BIZMANDU
www.bizmandu.com

‘नो बल’मा  रनआउट हुँदा नेपाल १ रनले पराजित, हारिसकेको अफगानिस्तानले मार्‍यो बाजी

२०८१ चैत्र २४

‘नो बल’मा  रनआउट हुँदा नेपाल १ रनले पराजित, हारिसकेको अफगानिस्तानले मार्‍यो बाजी
‘नो बल’मा  रनआउट हुँदा नेपाल १ रनले पराजित, हारिसकेको अफगानिस्तानले मार्‍यो बाजी


काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीले अफगानिस्तानविरुद्धको सिरिज गुमाएको छ। तीन खेलको सिरिजमा आज नेपालमाथि नाटकीय जित निकालेसँगै लगातार दुई खेलमा विजयी अफगानिस्तानले एक खेल अगावै सिरिज जितेको हो।

Tata
GBIME

आइतबार मुलपानी क्रिकेट मैदानमा जारी सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो।

अफगानिस्तानका लागि कप्तान मेहबुब खानले सर्वाधिक ५८ रन बनाउँदा रुहुल्लाह अरबले २७ तथा उजैरुल्लाह नियाजाइले १९ रन बनाए।

बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिँदा सिब्रिन श्रेष्ठ र विपिन शर्माले समान २ तथा अभिषेक तिवारी र अपराजित पौडेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल १६७ रनमा समेटियो। नेपालका लागि शाहिल पटेलले सर्वाधिक ६४ रन बनाउँदा अभिषेक तिवारीले २४ तथा ध्रुव सुनारले २१ रन बनाए।

अन्तिम ओभरमा भने ड्रामा चल्दा अफगानिस्तानले १ रनले जित आफ्नो पक्षमा पार्‍यो।

अन्तिम ओभरको ड्रामा

नेपाली क्रिकेट टोलीलाई ११ रनको आवश्यकता थियो अन्तिम ओभरमा। १५८-९ को अवस्थामा रहेको नेपाललाई १६९ रनमा पुग्नु पर्ने थियो।

क्रिजमा रहेका ध्रुव सुनारले अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गरे। दोस्रो बल डट गयो। तेस्रो बलमा फेरि चौका प्रहार गरे। चौथो बलमा मेहबुब खानले सुनारलाई बोल्ड आउट गर्नु अघि नै अम्पायरले नो बलको सिग्नल दिइसकेका थिए। नेपालले थप एक रन त पायो नै ‘फ्रि हिट’को अवसर पनि पायो।

लगभग खेल गुमिसकेको अवस्थामा विकेटकिपर खालिद अहमदजाइले दिमाख घुमाए। उनले क्रिज छाडिसकेका ध्रुवको विकेट लिएपछि नेपाल अलआउट हुन पुग्यो। यो नेपाली खेलाडीले पत्तै पाएनन्।

यस्तोमा खेल अफगानिस्तानले आफ्नो पक्षमा पार्‍यो। नेपाल र अफगानिस्तानबीचको तेस्रो खेल बुधबार हुनेछ।