लक्ष्य छ।
यही सिरिजबाट नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दैछन्। प्रधानमन्त्री कपपछि पाँच दिन मल्लले नेपाली टोलीलाई भैरहवामा प्रशिक्षण दिएका थिए।
मोन्टी देशाइँको करार अवधि सकिएपछि क्यानले अस्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ललाई प्रशिक्षकमा अनुबन्ध गरेको छ। उनी नेपाल आएका छैनन्। त्यही कारण हङकङ टूरका लागि ज्ञानेन्द्रले प्रशिक्षकको जिम्मेवारी पाएका हुन्।
मल्लले यसअघि नेपाल ‘ए’ को मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
मुख्य प्रशिक्षकसँग सम्पर्कमै
मल्लले उमेर समूहबाट खेल्दै राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पाउनुलाई गौरवको रुपमा लिएका छन्।
‘यू १९ खेलाडी हुँदै यहाँसम्म पुग्नु ठूलो अवसर र गर्वको कुरा हो,’ मल्लले भने, ‘सबैजना सँगै बसिरहेको, देखिरहेको फेस भएर होला मैदानमा जाँदा नौलो लाग्दैन जस्तो लाग्छ।’
यो सिरिजलाई उनले दवाब भन्दा पनि जिम्मेवारीको रुपमा लिएको बताए। ‘जिम्मेवारी देशलाई राम्रो गर्ने हो खेलाडी भएर, कप्तान भएर या प्रशिक्षक भएर। यसैलाई निर्वाह गर्ने हो,’ उनले भने।
हालको राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई उनले कप्तानी गरेका छन्। खेलाडीसँग सँगै खेलेकाले अहिले प्रशिक्षक बन्दा भूमिकामात्र फरक परेको उनी बताउँछन्।
यस्तोमा प्रशिक्षकको जिम्मेवारी अझ सहज हुने उनको बुझाइ छ। ‘धेरै खेलाडी अनुभवी छन्। कुन अवस्थामा के गर्नुपर्ने भन्ने थाहा छ। खाली कुन अवस्थामा के गर्ने भन्ने र टिम भएर कसरी अघि बढ्ने भन्ने हो। मुख्य कुरा नेपाली खेलाडी लिगेसी फाइटरको हिसाबले बनाएका थियौं, त्यसलाई अघि बढाउने हो,’ मल्लले भने।
नेपाली टोलीका अन्तरिम प्रशिक्षक मल्ल मुख्य प्रशिक्षक ल्याउन केही ढिला भएको मान्छन्।
मुख्य प्रशिक्षकसँग उनी सम्पर्कमा छन्। ‘उहाँसँग कुरा भएको थियो। अहिले म इन्जार्ज भएकाले ‘फिल फ्रि’ हुनु। आफ्नो निर्णय लिनु। यु नो बेटर। पछि आएर के गर्ने भन्ने कुरा म हेरिरहेको छु। अहिले टिम जसरी छ त्यसरी अघि बढ्दा हुन्छ भन्नुभएको छ,’ प्रशिक्षकसँगको संवाद उदृत गर्दै उनले भने।
स्टुआर्ट नेपालको प्रशिक्षक बन्दा आफूले यू १९ विश्वकप खेल्न जाँदाको घटना सम्झिए। ‘मलाई अहिले पनि याद छ। हामी यू १९ को म्याच खेल्न जाँदा एउटा बुक आउने गर्थ्यो। त्यसमा चाहीँ यू-१९ पहिला खेलेको सुपरस्टार भन्दा उहाँको पनि नाम थियो। उहाँ प्रशिक्षकमा आउँदा त्यो रिकल भयो,’ मल्लले भने।
रोहित उत्साहित
कप्तान रोहित पौडेल स्टुअर्ट मुख्य प्रशिक्षकमा अनुबन्ध भएपछि उत्साहित छन्। ‘राम्रो लागिरहेको छ। अनुभवी प्रशिक्षक हुनुहुन्छ। श्रीलंका, बंगलादेशमा काम गरिसक्नु भएको छ। उहाँको प्रशिक्षणमा अमेरिकाले पनि विश्वकपमा राम्रो गरेको थियो,’ पौडेलले भने, ‘उहाँसँग भेट भइसकेपछि सम्बन्ध कस्तो बन्छ त्यो महत्वपूर्ण हुन्छ।’
नयाँ प्रशिक्षककलाई यहाँको क्रिकेट कल्चर बुझ्न समय लाग्ने भएकाले नेपालले प्रशिक्षकबाट दीर्घकालीन फाइदा लिनुपर्ने उनी बताउँछन्। ‘उहाँलाई अलि टाइम दियो भने राम्रो हुन्छ जस्तो लाग्छ। लङरनमा उहाँको योगदान नेपाल क्रिकेटलाई बन्यो भने राम्रो आउँछ,’ उनले भने, ‘सुरुमा आउने बित्तिकै एक दुई सिरिजमा चाहीँ रिजल्ट ओरियन्ट हुन उहाँलाई पनि प्रेसर फिल हुन्छ। क्रिकेटिङ कल्चरमा भिज्न पनि समय लाग्न सक्छ।’
जितको लक्ष्य
हङकङमा खेल्ने तीनवटै देश आईसीसीको वरीयतामा नेपालभन्दा पछाडिका टोली हुन्। टी-२० वरीयतामा नेपाल १७औँ स्थानमा छ। हङकङ २३, कुवेत २४ र कतार २८औँ स्थानमा छन्।
कप्तान पौडेल सिरिज जित्ने लक्ष्य लिएर हङकङ जान लागेको बताउँछन्। नेपाली टोली करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन लागेको हो।
हङकङ जाने टोलीमा सन्दीप लामिछाने, अनिलकुमार साहजस्ता केही प्रभावशाली खेलाडी छैनन्। प्रधानमन्त्री कपमा प्रभावशाली प्रदर्शन गरेका युवा खेलाडीहरुले अवसर पाएका छन्।
‘प्रतियोगितामा जित्नकै लागि जाने हो। केही नयाँ खेलाडीलाई अवसर दिनसके बेन्च स्ट्रेन्थ बढ्नेछ। सबैको जोडतोड विश्वकप छनोटमा छ,’ मल्लले भने।
नेपालले बुधबार कतार, बिहीबार कुवेत र शनिबार हङकङविरुद्ध खेल्नेछ। शीर्ष दुई टोलीले १३ अप्रिलमा फाइनल खेल्नेछन्।
नेपाली टोली
रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शहाब आलम, नन्दन यादव, रिजन ढकाल, गुल्सन झा।