BIZMANDU
www.bizmandu.com

थाइल्याण्ड भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०८१ चैत्र २३

थाइल्याण्ड भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता काठमाडौँ, २३ चैतः प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बैङ्ककमा आयोजित छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन सम्पन्न गरी आज स्वदेश फर्कनुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिइ शनिबार स्वदेश फर्किएका छन्।

Tata
GBIME
Nepal Life

उनलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अंगका प्रमुखले स्वागत गरे।

प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदूत स्वागतका लागि विमानस्थल पुगेका थिए। त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गरेका थिए। थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले शुक्रबार बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गरेका थिए। त्यसअघि आइतबार उनी शिखर सम्मेलनमा सहभागी सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक भएका थिए।

शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गरेका थिए। प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृत राई समेत स्वदेश फर्किएका छन्।