BIZMANDU
www.bizmandu.com

५ वर्षे कार्यकाल सकेर आज गभर्नर अधिकारी बाहिरिँदै, पत्रकारलाई भेटेपछि कर्मचारीलाई सम्बोधन

२०८१ चैत्र २२

५ वर्षे कार्यकाल सकेर आज गभर्नर अधिकारी बाहिरिँदै, पत्रकारलाई भेटेपछि कर्मचारीलाई सम्बोधन
५ वर्षे कार्यकाल सकेर आज गभर्नर अधिकारी बाहिरिँदै, पत्रकारलाई भेटेपछि कर्मचारीलाई सम्बोधन

काठमाडौं। पाँच वर्षे कार्यकाल पुरा गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आजबाट औपचारिक रुपमा बिदा लिँदैछन्।

Tata
GBIME

कोभिड-१९ लकडाउन सुरु भएपछि चैत २४ गते एकदमै चुनौतीपूर्ण अवस्थामा गभर्नरको कार्यकाल सुरु गरेका उनी अर्थतन्त्रका समस्याहरु (फरक खालका) कै बीच बिदा हुन लागेका हुन्।

उनले आज बिहान साढे ११ बजे पत्रकारहरुसँग कुराकानी गर्ने कार्यक्रम राखेका छन्। त्यहाँ उनले आफूले पाँच वर्षमा के-के गरे भन्ने बारेमा जानकारी गराउने छन्।

त्यसपछि राष्ट्र बैंकका उपत्यकामा भएका सम्पूर्ण कर्मचारीहरुसँग साढे १२ बजे बालुवाटार परिसरमै बिदाइ लिने छन्।

कस्तो रह्यो उनको कार्यकाल ?

५ वर्षे कार्यकाल रोलरकोस्टरजस्तै उतारचढावपूर्ण रह्यो उनको र अर्थतन्त्रका लागि। कार्यभार सम्हाल्दा सम्हाल्दै उनले सरकारले दिन नसकेको राहत निजी क्षेत्रलाई दिनु पर्‍यो। उनको सहयोगले उद्योग व्यवसायहरु लयमा फर्किए।

तर, उनले ऋण र तरलताका माध्यमबाट गरेको सहयोगको चरम दूरुपयोग भयो। त्यसैको उपज घरजग्गादेखि सेयर कारोबारसम्म र उपभोगदेखि मोजमस्तीसम्म बढेर अर्थतन्त्रमा समस्या चुलियो।

उनले सहयोग गरुन्जेल उद्यमी, व्यवसायी, सेयर तथा रियलस्टेटकर्मी सम्मले मौद्रिक नीतिलाई बजेटभन्दा राम्रो भनेर ‘वाहवाही’ गरे। जब त्यही सहयोगबाट समस्या सुरु भयो अनि उनको आलोचना व्यापक रुपमा हुन थाल्यो।

निजी क्षेत्र, आमसंचारले उनको गलत नीतिहरुको विरोध गरेपछि त्यहाँ स्वार्थ समूह पनि मिसिएर विरोधको स्वरलाई ठूलो बनाइदियो। स्वार्थ समूहले आफू अनुकूल विरोधको स्वरलाई प्रयोग मात्र गरेन गभर्नर अधिकारीलाई बर्खास्त गर्न सरकारलाई लगायो। अदालतबाट पुनर्स्थापना भएपछि योग्यताको विवाद झिकेर मुद्दा दायर गर्‍यो।

आर्थिक वृद्धि सुस्त चलिरहेको थियो नै ऋणको माग बढ्न सकेको थिएन। यहीबीचमा वित्तीय क्षेत्र पनि समस्यामा पर्न थाल्यो। केही संस्था समस्याग्रस्त भएभने अधिकांश संस्थाको खराब ऋण दुई वर्षमा तीन गुणासम्मले बढ्यो। मुलुक सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिस्ट’ मा पनि पर्‍यो।

तर, उनको कार्यकालमा केही महत्वपूर्ण काम भएका छन्। अघिल्ला गभर्नरले छाडेर गएको ‘बिग मर्जर’ लाई तार्किक निष्कर्समा पुर्‍याए।

‘फिनटेक’ लाई जीवनशैली नै बनाइदिए। हातमा पैसा बोक्ने होइन, मोबाइलबाटै भुक्तानी गर्नेको जमात ठूलो भइदियो। अन्तर्देशीय भुक्तानीको पनि प्रबन्ध मिलाए। उनकै पहलमा ‘भीसा’ र ‘मास्टर’ भनेजस्तै नेपालको आफ्नै कार्डको सुरुवात भयो।

अधिकारी आर्थिक विवादमा मुछिएनन्। उनको यो शैलीले उनको छवी राम्रो देखिए पनि राष्ट्र बैंकका कर्मचारीहरु अहिले पनि भाडाको घरमा बस्नु परेको छ किनभने निर्माण भइसकेको भवनको बाँकी खरिदको काम उनले अगाडि बढाएनन्, नयाँ गभर्नरलाई छाडिदिए।

बाहिर थाहा नपाइने तर आन्तरिक रुपमा महसुस हुने थुप्रै काम उनले गरे। धेरै विषयहरु राष्ट्र बैंकले तजबिजीमा गर्दै आएको थियो, त्यसलाई कार्यविधि तथा निर्देशिकाहरु बनाएर दस्तावेजीकरण अधिकारीले गरेका छन्।

चालु पुँजी (क्रमिक रुपमा लागू गरेको भए यसको सफल कार्यान्वयन हुन्थ्यो) कर्जाको मार्गदर्शनले उनलाई आलोचित बनायो। कोभिड-१९का बेलामा सीमाभन्दा बढी दिनका लागि उक्साएका उनले पछि मार्गदर्शन बनाएर व्यापक कटौती गरे।

यसपछि सेयर बजारमा प्रत्यक्ष हस्तक्षेप गर्ने अभीप्राय उनको देखियो। अन्य हिसाबले सेयर धितो ऋणमा राष्ट्र बैंकको लगाम थियो नै उनले रकमै तोकेर ४/१२ करोडको नीति लागू गरे। यसले उनलाई सबैभन्दा बढी आलोचित बनायो। जाँदाजाँदै पनि उनले विद्युतीय निजी सवारी साधनको डाउनपेमेन्ट रकम बढाउने निर्णय गरिदिए। 

गभर्नरका रुपमा पाँच वर्षे कार्यकालमा थुप्रै उतारचढावबीच उनका राम्रा र नराम्रा कामहरुको समीक्षा आगामी दिनमा हुनेछ।