BIZMANDU
www.bizmandu.com

लेवल नराख्ने कम्पनीप्रति विभाग आक्रामक, तीन कम्पनीलाई स्पेयर पार्ट्स बिक्रीमा रोक

२०८१ चैत्र १९

लेवल नराख्ने कम्पनीप्रति विभाग आक्रामक, तीन कम्पनीलाई स्पेयर पार्ट्स बिक्रीमा रोक
लेवल नराख्ने कम्पनीप्रति विभाग आक्रामक, तीन कम्पनीलाई स्पेयर पार्ट्स बिक्रीमा रोक

काठमाडौं। सवारीसाधनको स्पेयर पार्ट्स बेच्दै आएका तीन ठूला घरानाका चार कम्पनी कारबाहीमा परेका छन्।

Tata
GBIME

मूल्य खुलाएर लेवल राखेको नपाइएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको तीन कम्पनीलाई स्पेयर पार्ट्स र एक कम्पनीलाई लुब्रिकेन्ट्स बिक्रीमा रोक लगाएको छ।

विभागले भिजी अटोमोबाइल्स, भिजी सर्भिस सेन्टर, हंशराज हुलासचन्द एण्ड कम्पनी र आईएमई ग्रुपलाई स्पेयर पार्ट्स बिक्रीमा रोक लगाएको हो। आफ्नो अनुगमनका क्रममा ती कम्पनीले स्पेयर पार्ट्स अत्यधिक नाफा लिएर बेच्ने गरेको पाइएको विभागले जनाएको छ।

भिजी अटोमोबाइल्स र भिजी सर्भिस सेन्टर विशाल ग्रुप अन्तर्गतका कम्पनी हुन्। ती कम्पनीले सुजुकी ब्रान्डको बाइक तथा स्कुटरका लागि स्पेयर पार्ट्स बिक्री गर्दै आएका छन्।

काठमाडौं महानगरपालिका-२० मा स्थित स्टोरको अनुगमन गर्दा भिजी अटोमोबाइल्स र भिजी सर्भिस सेन्टरले स्पेयर पार्ट्समा भारतीय रुपैयाँमा बिक्री मूल्य राखेर ग्राहकसँग धेरै रकम लिने गरेको पाइएको विभागले जनाएको छ।

आईएमई ग्रुपले मोटुल लुब्रिकेन्ट्स बिक्री गर्दै आएको छ। यो कम्पनीले पनि एमआरपी नराखी लुब्रिकेन्ट्स बिक्री गरेको फेला परेको विभागको भनाइ छ।

यस्तै बजाज बाइक बेच्ने हंशराज हुलासचंद एण्ड कम्पनीले पनि स्पेयर पार्ट्स एमआरपी नराखी बिक्री गरेको पाइएको विभागका अधिकारीहरुले बताएका छन्।

बीवाइडीको सब डिलर इको इभी केयरसँग पनि विभागले कागजात मागेर अध्ययन गरिरहेको छ। विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कैफियत देखिने कम्पनीलाई कानुन अनुसार कारबाही गर्ने बताए।

‘हामीले सबै कम्पनीहरुलाई २० गतेसम्म लेवल लगाउन समय दिएका छौं। त्यसपछि लेवल नलगाएको भेटिए कारवाही गर्ने तयारी छ,’ उनले भने, ‘लेवल नलगाइएको पाइएमा ३ देखि ४ लाखसम्म जरिवाना गरी सामान सिज गर्ने हो। उत्पादन गर्दादेखि शोरुमसम्मको सबै खर्च एमआरपीमा समावेश हुन्छ। एमआरपी नेपाली रुपैयाँमा राखिनुपर्छ।’

उनका अनुसार भिजीले १८५४ भारु एमआरपी राखेर ग्राहकलाई ७५०० रुपैयाँमा स्पेयर पार्ट्स बेचेको पाइएको छ।

विभागले बाजेको सेकुवा, म्यापल फर्निसिङ हाउस, केटीएम बुक्स एण्ड स्टेसनरी, गोर्खाली मार्ट, एजी वर्ल्ड, सिद्धार्थ स्टील, भवानी मा हार्डवेयर, पायोनियर इलेक्ट्रोकेवल्स, राइडर्स हेलमेट एण्ड एसोसेरिज, न्यु हेल्मेट्स हाउस, बीएस इन्टरप्राइजेज, थ्री एस अटो सोलुसन, नमस्ते इन्टरनेसनल लगायत कम्पनीकोपनि कागजात मागेर अध्ययन गरिरहेको छ।