अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ आयात कर (ट्यारिफ)को घोषणा गरे। नयाँ कर नीतिले अमेरिकालाई व्यापारमा सफल बनाउन मद्दत गर्ने ट्रम्पको दाबी छ।
उनले कार्यकारी आदेशमार्फत ती करहरू लागू गरेका हुन्। यसबाट विश्वभरको अर्थतन्त्रमा असर पर्ने अपेक्षा गरिएको छ। ह्वाइट हाउसले करिब १०० देशहरूको सूची सार्वजनिक गर्दै ती देशहरूमाथि लगाइएको करका दरहरूको विवरण जारी गरेको छ।
ट्रम्पले सबै देशहरूमाथि १० प्रतिशत आधारभूत ट्यारिफ लागू गरेका छन्। ट्रम्पको भाषणअघि ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै आधारभूत दर १० प्रतिशत हुने बताएका हुन्।
यी करका दरहरू अप्रिल ५ देखि लागू हुनेछन्। केही देशहरूमाथि आधारभूत करमात्रै लगाइने बताएको छ। अमेरिकाले बेलायत, सिंगापुर, ब्राजिल, अस्ट्रेलिया, न्युजिल्यान्ड, टर्कीए, कोलम्बिया, अर्जेन्टिना, एल साल्वादोर, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालाई आधार दरको कर लगाउनेछ।
यसका अतिरिक्त ६० वटा देशहरूलाई विशेष कर लगाउने ह्वाइट हाउसले जनाएको छ। यी देशहरूले अमेरिकी सामानहरूमा उच्च कर लगाउने, व्यापारमा गैर-करसम्बन्धी अवरोध सिर्जना गर्ने वा अमेरिकी आर्थिक लक्ष्यलाई कमजोर पार्ने काम गरेको अमेरिकी सरकारको दाबी छ।
यी विशेष करहरू अप्रिल ९ देखि लागू हुनेछन्। अमेरिकाले युरोपियन युनियनमाथि २० प्रतिशत, चीनमाथि ५४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत, थाइल्यान्डमाथि ३६ प्रतिशत, जापानमाथि २४ प्रतिशत, कम्बोडियामाथि ४९ प्रतिशत, दक्षिण अफ्रिकामाथि ३० प्रतिशत र ताइवानमाथि ३२ प्रतिशत कर लगाउनेछ। नेपाललाई १० प्रतिशत लगाइएको छ।
क्यानडा र मेक्सिको भने यो सूचीमा समावेश छैनन्। ह्वाइट हाउसका अनुसार यी दुई देशहरूसँग अलग व्यवस्था गरिनेछ।
यसअघि कार्यकारी आदेशमार्फत क्यानडा र मेक्सिकोमाथि ट्रम्पले २५ प्रतिशत कर लगाइसकेका छन्। पछि केही छुट र ढिलाइका उपायहरू घोषणा गरिएको थियो।
यसका अतिरिक्त ट्रम्पले सम्पूर्ण विदेशी गाडीहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। यो कर अप्रिल ३ को मध्यराति लागू हुनेछ।
ट्रम्पको यस घोषणापछि अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा ठूलो हलचल मच्चिने अनुमान गरिएको छ।
नेपाली निर्यात प्रभावित हुने
अमेरिकी नयाँ कर नीतिले मुख्यतः विश्वप्रसिद्ध अटोमोबाइल कम्पनीहरू बढी प्रभावित हुँदैछन्, जो अमेरिकामा सवारी निर्यात गर्छन्।
आधारभूत १० प्रतिशतको कर नेपाललाई पनि लागेको छ। तर, नेपालबाट अमेरिका निर्यात हुने वस्तु निकै थोरै छन्। तैपनि नयाँ कर नीतिले निर्यात व्यापारमा संलग्न नेपाली व्यवसायीलाई भार बढ्ने भएको छ।
नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरूमा गलैँचा, कुकुर र बिरालोको आहारा अर्थात् छुर्पी हो। सँगै ऊनी र फेल्टका सामान, तयारी पोसाक, ग्लासवेयर, पस्मिना शल, सारयुक्त तेल, संगीतका सामान र नेपाली हातेकागज लगायतका सामग्री अमेरिका निर्यात हुन्छ।
नेपाललाई अमेरिकाले विगतदेखि सहुलियतपूर्ण बजार पहुँचको सुविधा दिँदा पनि निर्यात बढ्न सकेको छैन। २०७२ को भूकम्पपछि अमेरिकाले ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ ल्याएर ७७ किसिमका नेपाली वस्तुलाई बजार पहुँच सहज बनाइदिएको थियो।
तर, निर्यात परिमाण अपेक्षाकृत बढ्न सकेन। भूकम्पले नेपाली अर्थतन्त्रमा परेको समस्या निदानमा सघाउन सन् २०१५ देखि अमेरिकाले दिएको बजार पहुँच सुविधा यही वर्ष सकिएलगत्तै थप करको भार बढेको छ।