BIZMANDU
www.bizmandu.com

राजावादीको आन्दोलनमा ज्ञानेन्द्रको समर्थनभन्दा ओलीप्रति आक्रोश बढी, किन भए रुष्ट?

२०८१ चैत्र १५

राजावादीको आन्दोलनमा ज्ञानेन्द्रको समर्थनभन्दा ओलीप्रति आक्रोश बढी, किन भए रुष्ट?
राजावादीको आन्दोलनमा ज्ञानेन्द्रको समर्थनभन्दा ओलीप्रति आक्रोश बढी, किन भए रुष्ट?

काठमाडौं। दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा भएको राजावादीको प्रदर्शन प्रहरीले अश्रु ग्यास र हवाइ फायर गरेपछि तितरबितर भयो। एउटा भीड त्यसपछि बागमती कोरिडोरतिर लाग्यो।

Tata
GBIME

दिउँसो ३ बजे प्रदर्शनकारी तीनकुनेमा रहेको बानेश्वर प्रहरी बिटमा ढुंगामुढा गर्न उत्रिए। निकै कम संख्यामा रहेका प्रहरी कार्यालयभित्र छिरे। त्यसपछि भीड एकैछिनमा मूल सडकको पुल र करिडोरको झोलुंगे पुल हुँदै नेकपा (एकीकृत समाजवादी) को कार्यालय पुगेर तोडफोडमा उत्रियो।

‘हो, यसरी पार्टी कार्यालय हान्ने हो नि पुलिसलाई हान्नुभन्दा,’ भीडबाट आवाज आयो। ढुंगा हान्ने प्रधानमन्त्री केपी शर्मा ओली विरोधी नारा लगाउँदै थिए। ‘अब च्यासल हान्न जानुपर्छ, पेरिसडाँडा हान्न जानुपर्छ,’ उनीहरू भन्दै थिए।

एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि प्रदर्शनकारीहरू खुसी हुँदै सवारी साधनमार्फत च्यासल र पेरिसडाँडातिर लागे। ‘यो सबै ओलीले गर्दा हो,’ उनीहरू चिच्याउँदै करिडोरतिरबाट बत्तिएर निस्के। करिडोरबाट केही पर गएपछि सुविधानगर हुँदै पेरिसडाँडा पुगिन्छ भने करिडोरको बाटो च्यासलस्थित एमाले मुख्यालय पुगिन्छ।

भीडमा राष्ट्रिय झन्डा बोक्नेहरू थिएनन्। अधिकांश युवा थिए। उनीहरूले ज्ञानेन्द्र शाहको जयजयकार गरेनन्। हरेकको मुखबाट ओलीविरुद्ध असन्तुष्टिको नारा सुनिन्थ्यो। असन्तुष्टिको वातावरण ओली आफैंले निर्माण गरेका हुन्।

कुलमानलाई हटाइनु

पछिल्ला दिनमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग विशेष गरी युवा पुस्ता रुष्ट सुनिन्छ। सामाजिक सञ्जालमा उनीविरुद्ध तथानाम टिप्पणी देखिन्छन्। १८ घण्टा लामो लोडसेडिङ अन्त्यका कारण सर्वसाधारणमाझ प्रिय कुलमानलाई चार महिनामात्र कार्यकाल बाँकी रहँदा सरकारले गत सोमबार बर्खास्त गरेको थियो।

लोडसेडिङ हटाएर जनस्तरबाट उज्यालोको नायकको उपाधि पाएका कुलमानलाई अहिले नै हटाउन नहुने सरकारमै रहेका दलका नेता तथा मन्त्रीहरूको सुझाव थियो। तर, ओलीले त्यो आवाजलाई सुनेनन्। बरु आफ्नो निर्णयको बचाऊ गर्दै एउटा कर्मचारी हटाएकोमा रुवाबासी गरेको भनी विरोध गर्नेहरूलाई चिढ्याउने काम ओलीले गरे। यहाँसम्मकी प्रतिपक्ष दलहरूले जवाफ माग्दा उनी सदनमा जान समेत तयार भएनन्।

तर, राजावादीको आन्दोलनले अराजक रूप लिएपछि भने ओली हच्किन पुगेका छन्। उनी सदनमा १८ गते जवाफ दिन राजी भएका छन्।

