BIZMANDU
www.bizmandu.com

ट्रम्पको कर नीतिले आइफोनको मूल्य ४३% सम्म बढ्न सक्ने, उत्पादन चीनबाट स्वदेश फर्किएला?

२०८१ चैत्र २२

ट्रम्पको कर नीतिले आइफोनको मूल्य ४३% सम्म बढ्न सक्ने, उत्पादन चीनबाट स्वदेश फर्किएला?
तस्बिर : एपी।

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीतिका कारण आइफोनको मूल्य ४३ प्रतिशतसम्म महँगिने भएको छ।

Tata
GBIME

विश्वभरका देशहरूमाथि नयाँ कर लगाउने ट्रम्पको घोषणासँगै आइफोनको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

अधिकांश आइफोन चीनमा निर्माण भइरहेका छन्। राष्ट्रपति ट्रम्पले चिनियाँ उत्पादनमाथि ५४ प्रतिशत भन्सार लगाइदिएका छन्। जसका कारण आइफोनको मूल्य बढ्न गएर आइफोनको मूल्य बढ्ने चेतावनी दिइएको छ।

बिहीबार मात्रै अमेरिकी सेयर बजारमा एप्पलको सेयर मूल्य ९.३ प्रतिशतले घटेको थियो। यो सन् २०२० मार्च पछिकै सर्वाधिक गिरावट हो।

एप्पलले वार्षिक २२ करोडभन्दा बढी थान आइफोन बिक्री गर्दै आएको छ। आइफोनको सबैभन्दा ठूलो बजार अमेरिका, चीन र युरोप हो।

आइफोन १६ सिरिजको सस्तो मोडल ८०० डलरमा लन्च भएको थियो। नयाँ करको दरपछि अब आइफोन १६ को मूल्य ११४२ डलर पुग्ने विश्लेषण एजेन्सी रोसेनब्लाट सेक्युरिटिजले गरेको छ। अर्थात् ४३ प्रतिशतले आइफोन १६ को मूल्य बढ्ने समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

यस्तै, ६.९ इन्चको डिस्प्ले भएको आइफोन १६ प्रो म्याक्स (१ टीबी स्टोरेज) को मूल्य १६०० डलर रहेकामा अब २३०० डलर पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

फ्रेब्रुअरीमा लञ्च भएको आइफोन १६ ई सबैभन्दा सस्तो मोडल हो। कर नीतिका कारण ६०० डलर पर्ने यो फोनको मूल्य बढेर ८५६ डलर पुग्ने देखिएको छ।

रोसेनब्लाट सेक्युरिटिजका अनुसार ट्रम्प प्रशासनले लागू गर्न लागेको नयाँ करको दर मान्दा एप्पलले आइफोनको मूल्य ४३ प्रतिशत बढाउनुपर्छ।

सेक्युरिटिजले करका दर पालना गर्दा आइफोनमा ४३ प्रतिशतसँगै एप्पल वाचमा पनि ४३ प्रतिशत, आइप्याडमा ४२ प्रतिशत, म्याक र एयरपडमा ३९/३९ प्रतिशत मूल्य बढाउनुपर्छ।

राष्ट्रपति ट्रम्पले पहिलो कार्यकालमै चीनबाट अमेरिका निर्यात हुने वस्तुमा विभिन्न प्रकारका कर लगाउँदै अमेरिकी कम्पनीहरूलाई आफ्नो प्लान्ट अमेरिका फिर्ता ल्याउन वा नजिकको राष्ट्र मेक्सिकोमा स्थापना गर्न दबाब दिएका थिए। त्यतिबेला उनले यस्ता अमेरिकी कम्पनीहरूलाई करमा छुट वा सहुलियत दिएका थिए। यो पटक भने कुनै छुटको घोषणा गरिएको छैन।

एप्पलले भने अझैसम्म नयाँ करले पार्ने असरबारे औपचारिक धारणा सार्वजनिक गरेको छ। यदि चीनबाट एप्पलको उत्पादन भियतनाम वा भारत सिफ्ट गर्न परे पनि त्यहाँसमेत महँगो ट्यारिफ लगाइएको छ। भियतनालाई ४६ प्रतिशत र भारतलाई २६ प्रतिशत भन्सार शुल्क लगाइएको छ।