BIZMANDU
www.bizmandu.com

चितवनले ५ ‘अयोग्य’ खेलाडी उतार्दा पोखराले पनि थप्यो एक जना, ‘एनएसएल म्यानेजमेन्टको दबाब’

२०८१ चैत्र १९

चितवनले ५ ‘अयोग्य’ खेलाडी उतार्दा पोखराले पनि थप्यो एक जना, ‘एनएसएल म्यानेजमेन्टको दबाब’
चितवनले ५ ‘अयोग्य’ खेलाडी उतार्दा पोखराले पनि थप्यो एक जना, ‘एनएसएल म्यानेजमेन्टको दबाब’


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सोमबारको खेल तालिका अनुसार साँझ ६ बजे खेल सुरु हुनुपर्ने थियो। तर, ६ बज्दा न त मिडिया बक्समा आधिकारिक प्लेइङ लाइन अप आएको थियो, न त खेलाडी मैदानमा उत्रने तरखरमा नै थिए। दुवै टोलीले प्लेइङ ११ को नाम भने सामाजिक संजालमा सार्वजनिक गरिसकेका थिए।

Tata
GBIME

६ बजेर ११ मिनेट जाँदा बल्ल दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरे। ठीक ६: १८ मा खेल सुरु भयो। नतिजा एफसी चितवनले २-० ले आफ्नो पक्षमा पार्‍यो।

चितवन र पोखराबीचको प्रतिस्पर्धा। तस्बिर: एनएसएल

विदेशी खेलाडीलाई लिएर लफडा

खेल अघि पोखरा थण्डर्सले एफसी चितवनको विदेशी खेलाडीको श्रम स्विकृतिलगायतको कागजातलाई लिएर प्रश्न उठायो। आफ्नो कागजात नपुगेका स्टेफेन बिनोङलाई टिममा समावेश नगरेको पोखराको माग थियो : चितवनका कागताज नपुगेका विदेशी खेलाडीले पनि खेल्न नपाउन्। यसैमा समय बित्यो।

अर्कोतर्फ चितवनको भनाइ थियो : प्रक्रिया लगभग टुंगिएको छ, आज सरकारले सार्वजनिक बिदा दिएकाले अन्तिम काम गर्न सकिएन। यसमा आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट बीचमा आयो।

पोखराका प्रशिक्षक सुमन श्रेष्ठको भनाइलाई मान्ने हो भने आयोजकले विदेशी खेलाडीलाई समावेश गरेरै खेल्न दबाब दिँदै यसमा ‘प्रोटेस्ट’ गर्न नमिल्ने बताए।

यो पछि खेल सुरु भयो। चितवनले पाँच जनै विदेशी खेलाडीलाई मैदान उतारेपछि पोखराले पनि बिनोङलाई मैदान उतार्‍यो। र, मैदानमा ६ श्रम स्विकृतिलगायतको कागजात नपुगेका खेलाडी सम्मिलित खेलमा चितवनले २-० गोलको जित निकाल्यो।

के भन्छन् पोखराका प्रशिक्षक श्रेष्ठ?

पोखराका प्रशिक्षक सुमन श्रेष्ठ हारको पछाडि व्यवस्थापनको शैलीले बिगारेको खेलाडीको ‘मेन्टालिटी’ देख्छन्।

‘यसले गर्दा खेलमा फोकस गर्न सकेनौं। मैले नसोचेको कुराहरु भयो,’ उनले भने, ‘आयोजकको व्यवस्थापनबाट हाम्रो खेलाडीको अघि नराम्रो गतिविधि भयो। उनीहरुले कसरी पायो त भन्ने पनि कुरा भयो।’

कागजात पुरा नगरी विदेशी खेलाडी मैदान उतारेको कुरा अझै बुझ्न नसकेको उनी बताउँछन्।

‘भोलि पेपर ल्याउँछन् रे भन्ने कुरा भयो। आज खेल छ भने भोलि पेपर ल्याएर कसरी भयो त? भोलि पेपर ल्याउँदा हुन्छ भने त हामी बिनोङलाई प्लेइङ ११ मै ल्याइहाल्थिम नि,’ उनले भने।

पोखराका प्रशिक्षक श्रेष्ठ। तस्बिर: एनएसएल

पोखराले कागजात नपुग्ने भएपछि बिनोङलाई प्लेइङ सेट बाहिर राखेको थियो।

‘बिनोङको कागजात आएको थिएन त्यही भएर हामीले बाहिर राखेको थियौं। नन प्लेइङमा राखेका थियौं। उनीहरुको पाँच जना आएपछि हामीले दोस्रो हाफमा उसलाई पनि राख्यौं,’ उनले भने।

