BIZMANDU
www.bizmandu.com

दूध र दुग्धजन्य पदार्थको उपभोग्य मिति कति हुन्छ? तोकिएको समयमा बिक्री नभए के गरिन्छ?

२०८१ चैत्र १८

दूध र दुग्धजन्य पदार्थको उपभोग्य मिति कति हुन्छ? तोकिएको समयमा बिक्री नभए के गरिन्छ?
दूध र दुग्धजन्य पदार्थको उपभोग्य मिति कति हुन्छ? तोकिएको समयमा बिक्री नभए के गरिन्छ?

काठमाडौं। चालु आर्थिक वर्षमा डेरी उद्योग संघ, दुग्ध विकास संस्थान र अन्य निजी डेरीसँग गरेर करिब साढे ५ हजार मेट्रिक टन धुलो दूध र १० हजार मेट्रिक टन बटर स्टक छ। करिब ९ खर्ब बराबरको बटर र ५ अर्ब बराबरको धुलो दूध उत्पादन भएर बसेको छ।

Tata
GBIME

डेरी व्यवसायीका अनुसार प्रसोधित दूधको उपभोग्य मिति ४८ देखि ७२ घण्टा हुन्छ। त्यस्तै, दही एक साता, घिउ एक वर्ष, आइसक्रिम १ वर्ष र मोही ३ दिनसम्म प्रयोग गर्न सकिन्छ। दूधबाट बनेका मिठाई करिब १५ दिनसम्म उपभोग गर्न मिल्छ।

डेरी उद्योगले दैनिक संकलन गर्ने कच्चा दूधको केही परिमाण दुग्धजन्य पर्दाथ बनाउने गरेका छन्। दूध उत्पादन हुने समयमा सरकारी तथा निजी डेरीले बढी भएको दूधबाट पाउडर र बटर (नौनी) बनाएर राख्ने गर्छन्।

डेरी व्यवसायीका अनुसार माइन्स १८ डिग्री तापक्रममा डेरिजन्य पर्दाथ राख्दा १८ महिनासम्म प्रयोग गर्न मिल्छ। योभन्दा कम तापक्रममा राख्दा करिब एक वर्षसम्ममात्र प्रयोग गर्न सकिन्छ।

बजारको माग अनुसार उत्पादन गरिने यस्ता दुग्धजन्य पर्दाथको खपत केही समय यता घट्दै गएको छ। असोजदेखि चैतसम्म दूध उत्पादनको सिजन हो।

वैशाखदेखि भदौसम्म अफसिजन चल्छ। हरेक वर्ष धुलो पाउडर खपत भइरहे पनि बटर बिक्री नहुँदा ठूलो परिमाणमा स्टक बस्ने गरेको छ।

तस्बिर : रासस।

दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योगसँग आबद्ध डेरीहरूबाट दैनिक ३ लाख लिटरसम्म दूध कनभर्जन हुने गरेको छ।

पछिल्लो समय बाहिरी मुलुकबाट दुग्धजन्य पर्दाथको आयात कम छ। निर्यात पनि निकै कम छ। बजारमा खपत कम र निर्यात हुन नसक्दा डेरीजन्य पदार्थको स्टक बढिरहेको छ।

यतिबेला बजारमा कम खपतका कारण डेरीजन्य पदार्थ तोकिएको समयमा बिक्री हुँदैन। डेरि उद्योगमा अर्बौं रुपैयाँको बटर र धुलो पाउडर स्टक बस्ने गरेको छ। यद्यपि, डेरी उद्योगीहरूले बर्सेनि बटर र धुलो दूध म्याद नाघेका कारण फाल्नुपर्ने अवस्था नआएको बताएका छन्।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डेरी उद्योगहरूमा अनुगमन गरिरहेको बताउने गरेका छन्। अनुगमनका क्रममा म्याद नाघेका डेरीजन्य पदार्थ निकै कम भेटिने जानकारी दिएका छन्।

नेपाल डेरी प्रालिका निर्देशक अरनिको राजभण्डारीले उत्पादन मितिअनुसार दुग्धजन्य पदार्थ बजारमा पठाउने गरेको बताए। यसो गर्दा उद्योगमा उत्पादन भएको धुलो पाउडर र बटरको एक्सपायर डेटसम्म नपुग्ने उनले बताए।

‘यतिबेला समस्या भनेको नौनीमा हो। पाउडर दूधको प्रयोग अफसिजनमा प्रयोग गरिने भएकोले स्टक बस्दैन। नौनीको बिक्री नभएकोले यसको स्टक बस्छ,’ उनले भने।

नेपाल डेरीमा रोटेसन मिलाएर व्यवस्थापन गरिने भएकोले स्टक नबस्ने उनले जानकारी दिए। केही गरी बाँकी बसिहाले नौनीलाई घिउ बनाउने गरिएको उनको भनाइ छ।

निर्देशक राजभण्डारीका अनुसार अनौपचारिक क्षेत्रबाट उत्पादन गरिएको घिउ बजारमा आउँदा सरकारी र निजी ठूला डेरीको नौनी बिक्री हुन नसकेको हो।

