BIZMANDU
www.bizmandu.com

‘प्रसाईंसहित हामी सुरक्षित छौँ’ भन्दै टिकटकमा भिडियो राख्ने शाही समातिए, पशुपति खड्का पनि पक्राउ

२०८१ चैत्र १६

‘प्रसाईंसहित हामी सुरक्षित छौँ’ भन्दै टिकटकमा भिडियो राख्ने शाही समातिए, पशुपति खड्का पनि पक्राउ
‘प्रसाईंसहित हामी सुरक्षित छौँ’ भन्दै टिकटकमा भिडियो राख्ने शाही समातिए, पशुपति खड्का पनि पक्राउ

काठमाडौं। काठमाडौंको तीनकुनेमा शुक्रबार भएको अराजक प्रदर्शनमा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार मनिष जंग शाही र पशुपति खड्कालाई पक्राउ गरेको हो।

Tata
GBIME
Nepal Life

पक्राउ परेका शाही शुक्रबारको प्रदर्शनका ‘कमाण्डर’ भनिएका विवादित व्यवसायी दुर्गा प्रसाईं निकट व्यक्ति हुन्। उनले ‘दुर्गा प्रसाईंसहित हामी सुरक्षित छौँ’ भन्दै टिकटकमा भिडियो पोस्ट गरेका थिए। त्यस्तै, खड्का भने शाही युवा शक्ति नेपालका अध्यक्ष हुन्।

प्रसाईं भने हालसम्म फरार छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ।

राजावादी आन्दोलनको नेतृत्व गरेका नवराज सुवेदी घरमै नजरबन्दमा राखिएको छ। राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा र अभियन्ता भनिएका भद्रप्रसाद (स्वागत) नेपाललाई शुक्रबार राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अहिलेसम्म १ सय जनाभन्दा बढीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका छन्। पक्राउ परेकामध्ये सबैको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि कारबाहीका लागि कसुरअनुसार अनुसन्धान भइरहेको जनाइएको छ।

त्यसका अलावा प्रहरीले प्रदर्शनको भिडियो र फोटो हेर्दै तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको खोजी गर्दै पक्राउ गरिरहेको छ।

शुक्रबारको घटनामा भएको क्षतिको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक शनिबार बिहान तीनकुने पुगेका थिए। सरकारले क्षतिको विवरण संकलन गरिरहेको छ।

प्रहरीका अनुसार शुक्रबारको घटनामा कोटेश्वरमा घाइते भइ शिक्षण अस्पताल महाराजगञ्जमा उपचारार्थ पुर्‍याइएका कीर्तिपुर-४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो। तीनकुनेस्थित मार्वल हाउसको भवनमा एभीन्युज टिभीका पत्रकार सुरेश रजक मृत फेला परेका थिए।

घटनामा नेपाल प्रहरीतर्फ ५३, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए। राजावादीको प्रदर्शनका क्रममा उत्तेजक भीडले शुक्रबार तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउण्ड, कोटेश्वर गणेश चोक, भाटभटेनीनजिक सरकारी गाडीमा तोडफोड र आगजनी गरेको थियो।

यस्तै भीडले जडीबुटी चोकस्थित सरकारी कम्पनी जडिबुटी उत्‍पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टी कार्यालय, बालकुमारीबाट काठमाडौंतर्फ आउने करिडोर बाटो, बानेश्वर पुल पारिपट्टि, एयरपोर्टको फोहोरमा, सिनामंगलको इन्द्रेणी सहकारीको कार्यालय भवन, रोयल रेस्टुरेन्ट, एरोम्याक्सको कार्यालय भवनमा तोडफोड र आगजनी गरेको थियो।

कान्तिपुर मिडिया हाउस, केएमसी अस्पताल, सिनामंगलमा डीआईए अगाडि बन्दै रहेको भवन, सिनामंगलमा नेपाल प्रहरीको दुइटा सीसीटीभी, सिनामंगल, भत्केको पुलको प्रहरी बिट, कोटेश्वरका प्रहरी प्रभाग र ट्राफिक प्रहरी प्रभाग तथा बागमती करिडोरमा रहेको समाजवादी पार्टीको कार्यालयमा तोडफोड भएको थियो।

यस्तै, कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको थियो। सफाइपछि उक्त स्टोर शनिबार बिहानदेखि पूर्ववत् संचालनमा आइसकेको छ।