काठमाडौं । टोखामा २५ करोड रुपैयाँ विदेशी मुद्रा बरामद भएकै दिन नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी दीपक थापाले सम्हालेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महानिरीक्षकलाई फेला परेको रकमको बारेमा जानकारी दिएको थियो। त्यतिखेर नै थापाले नारायण पौडेल समूहको नाम लिएका थिए।
अर्थात् रकम बरामद भएसँगै पौडेल प्रहरी अनुसन्धान सूचीमा थिए। ‘सरले पहिले नै त्यो ग्रुपको नाम दिएर केही भेटिन्छ कि हेर्नु भन्नुभएको थियो,’ एक प्रहरी अधिकृतले सुनाए।
पौडेल समूह सुन, हुन्डी, रक्तचन्दन कारोबारीमा रहेको प्रहरीलाई परिचित छ। पौडेल यसअघि पनि यस्ता अपराधमा समातिएका व्यक्ति हुन्।
तर, पक्राउ परेका चालक कासाङ लामाले चिनियाँ नागरिकले दिएको भन्दै प्रहरीलाई झुक्क्याउन खोजेका थिए। प्रहरी चालकको बयानमा विश्वास गर्ने पक्षमा थिएन। आइजीपीले नै ‘क्लू’ दिएपछि प्रहरीले पौडेल समूहको संलग्नतामा आशंका गर्यो।
प्रहरीले घटना सार्वजनिक गरेपछि अनुसन्धानको लागि मानिस र बरामद सामान राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो। त्यसपछि विभागले थप अनुसन्धान अगाडि बढाएको हो। ठूलो मात्रामा रकम भेटिएपछि संसददेखि सामाजिक संजालमा समेत आवाज उठ्यो। राजस्व अनुसन्धान विभागलाई ‘प्रेसर’ बन्यो यो केस।
प्रहरीले नै विभागलाई पौडेल समूहको नाम समेत दिएको थियो। अनुसन्धानमा विभागसँग सहकार्य गर्न चाहेको थियो प्रहरीले। किनकि प्रहरीले ‘क्लू’ भेटेको थियो। तर, विभागले आफ्नो साख जोगाउने रणनीति अनुसार आफ्नै इन्टेलिजेन्स र प्रहरीले दिएको क्लूलाई फलो गरेको थियो। त्यसको केही दिनपछि पौडेलसम्म पुग्ने प्रमाण भेटिएको विभागका महानिर्देशक चण्डीराज घिमिरेले बताए।
विभागले कुसाङको फोनको सीडीआर हेरेको थियो। जसमा नारायण पौडेलको नम्बर देखियो। यसले विभाग र प्रहरीको अनुसन्धानलाई थप ‘न्यारोडाउन’ गर्यो। त्यसपछि नियन्त्रणमा लिएको ट्रकभित्र कुसाङको चेक बुक भेटिएको थियो। खातामा अस्वाभाविक रकम देखिएको थियो। यही चेक बुकको कडीले उनी पौडेलसम्म पुगेको भेटियो। एकपछि अर्को प्रमाणले पौडेल यो मुद्दामा खिच्दै गए।
त्यसपछि विभागको टोलीले पौडेल केन्द्रित भएर अनुसन्धान गर्यो। ट्रक राखेको ग्यारेज, विभिन्न ठाउँमा टोलीले पुगेर थप प्रमाण संकलन गर्यो। पौडेलको बैंक खाता, सम्पत्ति, कारोबारलाई समेत विभागले हेर्यो। जसमा अस्वाभाविक रकम देखियो। त्यस्तै ट्रकमा रकम राखेको भिडियो समेत बरामद भएको छ। जसमा पौडेल जोडिएका छन्। उनको मोबाइल लोकेसन पनि त्यही क्षेत्रमा देखिएको थियो।
‘२५ करोडको मालिक भन्न मिल्ने अवस्था देखिएको छ। अस्वाभाविक रूपमा रकम छ। अहिलेलाई मुख्य उनीभन्दा फरक पर्ने अवस्था छैन। सबै कुरा हेरेपछि हामीले सार्वजनिक गरेका हौं,’ विभागका महानिर्देशक घिमिरेले भने।
पौडेल भने प्रहरीले रकम बरामद गरेदेखि नै मोबाइल अफ गरेर फरार थिए। विभागको टोलीले मंगलबार टोखामा रहेको पौडेलको घरमा छापा मारेको थियो। त्यहाँ घर कुरुवा बाहेक अरू थिएनन्।
विभागले पौडेललाई पक्राउ गरेपछि मात्र सो घटना सार्वजनिक गर्न चाहेको थियो। तर, चौतर्फी दबाब भएपछि बुधबार नै विभाग घटना सार्वजनिक गर्न बाध्य भएको हो।
विभागका अनुसन्धान अधिकृतलाई कतै अदालतले पक्राउ पूर्जी दिँदैन कि भन्ने चिन्ता थियो। तर, पक्राउ पूर्जी दिएपछि विभागले घरमा छापा मार्नेदेखि पौडेलको नाम सार्वजनिक गर्ने ‘मुड’ बनाएको थियो।
‘हामीलाई संसदमा नै प्रश्न उठाइयो, हाम्रो काम गर्ने क्षमतामा नै आशंका भयो। त्यही भएर मानिस पक्राउ नगरी सार्वजनिक गर्न बाध्य भयौं,’ विभागका एक अनुसन्धान अधिकृतले भने।
पौडेल यसअघि विभिन्न प्रकरणमा पक्राउ परिसकेका व्यापारी हुन्। केही वर्षअघि डलर काण्डमा पक्राउ परेका पौडेललाई साढे ४ वर्षअघि महाराजगंजस्थित आफ्नै घरमा जुवाखाल चलाएबापत प्रहरीले नियन्त्रणमा लिएको थियो। सिन्धुपाल्चोकका पौडेलको नाम सुन तस्करीदेखि रक्तचण्डन तस्करीमा समेत जोडिने गरेको छ।
पौडेलका चार दाजुभाइमध्ये ध्रुव पौडेल एमालेका जिल्लास्तरीय नेता हुन्। उनी २०५४ मा तत्कालीन फुप्लिङकट्टी गाविसको अध्यक्ष निर्वाचित भएका थिए। ध्रुव १२ वर्षअघि रक्तचन्दन तस्करीमा पक्राउ परेका थिए। अर्का दाजु राजकुमार पौडेलविरुद्ध भोटेकोशी गाउँपालिका अध्यक्ष रहेकै बेला सुन तस्करीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो।