BIZMANDU
www.bizmandu.com

एनएसएल आधा सकिँदा चितवन बलियो, संकटमा बुटवल : खेलतालिका र रेफ्रीको आलोचना

२०८१ चैत्र २५

एनएसएल आधा सकिँदा चितवन बलियो, संकटमा बुटवल : खेलतालिका र रेफ्रीको आलोचना
एनएसएल आधा सकिँदा चितवन बलियो, संकटमा बुटवल : खेलतालिका र रेफ्रीको आलोचना


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को लिग चरणका आधा खेल सकिएका छन्। चैत १६ गते सुरु भएको लिगमा १० खेल सकिएका छन्। लिग चरणमा अब ११ खेल बाँकी छन्। त्यसपछि प्लेअफका तीन र फाइनल खेल बाँकी रहनेछन्।

Tata
GBIME
NLIC

लिगमा सोमबार कुनै खेल छैन। मंगलबार काठमाडौं रेजर्स र बुटवल लुम्बिनी एफसी आमनेसामने हुनेछन्।

बलियो स्थितिमा चितवन, संकटमा बुटवल

लिगमा चितवन एफसी शीर्षस्थानमा छ। प्रशिक्षक नवीन न्यौपानेकै शब्दमा भन्दा चितवन कम्फर्ट जोनमा छ। तीन खेल खेल्दा दुई जित र एक बराबरी नतिजा निकाल्दै चितवनको खातामा कूल ७ अंक छ। साविकको उपविजेता धनगढी एफसी बाहेक बाँकी सबै टोलीले तीन/तीन खेल खेलिसकेका छन्।

साविक विजेता ललितपुर सिटी एफसी १ जित र दुई बराबरीसहित ५ अंक बनाएर दोस्रो स्थानमा छ। एउटा जित र अर्को बराबरी खेलेको धनगढी २ खेलबाट ४ अंक बनाउँदै तेस्रो स्थानमा छ।

चौथो र पाँचौ स्थानका झापा एफसी र पोखरा थण्डर्सको समान ३ अंक छ। तर, यी दुई टोलीको अंक हात पार्ने शैली भने फरक छ। झापाले तीनवटै खेलमा बराबरी खेल्दै ३ अंक हात पारेको हो भने विवादस्पद बनेका सुरुवाती दुई खेलमा हार ब्यहोरेको पोखराले तेस्रो खेलमा जित निकाल्दै तीन अंक हात पारेको हो।

दुई बराबरी र एक हार ब्यहोरेको काठमाडौं रेजर्स २ अंकसहित छैटौं स्थानमा छ। त्यस्तै तीन खेल खेल्दा दुई हार र १ बराबरी खेलेको बुटवल लुम्बिनी तालिकाको पुछारमा छ।

प्रतिस्पर्धामा बुटवल लुम्बिनी र धनगढी एफसीका खेलाडी। तस्बिर: एनएसएल

दर्शक तान्न नसकेको लिग

पहिलो र दोस्रो संस्करण तामझामका साथ आयोजना गरेको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले तेस्रो संस्करणमा प्रचारप्रसारलाई खासै प्राथमिकता दिएन। जसले गर्दा लिगका खेल दर्शकविहीन जस्तै बनेका छन्।

उद्घाटन खेलमा सांगीतिक प्रस्तुति पनि हुँदा रंगशालामा क्षमताको करिब एक चौथाइ जति दर्शक आए पनि त्यसपछिका खेलमा प्यारापिट रित्तोजस्तै देखिएको छ।

प्रशिक्षक न्यौपने दर्शकको उपस्थितिमा खेल्नु र दर्शकबिना खेल्नुमा ठूलो अन्तर हुने बताउँछन्। यसपालि मार्केटिङ फितलो भएको उनको बुझाइ छ।

अघिल्लो संस्करणमा पनि लिग चरणमा दर्शक नआएकामा प्लेअफ सुरु भएपछि रंगशाला भरिएको थियो।

खाली रंगशाला। तस्बिर: एनएसएल

लिग आधाउधी पुगेपछि फुटबल फ्यानलाई तान्न आयोजकले ठूलो घोषणा गरेको छ, ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोसलाई नेपाल ल्याउने। ब्राजिल र रियल मड्रिडका लेजेन्ड तथा सर्वकालीन महान लेफ्टब्याक मध्येका कार्लोस नेपाल आए एनएसएललाई ठूलो बुस्ट पुग्ने विश्वास छ।

‘होम एण्ड अवे गर्दा बेस्ट हुन्छ जस्तो लाग्छ। केन्द्रीकृत पनि भयो। लोकल प्रतियोगितालाई हेर्दा पनि बाहिरका जिल्लामा धेरै क्रेज देखिन्छ,’ चितवनका प्रशिक्षक न्यौपाने भन्छन्, ‘क्लबलाई पनि भनिरहेका छौं। धेरैभन्दा धेरै दर्शक ल्याउन सक्नुपर्‍यो।’

