BIZMANDU
www.bizmandu.com

फ्यानलाई बिजनेससँग जोड्ने प्रयासमा एनएसएल क्लब, १० देखि ५० हजार रुपैयाँमा कस्ता छन् अफर?

२०८१ चैत्र १६

फ्यानलाई बिजनेससँग जोड्ने प्रयासमा एनएसएल क्लब, १० देखि ५० हजार रुपैयाँमा कस्ता छन् अफर?
फ्यानलाई बिजनेससँग जोड्ने प्रयासमा एनएसएल क्लब, १० देखि ५० हजार रुपैयाँमा कस्ता छन् अफर?


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) नजिकिँदै गर्दा क्लबहरुको ध्यान ब्राण्डसँग प्रायोजन लिने र विदेशी खेलाडी भित्र्याउनेमा रह्यो। हरेकजसो क्लबहरुले विभिन्न ब्राण्डसँग प्रायोजन ल्याएका छन्। उसै पनि एनएसएलको हरेक क्लब व्यावसायिक घरानाका छन्। यसमा यामाहा, भाटभटेनी, आईएमई ग्रुप लगायत छन्।

Tata
GBIME

यी क्लबहरुले एउटा ब्राण्डलाई मुख्य प्रायोजक बनाउँदै अन्य ब्राण्डहरुलाई पार्टनरका रुपमा जोडेका छन्। ललितपुर सिटीको प्रभु बैंक, धनगढीको माइ सेकेन्ड टिचर, एफसी चितवनको आइएमई, काठमाडौं रेजर्सको यामाहा, पोखरा थण्डर्सको शिखर इन्स्योरेन्स, बुटवल लुम्बिनीको करेन्ट मुख्य प्रायोजक हुन्।

यस्तोमा केही क्लबहरु फुटबलका आफ्ना फ्यानहरुलाई ब्राण्डसँग जोड्ने प्रयासमा पनि देखिएका छन्। यसमा अगाडि देखिएका छन् ललितपुर सिटी एफसी र एफसी चितवन। यी क्लबहरुले ‘सिजनल पास’ ल्याएर दर्शकहरुलाई ब्राण्डसँग जोड्ने प्रयास गरेका छन्।

‘हामीले सिजनल पास भनेर एउटा पासले सिजनभरको खेललाई पुग्ने गरि मेम्बरसिप प्रोग्राम ल्याएका हौं,’ एफसी चितवनका अध्यक्ष सचिन ढकालले भने, ‘यो प्रायोजकलाई दर्शकसँग जोड्ने माध्यम पनि हो। कोही प्रायोजकलाई धन्यवाद भन्दा पीआर प्याकेज पठाउने चलन छ। दर्शकलाई पनि क्लबसँग जोडिन माध्यम बनेको छ।’

यसअघि मंसिर महिनामा सम्पन्न क्रिकेटको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि सिजनल पासको व्यवस्था गरेको थियो। त्यसमा भने क्लबले नभएर आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले नै पास बेचेको थियो। त्यसबेला सिजन पासका लागि समान्यतर्फ ४ हजार ४८० रुपैयाँ र भीआईपीतर्फ ८ हजार २४० रुपैयाँ तोकिएको थियो।

यता एनएसएलमा भने यसको इनिसिएसन क्लबहरु आफैले लिएका छन्। क्लबहरुले १० हजारदेखि ५० हजार रुपैयाँसम्मको प्याकेज ल्याएका छन्।

‘यसमा चाहिँ चलन पहिलाबाटै अनअफिसियल्ली चलिरहेको छ। कति स्पोन्सरहरुले यो प्याकेज प्राप्त गरिसक्नु भएको छ। फ्यानहरुबाट पनि विस्तारै रेस्पोन्स आइरहेको छ। अब चाँडै पेमेन्ट गेटवे बनाउँदैछौं,’ ढकालले भने, ‘हामीले सिजन पास भनेर एउटा पासले सिजनभरीको खेललाई पुग्ने गरि मेम्बरसिप प्रोग्राम ल्याएका हौं।’

ललितपुरको ब्राण्ड जोड्न प्रिमियम अफर

ललितपुर सिटीले एनएसएलका खेललाई लक्षित गरेर प्रिमियम कार्डको अफर ल्याएको छ। यसको शुल्क ५० हजार रुपैयाँ तोकिएको छ।

यसमा सहभागी हुने फ्यानहरुले ललितपुरको खेल भएको दिन भीआईपी बक्समा बसेर खेल हेर्न सक्नेछन्। म्याच डेका दिन फुड र बेभरेजेजको पनि व्यवस्था गरिएको क्लबले जनाएको छ।

त्यस्तै ललितपुरको खेल भएका दिन त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा पार्किङको सुविधा व्यवस्था गरेको छ। त्यस्तै ललितपुरका खेलाडीसँग भेट्ने र ट्रेनिङका क्रममा जान पाउने सुविधाका साथै गिफ्टहरुको पनि व्यवस्था गरेको क्लबले जनाएको छ।

१० देखि ३० हजारका कार्ड चितवन, के छन् अफर?

अर्को फ्रेन्चाइज एफसी चितवनले तीन किसिमका फ्यान कार्ड जारी गरेको छ। जसमा ३० हजार रुपैयाँको प्लाटिनिम, २० हजार र १० हजारको सिल्भर फ्यान कार्ड छन्।

यी तीन कार्डमा फरक फरक अफरहरु छन्।

प्लाटिनियम कार्डका लागि पाँच वटा अफर छन्। यसमा भीआईपी म्याच डे अनुभव, क्लबका खेलाडीहरूसँग विशेष भेटघाट, आधिकारिक मर्चेन्डाइज, विशेष छुट र उपहारहरू, र साके एण्ड फेङ्ग रेष्टुरेन्टमा खेल अघि र पछि अनलिमिटेड बियर र स्न्याक्स जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

त्यस्तै गोल्डनमा प्रायोरिटी म्याच टिकट, क्लबको आधिकारिक मर्चेन्डाइज, र साके एण्ड फेङ्गमा १५ प्रतिशत छुट सहितका विशेष सुविधाहरू उपलब्ध हुने बताइएको छ।

सिल्भर क्याटागोरीका सदस्यहरूले प्रायोरिटी म्याच टिकटहरू, आधिकारिक मर्चेन्डाइज र साके एण्ड फेङ्गमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ढकालले खेलका लागि खर्च गर्न सक्ने र इच्छुक मान्छेलाई पनि फुटबलमा तान्न नसकिरहेको अवस्थामा यस्तो अफर ल्याएको बताए।

‘यदि कसैलाई खेल हेर्न जान मन छ भने मेम्बरसिप लिनसक्नुहुन्छ। गेम हेर्न जान मन छ भने हरेक गेममा भीआईपी टिकट पाउनु हुन्छ। त्यसमा क्लबको मर्चेन्डाइच पनि पाउनु हुन्छ्। त्योसँग खाने रमाइलो गर्ने माहोल जुन फुटबलसँग जोडिएको हुन्छ,’ ढकालले भने, ‘कसैलाई वियर खान मन लाग्ला। हामीले ‘अल यू क्यान इट’ र ‘अल यु क्यान ड्रिंक’ भनेर डेढ घण्टा अघि र पछि भन्ने कन्सेप्ट लिएर आएका छौँ। यसले चाहीँ क्लबलाई आर्थिक हिसाबले सहयोग पुर्‍याउँछ।’