BIZMANDU
www.bizmandu.com

भिजिबिलिटी कम हुँदा डाइभर्ट भएका जहाज फर्किँदै, टर्किस र कतारको कसरी भयो अवतरण?

२०८१ चैत्र १८

भिजिबिलिटी कम हुँदा डाइभर्ट भएका जहाज फर्किँदै, टर्किस र कतारको कसरी भयो अवतरण?
भिजिबिलिटी कम हुँदा डाइभर्ट भएका जहाज फर्किँदै, टर्किस र कतारको कसरी भयो अवतरण?


काठमाडौं । काठमाडौंमा ‘भिजिबिलिटी’ कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय तर्फको अवतरण प्रभावित भएको छ।

Tata
GBIME

सोमबार बिहान ९ बजे देखि १० बजेको अन्तरालमा अवतरणका लागि आएका एयर इण्डियाका दुई वटा, जजिरा र फ्लाई दुबईको एउटा जहाज ‘डाइभर्ट’ भएका विमानस्थल प्रवक्ता रिन्जी शेर्पाले बताए।

उनका अनुसार ती वायुसेवाले आफ्नो मापदण्ड अनुसार भिजिबिलिटी कम भएको जनाउँदै बनारस र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डाइभर्ट’ भएका थिए। जजिरा र एयर इण्डियाको जहाज बनारसतर्फ र फ्लाई दुबईको जहाज भैरहवामा ‘डाइभर्ट’ गरिएको उनले जानकारी दिए।

यतिखेर भिजिबिलिटी ३००० मिटर कायम भएसँगै बनारस ‘डाइभर्ट’ भएको एयर इण्डियाको जहाज अवतरण भइसकेको उनले  जानकारी दिए। अन्य जहाज पुनः काठमाडौं आउने तयारीमा रहेको छ।

टर्किस र कतारले गरेका थिए अवतरण

आज बिहान ३ वटा वायुसेवाले भिजिबिलिटी कम भएको भन्दै आफ्नो उडान डाइभर्ट गरे पनि टर्किस र कतारको विमान भने अवतरण भएको थियो।

‘जहाजको स्पिडअनुसार भिजिबिलिटी कायम गरिएको हुन्छ। कतिपय वायुसेवाले हाइ स्ट्याण्ड राखेका हुन्छन्,’ उनले भने,’कतार र टर्किसले आफ्नो सेटलाइट बेस रही आफ्नो प्रावधानअनुसार अवतरण गरेका हुन्।’

 उनका अनुसार बिहान विमानस्थलमा १६०० मिटर भिजिबिलिटी कायम भएको थियो। जसका कारण आन्तरिक उडान अवतरणमा कुनै प्रभाव परेको थिएन।