काठमाडौं। राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार कोटेश्वर आउटलेटबाट प्रदर्शनकारीले सामान लुटपाट गरेका थिए। पक्राउ पर्नेमा नुवाकोटको विदुर-६ का शुशीला कुमाल, धरानका एलिसा राई, कोटेश्वरका बालकुमारी कार्की र सिन्धुपाल्चोकको चौताराका निर्मला कार्की रहेका छन्।
त्यस्तै, रक्सी चोरी गर्ने आशिष सिंह, प्रेमकुमार महतो, भारतीय नागरिक रविकुमार रञ्जन लगायत पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट मदिराको बोतल, खाली बियरको बतल, लिपस्टिक, गाजल, ट्राउजर बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी र लुटपाटमा संलग्न अन्यलाई पनि खोजी गरिरहेको छ।
नरेफाँटबाट पक्राउ परेका उनीहरूलाई प्रहरी बृत बानेश्वरमा थप अनुसन्धानका लागि पठाइएको छ।