पोखरा। प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्तालाई लक्षित गरी ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब’ गण्डकीको स्थापना गरेको छ।
उक्त हबको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले गरेका छन्।
कार्यक्रममा रानाले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्धनमा सहयोग पुर्याउने र वित्तीय पहुँचमा सहजता ल्याउने उनले बताए।
हबमार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ।
उपभोक्ताका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुने बताइएको छ।
कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।