BIZMANDU
www.bizmandu.com

प्राधिकरणका एमडी शाक्यसँग इप्पानको भेट, व्यावसायिक विद्युत उत्पादन मिति थप्न माग

२०८१ चैत्र १८

प्राधिकरणका एमडी शाक्यसँग इप्पानको भेट, व्यावसायिक विद्युत उत्पादन मिति थप्न माग
प्राधिकरणका एमडी शाक्यसँग इप्पानको भेट, व्यावसायिक विद्युत उत्पादन मिति थप्न माग


काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले सरकारी निकाय वा बाह्य कारण जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत प्राधिकरणले व्यावसायिक विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) थप गर्नुपर्ने बताएको छ।

Tata
GBIME

इप्पानको टोलीले सोमबार नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेटेर बधाई दिंदै आरसीओडी थप गर्न प्राधिकरण लचिलो हुनुपर्ने बताएको हो।

इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनाले वन मन्त्रालयबाट रुख कटानको तथा भारतबाट बिस्फोटक पदार्थ आयातको अनुमति नपाएर तोकिएको समयमा विद्युत उत्पादन गर्न असमर्थ भएको अवस्थामा प्राधिकरणल‍े सहजरुपमा आरसीओडी थप गर्नुपर्ने बताए।

उनले यो विषयलाई अब आइन्दा पीपीएमा नै उल्लेख गर्न माग गरे। उनले प्राधिकरणले आरसीओडी थप नगरेका कारण विद्युत उत्पादन भएको मानेर बैंक तथा वित्तीय संस्थाबाट थप ऋण प्रवाह रोकेर आयोजनाहरुलाई साँवा ब्याज तिर्न निर्देशन हुन थालेकोतर्फ शाक्यको ध्यानाकर्षण गराए।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले विद्युत उत्पादन २८ हजार ५०० मेगावाट पुर्‍याउने सरकारी लक्ष्य प्राप्तिका लागि आफूहरु हातेमालो गर्न तयार रहेको बताए।

इप्पानका उपाध्यक्ष उत्तम भ्लोनले प्राधिकरणले कन्टिन्जेन्सी भन्ने व्यवस्था नै खारेज गर्नुपर्ने बताए।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले आरसीओडी म्याद थप गर्ने कुरामा आफू सकारात्मक रहेको जवाफ दिए। उनले वर्षायामको ६ महिना आरसीओडीभन्दा ढिलो विद्युत उत्पादन भएपनि पेनाल्टी नलाग्ने व्यवस्था गर्न प्रयास गर्ने आश्वासन दिए।

इप्पानले सबै आयोजनाको म्याद २ वर्ष थप गर्न आग्रह गरेकामा शाक्यले यसबारे नेपाल सरकारले नै निर्णय गर्नुपर्ने बताए।

उनले निजी क्षेत्रलाई पिकिङ क्षमता भएका अर्धजलाशययुक्त आयोजना निर्माणमै केन्द्रित हुन आग्रह गर्दै पिक समयका लागि पीपीए दर परिमार्जन गर्न आफू सकारात्मक रहेको बताएको इि्पानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।