त्रिवेणी (नवलपरासी)। नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ। नवलपुर (बर्दघाट सुस्ता पूर्व नवलपरासी)मा पर्ने क्षेत्रमा उक्त संख्यामा पुल निर्माणको काम सकिएको विस्तार योजनाका सूचना अधिकारी शिव खनालले बताए।
गैंडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र निर्माणको काम बाँकी छ। यस खण्डमा २५ मिटर लम्बाइ सम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ।
लामो पुलमा जय श्री र बेल्डियाका दुई वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए। यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन्। ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी छ।
दुई सय मिटरभन्दा लामा पुल गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुल निर्माणको कामसमेत अघि बढिरहेको छ। ती पुलमध्ये दुम्किबासमा रहेको विनयी खोलाको पुरानो पुल भाँचिएको कारण अहिले उक्त स्थानका नयाँ निर्माण गर्न लागिएको छ। विनयी खोलामा अहिले सवारी डाइभर्सनबाट सञ्चालनमा रहेको र पानी परे समस्या हुनसक्ने भएकाले नयाँ पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए।
‘दुई सय मिटर लामा तीन वटा पुलमध्ये विनयी खोलामाथि निर्माण हुन लागेको पुल निर्माणमा केन्द्रित छौं। उक्त स्थानमा पुरानो पुल भाँचिएकाले नयाँ पुल चाँडै निर्माण गर्न लागेका छौं,’ उनले भने, ‘ढिलोमा जेठ पहिलो हप्तामा नयाँ पुलको काम सकेर सवारी चलाउने लक्ष्य छ।’
विनयी खोलाको चार वटा स्पानमा काम गर्न बाँकी छ। त्यसका लागि बिमहरू तयार भएकाले लगेर राख्ने र लगत्तै ढलानको तयारी गरिने खनालले बताए। उनका अनुसार यो आर्थिक वर्षमा चोरमारामा रहेको गिरुवारी खोला र अरुणखोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुनेछन्।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ। निर्धारित समयमा योजना पुरा नभएपछि गत साउनमा २०८२ साउन ८ सम्मका लागि तेस्रो पटक म्याद थप भएको छ।
अहिलेको कामको गतिले थपिएको समयावधिमा पनि योजना पुरा हुने देखिँदैन। नारायणगढ-बुटवल सडक विस्तार योजनाका अनुसार ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको ‘सर्भिस लेन’ हुनेछ। दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ। रासस