काठमाडौं। आउँदो आइतबार आफ्नो ५ वर्षे कार्यकाल सकिन लागेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सोमबार दिउँसो पुल्चोकस्थित एउटा कार्यालयमा पुगे।
ईदको सार्वजनिक बिदामा देशकै सबैभन्दा ठूलो फिनटेक संस्था एफवान सफ्टले अधिकारीलाई निम्ता गरेको थियो।
एफवान सफ्ट ग्रुपअन्तर्गत विभिन्न संस्थामा कार्यरत सयौं ‘युवा’ कर्मचारी गभर्नरको प्रतीक्षामा थिए। केही कर्मचारी कानेखुसी गर्दै थिए, अवकाश हुनुअघि किन आउन लाग्नु भएको होला गभर्नर?, जाँदाजाँदै फिनटेकका लागि केही घोषणा त हुन लागेको होइन? अनेक अनुमान हुँदै थियो।
गभर्नर अधिकारी सेतो रङको टोयटाको हाइब्रिड र्याभफोर लिएर एफवान सफ्ट पुगे। ‘टाउनहल मिटिङ’लाई झल्काउने गरी एफवान सफ्टमा आबद्ध कर्मचारीदेखि सञ्चालक समिति सदस्य गभर्नरको स्वागतमा उभिए। युवाहरुको तालीको गड्गडाहटले स्वागत पाएका गभर्नर केही ‘नर्भस्’जस्तो पनि देखिए।
हालैमात्र एफवान सफ्ट ग्रुपको अध्यक्षको जिम्मेवारी पाएका सिद्धान्त ठकुरीले गभर्नर अधिकारीले आफ्नो कार्यकालमा विद्युतीय भुक्तानीमा गरेका सुधारको प्रयासको प्रशंसा गरे।
उनले अधिकारीको नेतृत्वमा विद्युतीय भुक्तानीमैत्री नीति नियम राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएकाले नै एफवान सफ्टजस्ता संस्थाले देशको डिजिटल रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकेको बताए।
अरु क्षेत्रमा नियमन नभएको बहानामा इनोभेटिभ काम गर्न कम्पनीहरुले विभिन्न बाधाअड्चन खेप्नेपर्ने परिवेशमा राष्ट्र बैंकले फिनटेकमा देखाएको उदारता अरु क्षेत्रले पनि सिको गर्नुपर्ने झल्को देखियो।
आफ्नो कार्यकालमा विद्युतीय भुक्तानीमा उछाल ल्याउन सफल अधिकारी एफवान सफ्टकै प्रडक्ट फोनपेलाई देशव्यापी बनाउन आफैं क्यूआर भुक्तानी गर्दै पनि हिँडे।
गभर्नर अधिकारी सोमबार पुल्चोकमा ‘मोटिभेसनल स्पीकर’को रुपमा प्रस्तुत भए। वरिपरि सम्भावना बोकेका सयौं युवा अनुहार देखेपछि उनी उत्साही देखिए।
‘जो साथीहरु एफवान सफ्टमा काम गरिराख्नु भएको छ, यहाँहरुले डेभलप गरेको प्रडक्टले फाइनान्सियल सिस्टममा धेरै ठूलो कन्ट्रिब्युसन गरिरहेको छ। नेपाल सरकारले लिएको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत वित्तीय क्षेत्रभित्र रहेका सबै इनिसिएटिभ्सहरु अधिकांश हामीले पालना गर्न सकेका छौं। त्यो सबैको पछाडि तपाईंहरुको मेहेनत छ,’ अधिकारीले भने, ‘तपाईंहरुले विकास गरेका प्रडक्ट बैंक तथा वित्तीय संस्थाहरुले चलाइरहेका छन्। त्यहाँ मात्रै सीमित छैन। राष्ट्र बैंकले यसका लागि निर्माण गरेको नीतिगत वातावरणमा बसेर सारा सर्वसाधारणले हामीले बनाएका प्रडक्टलाई एडप्ट गरेका कारणले नेपालमा जसरी डिजिटल रुपान्तरण भइरहेको छ त्यो साँच्चिकै राम्रो भएको छ।’
युवा कर्मचारीलाई हौसला दिंदै अधिकारीले नेपालमा विकास भइरहेका फाइनान्सियल सोलुसन्सहरु अन्यत्रको तुलनामा कुनै पनि हिसाबले पछि नपरेको जिकिर गरे।
‘म यहाँ आउनुको कुनै कारण होइन। तपाईंहरुले जुन हिसाब र स्पीडमा काम गर्नु भएको छ, त्यो नरोकियोस् भन्न मात्रै आएको हुँ। नेपालजस्तो देशलाई तपाईंहरुजस्तो क्षमता भएको शक्ति आवश्यक छ,’ गभर्नरले बिदा माग्दै भने।