काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक लहडमा नल्याएको बताएका छन्।
नेपाल पर्यटन बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले नियमन कार्यलाई प्रभावकारी बनाउन विभाजन आवश्यक रहेको जिकिर गरे। कानुन अनुसार नियामक निकायलाई आवश्यक आयस्रोतको व्यवस्था हुने पाण्डेले बताए।
‘कानुन निर्माण पूर्व सबै अध्ययन गरेर अगाडि बढ्न प्रतिबद्ध छौँ। अनिल सिन्हाको नेतृत्वमा छुट्टै उच्चस्तरीय समिति बनाएका छौँ, उनले भने, ‘हवाई नीतिमा के थपघट गर्ने विषयमा छलफल हुँदैछ।’
वैशाखमा पर्यटन सम्मेलन
मन्त्रालयले वैशाखमा बृहत् पर्यटन सम्मेलन आयोजना गर्ने भएको छ। प्रदेश सरकार, निजी क्षेत्रलगायतको सहभागितामा विशेष सम्मेलन गर्ने तयारी रहेको मन्त्री पाण्डेले बताए।
सम्मेलनमा मुलुकको पर्यटन क्षेत्रका समस्या सम्बोधनबारे छलफल हुने उनले बताए।