अघिल्लो वर्ष पनि आयोजकले चेल्सीका लेजेन्ड डिडियर ड्रोग्बालाई नेपाल ल्याउने घोषणा गरेकामा त्यो गफमा सीमित भएको थियो।

रेफ्रीमाथि प्रश्नदेखि धम्साधम्सी र कारवाहीसम्म

एनएसएलमा पहिलो संस्करणदेखि नै रेफ्रीको भूमिकामा प्रश्न उठ्दै आएको छ। पहिलो संस्करणमा विराटनगर सिटी एफसीका प्रशिक्षक यान लले रेफ्रीको भूमिकामा प्रश्न उठाएकामा यसपालि पोखराका प्रशिक्षक सुमन श्रेष्ठ र चितवनका प्रशिक्षक न्यौपानेले ‘यति ठूलो प्रतियोगिता गरेपछि रेफ्रीमा किन हेलचेक्राइँ?’ भनी जवाफ खोजेका छन्।

‘हाइलेभल खेल गराउँदा रेफ्री जहाँ पुग्नुपर्ने त्यहाँ पुग्न सकिरहेका छैनन्। सबै रेफ्री भुँडी लागेजस्ता छन्,’ न्यौपानेले भने, ‘यसले पनि निर्णय प्रकृयमा फरक पारिरहेको छ।

रेफ्रीको निर्णयमा खुलेर असन्तुष्टी पोखेका अर्का प्रशिक्षक हुन पोखरा थण्डर्सका श्रेष्ठ। ‘चित्त नबुझ्ने खालको कुरा देखियो। यो स्तरको प्रतियोगिता भइरहेको छ। यसमा रेफ्री पनि त्यही अनुसार भइदिँदा राम्रो हुन्थ्यो,’ उनले भने, ‘सानो गल्तीले गर्दा जुन लगानी र रेपुटेसन क्लबमा छ त्यसमा असर पर्छ। सानो एउटा गल्तीले क्लबलाई २/३ करोड घाटा हुन सक्छ।’

तर, हेलचेक्राइँमा क्लबहरु पनि पछि छैनन्। न व्यवस्थापन नै छ। एफसी चितवन र पोखरा थण्डर्सबीचको खेल १८ मिनेट ढिला गरी सुरु भयो। यसको कारण थियो, विदेशी खेलाडीको श्रम स्वीकृति नहुनु।

चितवनका पाँच विदेशी खेलाडीको श्रम स्वीकृति नभएको भन्दै पोखराले विरोध गर्‍यो। तर, चितवनले ती खेलाडीलाई नै मैदानमा उतार्‍यो। त्यसको जवाफमा पोखराले पनि प्रकृया पूरा नगरेका आफ्ना खेलाडी स्टेफेन बिनोङलाई प्यारापिटबाट बोलाएर मैदानमा पठायो।

पोखरा र ललितपुरको खेलमा रंगशालामा देखिएको घम्साघम्सी।

अर्को खेलमा त पोखराका सुन्दर थापा प्रवेशको अधिकार नै नभएको क्षेत्रमा पुगेर व्यवस्थापकमाथि हातपातमै उत्रिए। एनएसएलले उनलाई यो संस्करणभरीका लागि प्रतिबन्ध लगाउनुका साथै क्लबलाई ५० हजार जरिवाना तिराएको छ।

तालिकाले खेलाडी हत्तु

फिफाको नियम हेर्ने हो भने एउटा खेल खेलेपछि अर्को खेल खेल्नुअघि कम्तीमा ४८ घन्टाको समय आवश्यक हुन्छ। खेलाडीको रिकभरीका लागि पनि यो समय आवश्यक छ। तर, एनएसएलमा त्यो नियम पालना गरिएको छैन।

एनएसएलका केही क्लबले एक दिन बिराएर खेल खेल्नुपर्ने तालिका छ। पोखराले एक दिन बिराएर खेल खेलिसक्यो भने अब धनगढी र झापाको पनि त्यस्तै तालिका छ। यसले गर्दा खेलाडीलाई रिकभरको समय नपुगेको प्रशिक्षकहरुले बताउँदै आएका छन्।

काठमाडौंविरुद्ध बल अघि बढाउँदै पोखराका खेलाडी। तस्बिर : एनएसएल

त्यसमाथि शहीद स्मारक ‘बी’ डिभिजन लिग पनि काठमाडौंमा जारी छ। एनएसएलमा केही खेलाडी यस्ता छन् जो ‘बी’ डिभिजन लिग र एनएसएल दुबैतिर छन्।