उनी खेलको व्यस्त तालिकालाई लिएर पनि व्यवस्थापनसँग खुशी छैनन्। फिफाको नियमले पनि ४८ घण्टाको रेस्ट दिन्छ। यस्तोमा ब्याकटूब्याक खेल खेल्दा सुधार्नु पर्ने ठाउँमा काम गर्न नसकिने र चोटको डर रहने उनी बताउँछन्।

‘काम पनि कहिले गर्ने? सेड्युल त्यस्तै टाइट छ। कहिले काम गर्ने र खेल्ने? यस्तरी हामी कहाँ पुग्छौँ होला? यो कुराले धेरैलाई नराम्रो लाग्ला। तर, फिफाको नियम मानौँ न। हारजित खेलको पाटो हो। तर, सिस्टम कहाँ जाँदैछ,’ उनले भने, ‘नियम कसलाई लगाउने त? खेल अगाडि लाग्ने हो। अब प्रोटेस्ट गरेर के गर्ने? खेल त सकिइसक्यो।’

चितवन जुनसुकै अवस्थाका लागि तयार थियो

अर्कोतर्फ चितवन एफसीका प्रशिक्षक नवीन न्यौपाने पनि व्यवस्थापकीय कमजोरीले खेल समयमा सुरुवात गर्न नसकिँदा लिगकै स्तरीयतामा प्रश्न उठ्ने बताउँछन्।

चितवनका प्रशिक्षक नवीन न्यौपाने। तस्बिर: एनपीएल

‘यो कुरा व्यवस्थापन र आयोजकको कुरा हो। यत्रो ठूलो म्याच ढिला गरि सुरु हुँदा लोकल टुर्नामेन्टको म्याच जस्तो देखियो,’ उनले भने, ‘वर्क परमिट लिइसक्यो भनेर भन्छन्। फेरि छैन भन्छन्। यसमा आयोजकले बलियो क्राइटएरिया बनाएर समयमा गर्नुपर्छ जस्तो लाग्छ।’

श्रेष्ठजस्तै उनी पनि खेलको समय धकेलिँदा सुरुमा प्रदर्शनमा प्रभाव परेको उनी बताउँछन्।

उनले यो विवाद आउनसाथ व्यवस्थापनमा फोन गरेर बुझे।

‘मलाई वर्कपरमिटको काम भइसक्यो। आउनु पर्ने रिसिट पनि आइसक्यो। तर, आज सार्वजनिक विदा परेको हुँदा त्यो आएको छैन। दिन पर्ने सबै दिइसकको छ भन्ने कुरा आयो,’ उनी भन्छन्।

यस्तोमा विदेशी खेलाडीले खेल्न नपाएको खण्डमा के गर्ने भनेर पनि ‘माइन्डसेट’ बनाइसकेको उनको दाबी छ।

‘मैले त्यही अनुसारले माइन्डसेट बनाएको थिएँ। मैले प्लान ‘बी’ का लागि पनि माइन्डमेकअप गरिसकेको थिएँ। तर, फाइनल्ली यो खेल भयो,’ उनले भने।

दोहोरी रहने घटना

नेपाली फुटबलमा वर्कपरमिट बिनाको खेलाडी मैदानमा उतार्दा भएको विवादको यो पहिलो घटना भने होइन्।

अघिल्लो संस्करणको शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टार क्लबले त्यस्तै खेलाडी मैदान उतारेर खेल जित्दा विभागीय टोली एपीएफ रेलिगेशनमा गएको थियो। यसको रिपोर्ट एन्फामा गएको थियो र एन्फाले थ्रीस्टारलाई कारवाही पनि गरेको थियो।

तर, यसमा चित्त नबुझाउँदै यी दुवै टोली अपिल कमिटीमा गएका छन्।

अर्कोतर्फ भारतको आईलिगमा पनि यस्तै घटना केही दिनअघि भएको थियो। जसमा नामधारी एफसीले इन्टरकाशीलाई २-० ले हराएको खेलमा अयोग्य खेलाडी खेलाएको भन्दै उजुरी परेको थियो। जसमा भारतीय फुटबल संघले एक्सन लिँदा इन्टर काशीले ३-० गोलको जित पाउने निर्णय गरेको थियो।