BIZMANDU
www.bizmandu.com

ब्रोकर कम्पनीलाई पुँजी जुटाउन मर्जरको बाटो खुला, सेबोनले अन्तिममा जारी गर्‍यो निर्देशिका

२०८१ चैत्र १७

ब्रोकर कम्पनीलाई पुँजी जुटाउन मर्जरको बाटो खुला, सेबोनले अन्तिममा जारी गर्‍यो निर्देशिका
ब्रोकर कम्पनीलाई पुँजी जुटाउन मर्जरको बाटो खुला, सेबोनले अन्तिममा जारी गर्‍यो निर्देशिका


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ब्रोकरको पुँजी वृद्धिको निर्णय गरेको साढे दुई वर्षपछि मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेको छ।

Tata
GBIME
NLIC

सेबोनले तोकिएको पुँजी कायम गर्न नसक्ने ब्रोकरलाई निर्देशिका बनाएर मर्जर तथा प्राप्तिको बाटो खुला गरेको हो।

२०७९ मा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधन गरेर ब्रोकरको पुँजी वृद्धि गर्ने निर्णय गरेको सेबोनले २०८२ असारसम्म समय दिएको छ।

सेबोनका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले आफ्नै नीति विपरीत ब्रोकरको नयाँ लाइसेन्स बाँडेका थिए। उनले पुँजी वृद्धिको निर्णय कार्यान्वयनका लागि निर्देशिका ल्याएका थिएनन्। जसका कारण नियमावलीले गरेको मर्जर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन।

पुँजी कायम गर्न नसक्ने ब्रोकरले तोकिएको समय सकिनु ६ महिनाअघि नै मर्जर तथा प्राप्तिका लागि सेबोनमा आवेदन दिनुपर्ने व्यवस्था नियमावलीमा छ।

तर, सेबोनले पुँजी वृद्धिका लागि ब्रोकरलाई आफैंले दिएको समय सकिन ३ महिना मात्रै बाँकी रहँदा निर्देशिका जारी गरेको हो।

पुँजी कायम गर्न नसक्ने ब्रोकर कम्पनी सेबोनबाट सैद्धान्तिक सहमति लिएर मर्जरमा जान सक्ने छन्। त्यसपछि कम्पनीको आवेदन हेरेर सेबोनले स्वीकृति दिने निर्देशिकामा उल्लेख छ।

२० करोड पुँजी पुर्‍याउन नसक्ने ब्रोकरले मर्जर तथा प्राप्तिमा जानुपर्ने व्यवस्था धितोपत्र व्यवसायी नियमावलीमा छ।

ब्रोकरहरुका अनुसार ३८ कम्पनीको न्यूनतम पुँजी पुगेको छैन। उनीहरुसँग आफैं पुँजी बढाउने वा मर्जरमा गएर तोकिएको पुँजी कायम गर्ने विकल्प छ।

ब्रोकर कम्पनीलाई पुँजीका आधारमा तीन समूहमा विभाजन गरिएको छ। न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ। यस्ता ब्रोकरले सीमित कार्य मात्र गर्न पाउँछन्।

६० करोड पुँजी भएका ब्रोकरले मार्जिन ल्याण्डिङको कारोबार समेत गर्न पाउँछन्। त्यसबाहेक १ अर्ब ५० करोड रुपैयाँ पुँजी भएका ब्रोकरले स्टक डिलरको समेत काम गर्न सक्ने व्यवस्था छ।

अहिले दुईवटा स्टक डिलर सहित ब्रोकरको संख्या ९२ छ। ब्रोकरको आकार विस्तार अनुसार सेबोनले प्रडक्ट बढाएको छैन।