BIZMANDU
www.bizmandu.com

मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स, सौदाबाजी सेयरमा

२०८१ चैत्र १६

मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा बेचे एक्स, सौदाबाजी सेयरमा
Photo: AFP

इलन मस्कले आफ्नो सामाजिक सञ्जाल साइट एक्स (पहिले ट्विटर) आफ्नै एआई कम्पनी एक्सएआईलाई बेचेका छन्। ३३ अर्ब डलरको स्टक सम्झौतामा साइट बिक्री गरिएको उनले शुक्रबार जानकारी दिएका हुन्।

Tata
GBIME

दुवै कम्पनी निजी स्वामित्वमा छन्। त्यसकारण उनीहरूलाई आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न जरुरी पर्दैन।

मस्कले यो निर्णयले एक्सएआईको प्रविधि र एक्सको पहुँचलाई जोडेर अपार सम्भावना खोल्ने बताएका छन्। एक्समा पोस्ट गर्दै उनले यो सम्झौताले एक्सएआईलाई ८० अर्ब डलर र एक्सलाई ३३ अर्ब डलरको मूल्यांकन दिएको बताए।

मस्क टेस्ला र स्पेसएक्सका प्रमुख पनि हुन्। साथै उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार पनि हुन्।

उनले २०२२ मा ट्विटरलाई ४४ अर्ब डलरमा किनेका थिए। त्यसपछि उनले ट्विटरको कर्मचारी संख्यामा ठूलो कटौती गरे।

ट्विटर किनेपछि उनले ‘हेट स्पिच’सम्बन्धी सामग्री, अफवाह र प्रयोगकर्ता प्रमाणीकरणसम्बन्धी नीतिमा परिवर्तन गरेका थिए। पछि उनले यसको नाम परिवर्तन गरेर एक्स राखेका हुन्।

ट्विटर किनेको एक वर्षपछि उनले एक्सएआई कम्पनी सुरु गरेका थिए। मस्कका अनुसार एक्सएआई र एक्सको भविष्य आपसमा जोडिएको छ।

‘आज हामी डेटा, मोडेल, कम्प्युट, वितरण र प्रतिभालाई एकसाथ ल्याउने औपचारिक कदम चालिरहेका छौँ। यस संयोजनले अपार सम्भावना खोल्नेछ,’ उनले भने, ‘एक्सएआईको अत्याधुनिक कृत्रिम बुद्धिमत्ता क्षमता र एक्सको विशाल पहुँचको संयोजनले विश्वभरका अर्बौं मानिसका लागि अझ स्मार्ट र अर्थपूर्ण अनुभवहरू सिर्जना गर्नेछ। साथै हाम्रो सत्यको खोजी गर्ने र ज्ञान अगाडि बढाउने मुख्य लक्ष्य पनि कायम रहनेछ।’

यो निर्णयपछि एक्स प्रयोगकर्ताका लागि के-कस्ता परिवर्तन आउनेछ भन्ने स्पष्ट भएको छैन। एक्सएआईले एक्सका प्रयोगकर्ताका पोष्टहरू प्रयोग गरेर आफ्नो एआई मोडेल प्रशिक्षित गर्ने काम यसअघि नै सुरु गरिसकेको छ। साथै, शुल्क तिर्ने प्रयोगकर्ताहरूले यसको एआई च्याटबट ग्रोकको पनि प्रयोग गर्दै आइरहेका छन्।