काठमाडौं। नेपाल उद्योग परिसंघले प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी र लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
परिसंघले शनिबार एक विज्ञप्ति जारी गर्दै अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रुपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन माग गरेको हो।
शुक्रबार निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको परिसंघले बताएको छ। विभिन्न माग राखी आन्दोलन तथा प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा र व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनिय हुने परिसंघको विज्ञप्तिमा उल्लेख छ।
‘विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएतापनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
राजावादीको शुक्रबारको प्रदर्शनका क्रममा उत्तेजक भीडले तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउण्ड, कोटेश्वर गणेश चोक, भाटभटेनीनजिक सरकारी गाडीमा तोडफोड र आगजनी गरेको थियो। उनीहरूले कोटेश्वरको भाटभटेनीभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुस लगायतका सयौँ वस्तु लुटपाट गरेका थिए। साथै ढुंगा हानेर भवनमा क्षति पुर्याएका थिए।