दुग्ध विकास संस्थानका निवर्तमान महाप्रबन्धक सूर्यप्रसाद पौडेलले दुग्धजन्य पदार्थ ४ वर्षसम्म बिक्री नभएपनि नबिग्रने बताए। धुलो दूध र बटरको उत्पादन मिति १८ महिनाभन्दा बढी सम्म हुन्छ। पुरानो स्टक सक्काउदै नयाँ स्टक गरिन्छ। यसरी रोटेसन अनुसार प्रयोग गर्दा म्याद गुज्रिएर फाल्न नपर्ने उनको भनाइ छ।

‘हाल बजारमा समस्या भनेको बटरको हो। म्याद सकिन लागेको बटरलाई घिउ बनाएर बजारमा पठाइने हुनाले उपभोग गर्न नमिल्ने भएर नष्ट गर्न पर्दैन,’ पौडेलले भने।

दही र मोहीको उपभोग मिति एक साता हुन्छ। यो समयमा बिक्री भएन भने फाल्नु पर्छ। डीडीसीमा बजारको माग अनुसार उत्पादन गरिने भएकाले म्याद नाघेर फाल्नुपर्ने अवस्था नआएको उनले दाबी गरे। कहिलेकाहीँ केही परिमाण स्टक बाँकी भए कम्पनीले आन्तरिक रुपमा व्यवस्थापन गर्ने उनले जानकारी दिए।

राष्ट्रिय दुग्ध विकास बोर्डका उपनिर्देशक बालक चौधरीले हरेक वर्ष डेरी उद्योगहरूमा म्याद नाघेका दुग्ध पदार्थ बस्ने गरेको बताए।

‘यो वर्ष यति नै दुग्ध पदार्थ म्याद नाघेर स्टक रहेको भन्ने परिमाण यकिन छैन,’ उनले भने, ‘तर बिक्री नभएर म्याद नाघ्ने गरेको छ।’

त्यस्तै, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले डेरीहरूमा म्याद सकिएको दूध र दुग्ध पदार्थ कम हुने बताए। हरेक वर्ष कम परिमाणमा म्याद नाघेका दूध र दुग्धजन्य पदार्थलाई फाल्नुपर्ने अवस्था आउने गरेको भन्दै उनले बटर र धुलो पाउडर तोकिएको मितिभन्दा पहिले नै व्यवस्थापन गरिने बताए।

कम्पनीको कुल उत्पादनको १० प्रतिशत बिक्री नहुँदा म्याद नाघेर नष्ट हुने गरेको जानकारी दिए।

एक डेरी व्यवसायीका अनुसार सरकारी कम्पनी र ठूला उद्योगले म्याद सकिन लागेको बटरबाट घिउ उत्पादन गरी कम मूल्यमा बेकरी सुपरमार्केट र बिस्कुट उद्योगमा बिक्री गर्ने गरेका छन्। धुलो दूधको माग गर्मीमा धेरै हुने भएकोले स्टक बस्दैन।

‘बजारमा साना डेरी र भारतबाट आएको सस्तो घिउ हुने भएकोले ठूला डेरीको बटर बिक्न समस्या हुन्छ। जसले गर्दा म्याद सकिन केही समयअघि घिउ बनाएर धेरै बिक्री हुने ठाउँमा बिक्री गरेर स्टक सक्काउने गरिन्छ,’ उनले भने, ‘यसो गर्दा पुरानो स्टक बाँकी नरहने र व्यवसायीलाई सामान्य रुपमा मात्र घाटा हुन्छ।’

त्यस्तै, चितवन मिल्क उद्योगका प्रबन्धक दुर्गा पराजुलीले डेरीजन्य पदार्थ म्याद सकिएर फाल्नुपर्ने अवस्था कमै आउने बताए।पोहोर सालमात्र बटरको कारोबारमा समस्या भएको भन्दै उनले गर्मी सिजनमा पाउडर दूधको खपत धेरै हुने बताए।

‘दूध उत्पादन कम हुने भएकोले पाउडरबाट काम चलाइन्छ। बिहे, पूजा चाडपर्व र जाडो याममा घिउको प्रयोग गरिन्छ। यसले गर्दा बटर बिक्री नभए घिउ बनाएर बिक्री हुन्छ। कोही उपभोक्ताले बटर नै खरिद गर्छन्। कहिलेकाहीँ उपभोग्य मिति गुज्रिएका घिउ भने फाल्ने गरिन्छ। डेरी उद्योगहरुले डेरीजन्य पदार्थको म्याद सकिनुअघि नै स्टक खाली गर्न मूल्य घटाएर बिक्री गर्छन्,’ प्रबन्धक पराजुलीले जानकारी दिए।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले म्याद गुज्रिएका बटर र धुलो पाउडरको बारेमा डेरी उद्योगीले खुलाउन नखोज्ने गरेको बताए। उद्योगमा यस्ता वस्तु हुने गरेको खबर सुनिए पनि यसलाई पुष्टि गर्ने आधिकारी प्रमाण नभएको उनले जानकारी दिए।

हाल दैनिक ७२ लाख लिटर दूध उत्पादन हुन्छ। यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा र ५० प्रतिशत चिज, छुर्पी तथा परम्परागत दुग्धजन्य पदार्थको उत्पादनमा खपत हुन्छ। हाल काठमाडौं उपत्यकामा मात्र दैनिक ५ लाख लिटर दूध खपत हुन्छ।