संघीयताविरोधी स्वर बलियो हुँदै जानु

पछिल्ला दिनहरूमा संघीयताविरोधी स्वर बलियो हुँदै गएको देखिन्छ। सुशासनलाई मूल मुद्दा बनाएर एमाले र कांग्रेसको तालमेलमा बनेको सरकारले साढे ८ महिनामा जनतामा आशा जगाउने काम केही गर्न सकेको छैन। सरकारले काम नगर्दाको जनआक्रोशलाई राजावादीले आफ्नो शक्तिका रूपमा लिए।

पूर्वपञ्चहरु एक ठाउँमा उभिए। त्यसमा विवादित व्यवसायी दुर्गा प्रसाईँ पनि मिसिए। गणतन्त्रको विरोध गर्दै आएका प्रसाईँलाई पूर्वराजा ज्ञानेन्द्र शाहले आफैं बोके। पूर्वपञ्चदेखि गणतन्त्र विरोधी एक हुँदै जाँदा ओलीले आन्दोलनलाई कमजोर आँके। उनले सार्वजनिकरुपमै भनिदिए – १०-१५ हजार मानिस आउँछन्, सकिन्छ। यो टिप्पणी पनि ओलीसँग रुष्ट हुनुको कारण देखिन्छ।

भाषणमा सीमित

गत असार मसान्तमा बनेको एमाले कांग्रेस गठबन्धनको सरकारका प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले सम्झौता अनुसार काम गरेको आभास जनताले महसुस गर्न पाएनन्। प्रधानमन्त्री कार्यालयकै मूल्यांकनमा धेरै मन्त्री कमजोर देखिए। ओलीले सम्हालेको कार्यालयले नै पास मार्क ल्याउन सकेन।

दुई ठूला दल मिल्दा पनि साढे ८ महिनासम्म ओली आशा जगाउन असफल भए। उनी नयाँ काम देखाउने भन्दा पनि कर्मचारीले नियमित रूपमा गरेका कामलाई ठूलो उपलब्धिका रूपमा प्रचार गर्नतिर लागे। साथै भाषणमा समय बिताउने बानीमा सुधार गरेनन्। भाषणमा पनि सधैंजसो एउटै कुरा भन्दै आएका छन्- यो सरकार ढल्दैन।

अध्यादेशले आलोचित

संसद्बाट कानुन बनाउन सरकारसँग सुविधाजनक बहुमत छ। तर, सरकारले कानुन निर्माणको कामलाई प्राथमिकतामा राखेन। संसदीय समितिमा विचाराधीन विधेयक टुंग्याउन छोडेर ओलीले एक साथ ६ अध्यादेश ल्याए। जसको सत्तारुढ नेपाली कांग्रेसभित्रैबाट विरोध भयो।

उनले सार्वजनिक सेवा प्रवाहमा छलाङ हान्ने भनेर पुस अन्तिममा ल्याएका अध्यादेश संसद्‍बाट अझै पार लागेको छैन। मंगलबारसम्म राष्ट्रिय सभाबाट पारित नभए निष्क्रिय हुने अवस्था छ। ओलीले भूमि अध्यादेश त अगाडि बढाउनै सकेनन्।

पुस अन्तिम साता ल्याएको अध्यादेश अहिलेसम्म किनारा नलाग्नुले ओलीको नियतमाथि प्रश्न उब्जिएको छ।

पार्टीमै चर्किँदै विरोधी स्वर

एमालेमा पछिल्लो पटक ओलीविरोधी स्वर बढ्दो छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी नेतृत्वमा आउनुपर्ने मत बलियो बन्दै गएको देखिन्छ।

भीम रावललाई पार्टीबाट निष्कासन तथा बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गरेपछि कार्यकर्तामा असन्तुष्टि थप बढेको छ। विराटनगरमा सम्पन्न प्रेस चौतारीको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चुन्न अपनाइएको विधिले ओली थप आलोचित बनेका छन्।

भारतसँग बिग्रँदो सम्बन्ध

ओलीले भारतसँग सम्बन्ध सुधार गर्न सकेका छैनन्। उनले प्रधानमन्त्री नियुक्त भएको महिना दिनदेखि भारत भ्रमणको प्रयास गरे पनि अहिलेसम्म सफलता मिलेको छैन। अनेक प्रयास गर्दा भारतले भ्रमणको निम्ता दिन मानेको छैन।