काठमाडौं । सामाजिक संजालमा शुक्रबार भाटभटेनीमा भएको लुटपाटको घटनामा संलग्न देखिएका एक वृद्धको तस्विर भाइरल भइरहेको छ। दुई दाना सुन्तला र पाउरोटी बोकेका वृद्ध र प्रहरीले हिजो जिल्ला सरकारी वकिल कार्यालयमा थुनुवाको ‘भेष्ट’ सहित उपस्थित गराइएका व्यक्ति एकै हुन् भनेर धेरैले सेयर गरिरहेका छन्।
दुईवटा तस्विरहरुलाई जोडेर मिमहरु समेत बनाइएको छ। नाम चलेका व्यक्तिहरुले ती मिम र पोस्ट सेयर गरिरहेका छन्।
तर, सामाजिक संजाल प्रयोगकर्ताहरुले भने झैं भाटभटेनीको भिडियोमा भाइरल भएका वृद्ध र हिजो थुनुवाको भेष्टमा रहेका व्यक्ति एकै होइनन्।
प्रहरीले सुन्तला बोकेका वृद्धलाई पक्राउ गरेर हिजो सरकारी वकिल कार्यलयमा उपस्थित गराएको होइन। पक्राउ परेका व्यक्ति चाहिँ रोयल टाक्स फोर्स आरटिएफका प्रमुख मुनिन्द्र राजभण्डारी हुन्।
हाल फरार रहेका दुर्गा प्रसाईंको आरटीएफको नेतृत्व गरेका मुनिन्द्र राजभण्डारीलाई प्रहरीले शनिबार उनकै निवासबाट पक्राउ गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले पक्राउ परेका व्यक्ति आरटीएफ प्रमुख राजभण्डारी रहेको जानकारी दिए।
राजभण्डारी पूर्व सैनिक हुन्। राजतन्त्र रहँदा उनी दरबार नजिक थिए। केही समय अष्ट्रेलियामा बिताएका उनी नेपाल फर्किएसँगै राजतन्त्रको पक्षमा लाग्दै आएका व्यक्ति हुन्।
नेपाली सेनाका पूर्व कमान्डर रहेका राजभण्डारी पूर्व राजा ज्ञानेन्द्र शाहका नजिकका व्यक्ति पनि हुन्। शाह गोरखा जाँदा होस् या अन्य कुनै ठाउँमा राजभण्डारी त्यसको व्यवस्थापनमा खटिएको उनको फेसबुकबाट प्रष्ट हुन्। दुर्गा प्रसाईँलाई पहिलो पटक ज्ञानेन्द्र शाहसँग भेटाउनेमा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो।
शुक्रबार भएको प्रदर्शनमा राजभण्डारी तीनकुनेमा नै थिए। उनले सो दिन पार्टीका कार्यकर्ताहरु निजी घरहरुमा तैनाथ राजावादीको कार्यक्रम बिथोल्ने षड्यन्त्र गरिरहेको भन्दै पोस्ट गरेर भिड उक्साएको देखिएको प्रहरीले उल्लेख गरेको छ।
प्रहरीले भाटभटेनीमा लुटपाट र चोरी गर्नेमा हालसम्म ९ जनालाई मात्र पक्राउ गरेको छ। सिसिटिभी फुजेट र तस्विरहरको सहारामा प्रहरीले अराजकता मच्चाउनेहरु खोजिरहेको छ।